आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्न उद्योगी, व्यवसायीलाई प्रम देउवाको आग्रह



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई बिस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् ।

बिहीबार ललितपुरमा छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई बिस्तार गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न आग्रह गरेका हुन् ।

उनले महिला उद्यमशीलता प्रवद्र्धन क्षेत्रलाई थप प्रभावकारी बनाइ रचनात्मक भुमिका निर्वाह गर्न जरुरी रहेको बताए ।
प्रधानमन्त्री देउवाले यस्ता मेलाहरुले व्यवसायिक सञ्जाललाई बिस्तार गर्नुका साथै व्यवसायी र उपभोक्तासँगको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

स्वदेशमै उपलब्ध कच्चा पदार्थ, श्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमा उत्पादित सामग्री निर्यात गर्ने र विदेशी मुद्राको आर्जन, रोजगारी बिस्तार गर्नमा ध्यान दिनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रका योगदान महत्वपूर्ण रहेको भन्दै निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना बढाएको दाबी गरे ।

उनले अर्थतन्त्रका समस्या र चुनौतीको सामना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई सुचारु राख्न सरकार र निजी क्षेत्रले उचित समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो रहेको बताए ।

देउवाले व्यापार मेलाहरुमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्राथमिकतामा राखि समावेश गरेर वस्तुहरुको प्रचारप्रसार तथा लगानी बिस्तार गर्न आवश्यक रहेको बताए । उनले यस्त मेलाले दिगो विकासको लक्ष्यमा मद्दत पुग्ने बताए । उनले स्वदेशी उतपदनलाई बढोत्तरी गर्न र निर्यात बढाउन सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

भदौ ६ गतेसम्म सञ्चालन हुने व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरुको सहभागिता रहनेछ । नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्य महासंघले राखेको छ ।

मेलामा हस्तकलाका सामानहरुः प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकारहरु, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडिबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु प्रदर्शनीमा राखिएका छन् ।


क्लिकमान्डु