सामाजिक सुरक्षा कोषको मोबाइल एप सार्वजनिक, सापटी लिन सकिने



काठमाडौं । सामाजिक सुरक्षा कोषले एसएसएफ मोबाइल एप सार्वजनिक गरेको छ । कोषले बुधबार मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले उक्त एप सार्वजनिक गरेका हुन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कुँवरले कोषको एप सार्वजनिक गर्दै प्रविधिमा समाज अगाडि बढेकोले त्यसलाई आत्मसात् गर्नुपर्ने बताए । यसअघि कोषले प्रदान गर्ने सुविधा तथा भुक्तानीका लागि कोषमा धाउनु पर्ने बाध्यता हटेको र एपको प्रयोगले घरमा बसेर सबै काम गर्न सकिने उनले बताए ।

सार्वजनिक एपबाट विभिन्न सेवा सुविधा उपलब्ध हुने कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषको कार्यलाई प्रविधिमैत्री र योगदानमैत्री बनाउँदै लगेको बताए ।

कोषले यसअघि नागरिक एपमा आवद्ध भएर विभिन्न सेवा प्रदान गर्दै आएको थियो । तर, अबका दिनमा कोषको एपबाट नै विभिन्न सेवा प्रदान हुने उनले जानकारी दिए । सो एपबाट कोषका सम्पूर्ण कार्यहरू गर्न सकिने व्यवस्था गरिएको छ। साथै, एपको प्रयोगबाट भुक्तानी तथा रकम तिर्न सकिने कोषले जनाएको छ । एप सार्वजनिक भएसँगै आजबाट विशेष सापटीको व्यवस्था गरेको कोषले जनाएको छ । विशेष सापटी, घर कर्जा, शैक्षिक कर्जा र सामाजिक कर्जा एपबाटै लिन सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

तीन वर्ष निरन्तर कोषमा योगदान गर्ने योगदानकर्ताले यो सुविधा पाउने कोषले जनाएको छ । साथै, आज नै कोषले एक जनालाई एपमार्फत् सापटी दिएको छ भने, दुई जनालाई अवकास योजनाको रकम वितरण गरेको छ ।

मन्त्रालयका सचिव एक नारायण अर्यालले कोषको एपबाट विभिन्न सुविधा लिन सकिने बताए । उनकाअनुसार आजबाट कोषले विशेष सापटीको व्यवस्था गरेको छ । कोषबाट विशेष सापटीमा योगदानको ८० प्रतिशत, घरसापटीका लागि ७० लाख, शैक्षिक सापटीमार्फत् ३० लाख र सामाजिक कार्यमार्फत् ५ लाख रूपैयाँ लिन सकिने व्यवस्था गरिएको छ । आगामी दिनमा सहुलियत कर्जाको समेत व्यवसथा गर्ने तयारी गरेको अर्यालले बताए ।


क्लिकमान्डु