सेयर धितोमा जाने कर्जा एक वर्षमा २४.३% ले घट्यो



काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जामा प्रवाह हुने ऋण २४.३ प्रतिशतले घटेको छ ।

असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिमा १ खर्ब ६ अर्ब २८ करोड ३९ लाख रुपैयाँ रहेको थियो । गत असार मसान्तसम्ममा २५ अर्ब ७७ करोड ६२ लाख रुपैयाँले सेयर धितोमा जाने कर्जा घटेको छ । 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा १ करोड रुपैयाँभन्दा माथिको र ५० लाखदेखि १ करोडसम्म जाने कर्जाको आकार घटेको छ । तर, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा भने बढेको छ ।

राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म १ करोडभन्दा माथिको सेयर धितोमा जाने कर्जा ३६.७ प्रतिशतले घटेको छ । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट ४६ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो असार मसान्तसम्म कर्जा प्रवाह  ७३ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

यस्तै ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मका लागि जाने कर्जा १२.१ प्रतिशतले घटेको बैंकले जनाएको छ । असार मसान्तसम्ममा १० अर्ब ५६ करोड ३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो आवको सोही अवधिमा १२ अर्ब १ करोड ६० लाख रुपैयाँ रहेको थियो ।

सेयर बजार घटेको, बैंक तथा वित्तीय संस्थाले धेरै रकम ऋण दिन नसकेको समयमा २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितोमा जाने कर्जा १३.८ प्रतिशतले बढेर १५ अर्ब २० करोड ८ लाख रुपैयाँ रहेको छ । अघिल्लो असार मसान्तमा १३ अर्ब ३५ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

यस्तै २५ लाख रुपैयाँसम्म जाने सेयर धितोकर्जा पनि १०.८ प्रतिशतले बढेर ८ अर्ब १७ करोड १४ लाख रुपैयाँ रहेको छ । अघिल्लो असार मसान्तमा ७ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ थियो ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा एकजना लगानीकर्ताले अधिकतम १२ करोड रुपैयाँ र एउटा बैंकबाट अधिकतम ४ करोड रुपैयाँ सेयर धितोमा कर्जा लिने पाउने व्यवस्था गरेसँगै १ करोड रुपैयाँभन्दा बढी प्रवाह हुने ऋण खुम्चिएको देखिन्छ । 

मौद्रिक नीतिले उक्त व्यवस्था गरेसँगै सेयर लगानीकर्ताले यस्तो व्यवस्था हटाउन आन्दोलन गरेका थिए । लगानीकर्ताले अर्थमन्त्रीलाई गुहारेका थिए भने उनीहरुले गभर्नरको राजीनामासमेत मागेका थिए । लगानीकर्ताले दबाब दिए पनि राष्ट्र बैंकले आफ्नो नीतिमा भने कुनै परिवर्तन गरेन । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएसँगै सेयर धितोमा जाने कर्जा न्यून देखिएको छ ।


क्लिकमान्डु