सहकारीलाई विभागको ११ बुँदे निर्देशनः एक साता भित्र वित्तीय अवस्था जानकारी गराउनू, मनलाग्दी खोलेका सेवाकेन्द्र बन्द गर्नू



काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुलाई सञ्चालन घाटामा रहेका संस्थाहरुले नाफामा सञ्चालन नहुन्जेलसम्म सेयर लाभांश र कर्मचारी बोनस कोष रकम वितरण नगर्न निर्देशन दिएको छ ।

विभागले सञ्चालकहरुको सुविधा कटौती गर्ने, मितव्ययीता अपनाएर निश्चित प्रतिशतले प्रशासनिक खर्च घटाउने, बिना योजना खोलिएका वा घाटामा चलेका शाखा वा सेवाकेन्द्रहरु बन्द गर्ने उपायहरु अबलम्बन गर्न निर्देशन दिएको छ ।

विभागले सहकारीलाई दीर्घकालिन स्रोत सुतिश्चित नगरी कर्जा लगानी नगर्न समेत भनेको छ । कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स साना व्यवसायमा लगानी गर्ने र स्थिर सम्पत्तिहरुमा सकेसम्म कर्जा लगानी नगर्न भनेको छ ।

विभागले प्रत्येक सहकारी संघ संस्थाका सञ्चालक समिति र व्यवस्थापकले एक हप्ताभित्र र त्यसपछि मासिन रुपमा सेयर पुँजी, जगेडा कोष, कूल सम्पत्ति, कूल बचत, लगानीमा रहेको कर्जा, कूल सेयर संख्या, कूल ऋणी सदस्य, तरलता रकम र प्रतिफल, कूल संस्थागत पुँजी र विभिन्न कोषहरुको जम्मा रकम सार्वजनिक सूचना मार्फत जानकारी गराउन भनेको छ ।


क्लिकमान्डु