राष्ट्र बैंकको हस्तक्षेपले ट्रेजरी बिल्सको ब्याजदर ३ महिनापछि १० प्रतिशत तल आयो



काठमाडौं । नेपाल राष्ट्र बैंकको हस्तक्षेपले ट्रेजरी बिल्सको ब्याजदर १० प्रतिशतबाट तल झरेको छ । राष्ट्र बैंकले सोमबार १३ अर्बको नवीकरण अन्तर्गत ट्रेजरी बिल्स बोलकबोल प्रक्रियाबाट बिक्री गर्न खोजेको थियो ।

राष्ट्र बैंकले २८ को ५ अर्ब,९१ दिनको २ अर्ब तथा १८२ दिनको ६ अर्बको ट्रेजरी बिल्स नवीकरण अन्तर्गत बिक्री गर्न खोजेको थियो । बैंकहरुले बढी ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंकले २८ दिनको १ अर्बमात्र बैंकलाई बिक्री गरेर ४ अर्ब आफैं खरिद गरेको छ ।

यस्तै ९१ दिनको ७ करोड ५० लाखको बैंक तथा वित्तीय संस्थालाई बिक्री गरेर १ अर्ब ९२ करोड ५० लाखको खरिद गरको छ । १८२ दिन २६ करोडको बैंक तथा वित्तीय संस्थालाई बिक्री गरेर ५ अर्ब७४ करोड रुपैयाँको ट्रेजरी बिल्स आफैं खरिद गरेको छ ।

बैंकहरुले २८ दिनको ट्रेजरी बिल्समा ८.९९ प्रतिशत ब्याजदर पाएका छन् । १८२ दिनको ९.५० तथा १८२ दिनको ९.८० देखि ९.९९ प्रतिशतसम्म ब्याजदर पाएका छन् ।

टेजरी बिल्सको ब्याजदर जेठदेखि १० प्रतिशतभन्दा माथि लागेको थियो । साउन ८ गते नवीकरणको लागि बिक्री भएको ट्रेजरी बिल्समा १४ प्रतिशतसम्म ब्याजदर बैंक तथा वित्तीय संस्थाले पाएका थिए ।

त्यसपछि भने राष्ट्र बैंकले ट्रेजरी बिल्स आफैं खरिद गर्न थालेको हो । सरकारले अल्पकालिन समयको लागि उठाउने ऋणलाई ट्रेजरी बिल्स भनिन्छ । यो एकवर्षभन्दा कम समयको लागि लिने ऋण हो ।


क्लिकमान्डु