ह्वाइट हर्स रिक्रुटमेन्ट म्यानपावरमा छापा मार्दा ८७ थान पासपोर्ट जफत




काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा वैदेशिक रोजगार विभागले काठमाडौंमा म्यानपावरमा छापा मार्दा ८७ थाप पासपोर्ट जफत गरेको छ ।

सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा विभागको टोलीले छापा मार्दा अर्कै म्यानपावरमार्फत् वैदेशिक रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएपछि विभागको अनुसन्धान अधिकृत हेमराज अर्यालसहितको टोलीले ८७ थाप पासपोर्ट जफत गरेको हो ।

उक्त म्यानपावरमा किङ फिस नामक म्यानपावरमार्फत् मलेसिया रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएको अधिकृत अर्यालले बताए । त्यसरी कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने प्रावधान रहेको अधिकृत अर्यालले जानकारी दिए ।

ह्वाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशन बिना नै मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको टोली छापा मार्न पुगेको थियो । म्यानपावरले तोकिएकोभन्दा बढी शुल्कसमेत लिएको हुन सक्ने आशंका विभागले गरेको थियो । तर, छापा मार्दा त्यस्तो कुनै प्रमाण नभेटिएको अर्यालले बताए ।

विभागले छापा मार्दा किङ फिस म्यानपावरबाट वैदेशिक रोजगारीका लागि भोलिको उडानमा २३ जना युवाहरु मलेसिया जाने तर्खरमा थिए ।

मलेसिया जान लागेका युवाहरुलाई विभागको टोलीले मलेसिया जान म्यानपावरलाई कति शुल्क दिएको भनेर सोधेपछि उनीहरुले कुनै पनि शुल्क नबुझाएको जिकिर गरेका थिए । त्यस्तै म्यानपावरका कर्मचारीहरूले पनि उक्त म्यानपावरले फ्रि भिसा फ्रि टिकटमै मलेसिया पठाइरहेको दाबी गरेका छन् ।

यस बारेमा विभागले थप अध्ययन गर्ने र तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा कानुन बमोजिम कारबाही गरिने अधिकृत अर्यालले बताए ।

त्यसैगरी, विभागले बिहीबार मात्रै कतार पठाउन २५ लाखसम्म लिने गरेको गुनासो आएपछि अल ताक्वेत ओभरसिज नेपाल प्रालिमा छापा हानेर कागजातहरु नियन्त्रण लिएको छ ।

उक्त म्यानपावरमाथि अनुसन्धान जारी रहेको विभागले जनाएको छ । दुबै म्यानपावरलाई विभागले थप अनुसन्धान गरेर वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडी बढाइने बताइएको छ ।


क्लिकमान्डु