पुँजी बढाउने बाध्यतामा मात्रै एभरेष्टको प्राथमिकतामा बोनस सेयर, रिजर्भ बलियो बनाउने बिकेको नीति



काठमाडौं । २०७४ सालको वैशाखमा भएको एभरेष्ट बैंकको विशेष साधारणसभामा बैंकका अध्यक्ष बिके श्रेष्ठले बैंकको रिजर्भ बढाउन जोड दिने घोषणा गरेका थिए ।

एभरेष्ट बैंकले त्यो बेला लक्ष्मी बैंकसँग मर्ज गर्ने उदेश्यले विशेष साधारणसभा बोलाएको थियो । लक्ष्मी बैंकसँग एभरेष्ट बैंकको मर्जर सफल नभए पनि एभरेष्ट बैंकले पछिल्लो समय रिजर्भ बलियो बनाउने नीति लिएको देखिन्छ ।

साधारणसभामा एभरेष्टका अध्यक्ष श्रेष्ठले भनेका थिए, ‘बैंकले रिजर्भ बढाउन जोड दिनेछ । र, अब नगद लाभांशलाई प्राथमिकता दिन्छ ।’

एभरेष्टका अध्यक्ष श्रेष्ठले त्यो बेला नगद लाभांशलाई प्राथमिकता दिने घोषणा गर्नुको कारण थियो पुँजी बृद्धि अनुसार बैंकको प्रतिफल बढ्न सकेको थिएन । २०७२ सालको मौद्रिक नीतिमा राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पुँजी २ अर्बबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्याउने नीति लिएको थियो । वाणिज्य बैंकको चुक्ता पुँजी बढाउने नीति लिनुभन्दा अगाडिका एभरेष्टले २ वर्ष लगातार ५० प्रतिशत नगद लाभांश दिएको थियो ।

साधारण सेयरधनीको माग सम्बोधन गर्न १० र १२ प्रतिशत बोनस सेयरसमेत दिएको थियो । राष्ट्र बैंकको चुक्ता पुँजी बढाउने नीतिले एभरेष्ट बैंकले बोनस सेयरसँगै हकप्रद सेयर समेत निष्कासन गर्नु परेको थियो ।

एभरेष्ट बैंकले २०७४ सालमा ३:१ अनुपातमा १ अर्ब ५० करोड रुपैयाँको हकप्रद सेयर निष्काशन गरेको थियो । त्यो भनेको ३ कित्ता सेयर हुनेले १ कित्ता सेयर हकप्रदमा थप लगानी गर्नुपर्ने थियो । ३:१ अनुपातले हकप्रद सेयर निष्कासन गर्नुअघि २ वर्ष एभरेष्ट बैंकले ७० प्रतिशत र ३० प्रतिशत बोनस सेयर दिएको थियो । ३:१ अनुपातमा हकप्रद सेयर निष्कासनपछि दिएको ३३ प्रतिशत बोनस सेयर दिएपछि एभरेष्टको चुक्ता पुँजी ८ अर्ब ३७ करोड रुपैयाँ पुग्यो ।

२०७४ सालमा निष्कासन गरेको हकप्रद सेयर आर्थिक वर्ष २०७३/७४ को बोनस सेयरले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ कटेपछि एभरेष्टले बोनस सेयरलाई कम प्राथमिकता दिएको छ । एभरेष्टले स्थापनाकालदेखि नै राष्ट्र बैंकले चुक्ता पुँजी बढाउनुपर्ने बाध्यकारी नीति लिएको समय बाहेक अन्य समयमा बोनस सेयरलाई खासै प्राथमिकता दिने गर्दैन ।

२०७४/७५ सालको नाफाबाट एभरेष्ट बैंकले २० प्रतिशत नगद लाभांश मात्र दियो । २०७५/७६ सालको नाफाबाट २० प्रतिशत नगद लाभांश तथा ५ प्रतिशत बोनस सेयर एभरेष्ट बैंकले दिएको छ ।

२०७६ सालमा कोभिडपछि राष्ट्र बैंकले बैंकहरुले दिने लाभांशको अनुपातलाई परिवर्तन गरेको थियो । राष्ट्र बैंकले कुल लाभांशमा ३० प्रतिशतभन्दा बढी नगद लाभांश दिन नपाउने नीति लियो ।

राष्ट्र बैंकको नीतिपछि नगद लाभांश धेरै दिन नपाउने भएपछि एभरेष्ट बैंकले पछिल्लो २ वर्षमा क्षमता अनुसार लाभांश नदिएर रिजर्भलाई बलियो बनाउने काम गरेको देखिएको छ । २०७६/७७ मा एभरेष्ट बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर तथा ५.५३ प्रतिशत नगद लाभांश दियो ।

२०७७/७८ को नाफाबाट एभरेष्ट बैंकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर तथा ४.३२ प्रतिशत नगद लाभांश दिएको थियो । जबकी, २०७६/७७ को नाफाबाट सेयरधनीलाई एभरेष्टले १९ प्रतिशत र २०७७/७८ को नाफाबाट २६ प्रतिशत लाभांश क्षमता दियो । नगद लाभांशको तुलनामा बोनस सेयर बढी दिनुपर्ने राष्ट्र बैंकको नीतिपछि एभरेष्ट बैंकले पछिल्लो २ वर्ष क्षमताभन्दा निकै कम लाभांश दियो ।

गत वर्षको बैंकहरुको नाफाबाट सबैभन्दा बढी लाभांश क्षमता एभरेष्ट बैंकको छ । एभरेष्ट बैंकले सेयरधनीलाई ४१ प्रतिशत लाभांश दिनसक्ने क्षमता राख्छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका मार्फत् नगद लाभांशभन्दा बोनस सेयर दिनुपर्ने नीति हटाएको छ । तर, एभरेष्ट बैंकलाई नगद लाभांश दिनको लागि यो पटक पुँजीकोष अनुपात बाधक भएको छ ।

राष्ट्र बैंकले बोनस सेयर वितरण गर्न १२ प्रतिशत कम्तीमा पुँजीकोष हुनुपर्ने व्यवस्था गरेको छ । एभरेष्टको असार मसान्तसम्म पुँजीकोष अनुपात ११.९५ प्रतिशत छ । एभरेष्टलाई यो पटक नगद लाभांश वितरण गर्न पुँजीकोष बाधक हुने देखिन्छ । यद्यपि, लाभांश घोषणा गर्ने समयसम्म भने पुँजीकोष अनुपातमा सुधार भने आउनसक्छ ।

गत वर्षको वित्तीय विवरणअनुसार एभरेष्ट बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड रुपैयाँ छ । रिजर्भमा ९ अर्ब ९ करोड रुपैयाँ छ । सेयर प्रिमियम २३ करोड ८४ लाख रुपैयाँ छ भने रिटेण्ड अर्निङ अन्तर्गत ३ अर्ब ८९ करोड रुपैयाँ छ । बैंकले असार मसान्तसम्म १ खर्ब ७२ करोड निक्षेप संकलन गरेर १ खर्ब ४५ रुपैयाँ अर्ब कर्जा दिएको छ ।


क्लिकमान्डु