लक्ष्मी स्टीलको १० महिनाको व्यापार साढे ६ अर्ब



काठमाडौं । लक्ष्मी स्टील कम्पनीले १० महिनाको अवधिमै करिब साढे ६ अर्बको व्यापार गरेको छ । स्टील क्षेत्रमा सबैभन्दा ठूलो उद्योगको रुपमा स्थापित लक्ष्मी स्टीलले सन् २०२२ को १० महिनाको अवधिमै ६ अर्ब ४३ करोड २८ लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ६ अर्ब ९ करोड ५६ लाख रुपैयाँ, सन् २०२० मा ३ अर्ब ८० करोड ७३ लाख र सन् २०१९ मा ६ अर्ब ७६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २००८ देखि लक्ष्मी स्टील ब्रान्डमा टीएमटी बार (डण्डी), वायर र बाइन्डिङ वायर उत्पादन गर्दै आएको छ । साथै, कम्पनीले भारतबाट प्राइमेरी स्टिलको रुपमा आइरन बिलेट आयात गर्दै आएको छ ।

कम्पनीले अधिकांश आम्दानी डण्डीबाट हुने गरेको जनाएको छ । कम्पनीअनुसार सन् २०२१ मा व्यापार गरेकोमध्ये डण्डीकोे ९६ प्रतिशत हिस्सा छ ।

सौरभ ग्रुपद्वारा सञ्चालित यस कम्पनीमा न्यौपाने परिवार र अग्रवाल परिवारको स्वामित्व छ । सन् २०२२ को जुलाईसम्ममा न्यौपाने परिवारको ५२ प्रतिशत स्वामित्व छ भने अग्रवाल परिवारको स्वामित्व ४५ प्रतिशत छ । त्यस्तै, कम्पनीको अध्यक्ष टीकाराम न्यौपाने हुन् ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब ६७ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई दीर्घकालीन कर्जाका लागि ३९ करोड ९० लाख रुपैयाँ अर्थात् एलबीबी माइनस र अल्पकालीन कर्जाका लागि ५ अर्ब ७५ करोड ३० लाख रुपैयाँ अर्थात् एफोर रेटिङ दिएको छ ।

कम्पनीले वार्षिक २ लाख मेट्रिक टन क्षमतामा टिमएमटी बार र रिब्बड् वायर उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु