ढुवानी व्यवसायमा आक्रामक बन्दै उपाय सिटी कार्गो, १ अर्ब लगानी गरेर विस्तार गर्दैछ ‘लजिस्टिक साम्राज्य’



काठमाडौं । पाँच वर्षअघि स्मार्ट टेलिकमले फोरजी मोबाइल सेवा शुरु गर्दा सुमन रायमाझी सोही कम्पनीमा थिए । पहिलो पटक फोरजी डेटा उपलब्ध गराउँदै स्मार्ट टेलिकमले ग्राहकका लागि विशेष अनलिमिटेड नाइट प्याक ल्यायो ।

सस्तो र छिटो चल्ने फोरजी डेटा युवा पुस्ताले अत्यधिक प्रयोग गरे । डेटाको खपत रातभर भइरहेको देख्दा अचम्म लाग्यो सुमनलाई ।

नेपाल डिजिटल युगमा जाँदैछ भन्ने संकेत पाइसकेका थिए ।

चार्टर्ड अकाउन्टेन्ट सुमनलाई लाग्यो, ‘अब अवसर सिर्जना हुँदैछन्, मिस गर्नुहुँदैन ।’

तर, कसरी अगाडि बढ्ने र के गर्ने ? स्पष्ट प्लान बनिसकेको थिएन ।

हरेक उद्योग व्यवसाय, सेवाको काम सरकारसँग ठोकिन्छ । सरकारी सेवा नलिइ कुनै पनि काम गर्न सकिँदैन । कम्पनी रजिष्ट्रार कार्यालयजस्ता क्षेत्रमा काम गर्न साह्रो झन्झटिलो, अपारदर्शिता थियो ।

सेवाग्राही पनि यसमा परिचित थिएनन् ।

उनीहरु आफैं पनि अकाउन्ट क्षेत्रबाट आएको हुनाले सरकारी सेवा लिनेहरुलाई रहयोग गर्नेगरी काम शुरु गरे ।

त्यसपछि गए यातायात कार्यालय । बिल बुक वा लाइसेन्स बनाउने, नवीकरण सजिलो थिएन । सबै कुरा भद्रगोल देखे ।

‘नियामक निकाय नै यति भद्रगोल छ भने बजारको सेवा कस्तो होला ?,’ सुमनले निर्णय गरे, ‘यस क्षेत्रमा धेरै काम गर्न सकिन्छ ।’

बजारमा ढुवानीका सेवाहरु थिए । तर, व्यवस्थित थिएनन् । कुनै पनि प्लेटफर्मबाट सेवा लिन सक्ने अवस्था थिएन । कुनै सामान एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनु पर्यो भने गाडी खोज्दै बाटोबाटो हिँड्नुपर्थ्यो ।

काठमाडौंमा राइड सेयरिङ सेवाहरु टुटल, पठाओले एपमार्फत् राम्रो गरिरहेका थिए । फुडमाण्डू, भोजडिलहरुले फुडडेलिभरीमा खत्रै गरिरहेका थिए । फिनटेकमा इसेवा, खल्ती, फोनपेहरु भुक्तानी प्रणालीमा नयाँ लहर ल्याइरहेका थिए ।

एकातिर यी विभिन्न प्लेटफर्महरुले नेपाललाई डिजिटल यात्रामा अगाडि लगिरहेका थिए । यी काममा कुनै न कुनै सामान एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनु पर्छ । त्यहाँ ठूलो ग्याप थियो ।

बजारमा व्यवस्थित लजिष्टिक कम्पनी थिएनन् ।

सुमनले १८ साथीहरुको एक समूह बनाए । उनी र अर्का चार्टर्ड अकाउन्टेन्ट रन्जिभ श्रेष्ठ नेतृत्व गरे । अन्य चार जना प्राविधिक क्षेत्रबाट आए । अरु कोही फाइनान्स, रिसर्च एण्ड डिभलपमेन्ट, मार्केटिङ क्षेत्रका १८ साथी जम्मा भए । उनीहरुले जम्मा गरे ३ करोड रुपैयाँ ।

त्यसपछि ३ वर्षअघि शुरु भयो उपाय सिटी कार्गो । जसले व्यक्तिगतदेखि कर्पोरेट, इकमर्श कम्पनीहरुका कुनै पनि सामान मुलुकका विभिन्न शहरमा ओसारपसार गर्ने सेवा उपलब्ध गराउँदै आएको छ ।

‘उपाय सिटी कार्गोले ग्राहकको आवश्यकताअनुसार सानो चिठ्ठीदेखि ट्रकमा २१ टनसम्मको सामान ओसारपसार गर्ने सेवा उपलब्ध छ,’ प्रबन्ध निर्देशक सुमनले भने ।

आज उपाय सिटी कार्गो मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको लजिष्टिक कम्पनी बनेको छ । जहाँ ४ हजार चालक र राइडरहरु दर्ता भएका छन् । जसले ३० हजारदेखि ८० हजारसम्म कमाउँछन् ।

सानाठूला गरेर २० हजार ग्राहक छन् । दैनिक ८ सयदेखि एक हजार ट्रिप र ३ हजारको डेलिभरी भइरहेको छ । १४० जना कर्मचारी छन् ।
यो सेवा काठमाडौं, पोखरा, बुटबल-भैरहवा, बिराटनगर, वीरगञ्ज, चितवन जस्ता सात शहरमा उपलब्ध छ । बिराटनगर र चितवनमा फ्रेन्चाइजको रुपमा शाखा खोलेका छन् । १५/१६ वटा फ्रेन्चाइज बनाउने योजना उनीहरुको छ ।

कसरी सम्भव भयो यति ठूलो सञ्जाल ?

नौलो किसिमको यो सेवा सञ्चालन गर्न सजिलो थिएन । जुन नयाँ प्रविधिमा आधारित थियो ।

वेवसाइट र मोबाइल एप बनाए । जहाँ कुनै पनि चालक वा राइडलर जोडिएर ग्राहकमाझ पुग्न सक्थे ।

काठमाडौंका चोकचोक र पुलपुल छेउछाउमा सामान पुर्याउन गाडी र चालक भेन्टिन्छन् । उनीहरुसँग गएर भने, ‘हामीले यस्तो सेवा ल्याएका छौं । हाम्रोमा जोडिन आउनुस् । ग्राहक पाइन्छ ।’

पत्याउनन् । बरु व्यवसाय खोस्न आएको भन्ने सोचे ।

त्यसरी एकदुई गर्दै चालक जोडिँदै गए ।

पहिलो सेवा शुरु गरे, अनडिमान्ड । यसबाट कुनै पनि एक सामान तत्कालै पुर्याउन सेवा दिन थाले । यस सेवाबाट साढे एक टनसम्मको समान ढुवानी हुन्थ्यो । त्यसपछि कार्गो भ्यान भनेर ५ सयदेखि ७०० किलो बोक्ने भ्यान जोडे । तेस्रोमा जोडे मोटरसाइकल जसले २० किलोभन्दा तलको सामान दैनिक ढुवानी गर्न शुरु गर्यो ।

अनडिमाण्डसँगसँगै अर्को भर्टिकल आयो मेरो उपाय । यसबाट कसैलाई भाडामा गाडी चाहियो भने उपलब्ध गराउँछन् । पूर्व, मध्य र पश्चिमको केन्द्रहरुबाट यो सेवा उपलब्ध छ ।

उपायलाई चालक र ग्राहकमाझ बिस्तारै जोड्दै थिए । बीउ पुँजीको लागि छुट्याएको लगानी सकिनै लाग्दा नयाँ लगानी जुटाउने प्रयासमा थिए । एन्जल फन्डको लागि कुरा भइरहेको थियो ।

त्यहीबेला कोरोना संक्रमण शुरु भयो ।

आपतमा अवसर आयो । लकडाउन भएपछि अत्यावश्यक सामान डेलिभरीको झन् खाँचो भयो । बजारमा अत्यावश्यक सामान ढुवानी गर्ने सेवाको अभाव थियो ।

‘हाम्रा गाडीले सामानहरु बोकिरहेका थिए,’ सुमन भन्छन्, ‘त्यसपछि त हाम्रो माग ह्वात्तै बढ्यो ।’ दराज, फुडमाण्डूदेखि कर्पोरेट हाउसहरुबाट माग बढ्यो । खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामान ढुवानीका लागि उनीहरुलाई धेरै फोन आउन थाले ।’

गाडीहरुको लामै लिष्ट थियो उनीहरुसँग । कोभिडले एक किसिमको लहर ल्यायो ।

यही लहरसँगै ४ करोड रुपैयाँ एन्जल फन्ड पनि आयो । केही प्रतिष्ठित व्यक्तिले यसमा लगानी गरे ।

यही लगानीबाट ड्राइभर पार्टनरहरुलाई डिजिटल साक्षरता बढाउने तालिम दिए । जसमा युके एडले पनि सहयोग गरेको थियो ।

त्योसँगै १८ करोड रुपैयाँ डोल्मा फण्डबाट अर्को लगानी पनि आयो । ‘आजसम्म हामीले २५ करोड लगानी गरिसकेका छौं,’ रायमाझी भन्छन् ।

तीन सपना

सपना अझ ठूलो छ । सपना कस्तो भने चाबीदेखि दर्जनौं टनका सामान देशको कुनै पनि कुनाबाट अर्को कुनामा पुग्न सक्ने सञ्जाल बनोस् । एउटा प्लेटफर्म हुनेछ, जसमा लाखौं चालक र ग्राहक जोडिने छन् । साथै, मुलुकमा यातायात क्षेत्रमा लागेका हरेक व्यवसायी यही प्लेटफर्ममा सँगसँगै हातेमालो गर्नेछन् ।

यसको तयारी शुरु गरिसकेका छन् । स्टार्टअपबाट माथि उठेर पूर्वाधार लजिष्टिक कम्पनीको रुपमा स्थापित हुने योजना बनाइरहेका छन् ।

‘महिनादिन भित्रमा लोगो परिवर्तन गरेर नयाँ ब्रान्डिङ गर्दै छौं,’ रायमाझी भन्छन्, ‘हामी सिरियस्ली आउँदै छौं ।’

यो योजना पूरा गर्ने उनका तीन सपना छन् ।

पहिलो, नेपालको कुनै पनि सहरमा ढुवानीको लागि कुनै पनि गाडी उपलब्ध गराउने । ७ सहरमा पुगिसकेका छन् । यी सहरमा कुनै पनि गाडी अनडिमाण्ड वा भाडामा लिन सकिन्छ ।

दोस्रो, मोबाइल एपमार्फत् कुनै पनि सामान मुलुकभर पठाउन सकिने बनाउने । जसको प्रत्यक्ष निगरानी एपबाट लाइभ हुनेछ । कति समय लाग्छ, कति पैसा लाग्छ कहाँ पुग्यो, कतिखेर डेलिभरी भयो ? सबै मोबाइल एपबाटै हेर्न सकियोस् ।

यसका लागि यातायात व्यवसायीहरुसँग सहकार्य गर्दै छन् । यातायात व्यवसायीहरुलाई आफ्नो प्लेटफर्मबाट सँगसँगै लैजान चाहन्छन् उनी ।

‘यही क्रममा शुभलाभ ट्रान्सपोर्टसँग सहकार्य शुरु भएको छ,’ सुमन भन्छन्, ‘अन्य त्यस्ता यातायात समितिहरु पनि जोड्दै लैजाने योजना छ ।’ जुन समितिहरु त्यही एक प्लेटफर्ममा उपलब्ध भएर बिजनेस पार्टनर बन्नेछन् ।

जसलाई उनीहरुले उपाय एलाइन्स पार्टनर भनेका छन् ।

केही दिनअघि जाउलाखेलमा पहिलो फुलफिलमेन्ट सेन्टर खोले । यो भनेको वायर हाउस हो । जहाँ सामानहरु गोदाममा राखिने छ । र, एक ठाउँबाट अर्को ठाउँसम्म सामान पुर्याइने छ ।

यसरी वायर हाउस बनाएर अर्को तीनदेखि ६ महिनामा नेपालको धेरै जसो ठाउँमा कुनै पनि सामान पुर्याउने वातावरण बनाउँदै छन् । त्योबेलासम्म १५ शहरमा उनीहरुको शाखा उपस्थिति हुने ।

तेस्रो, पूर्णस्वचालित वेयर हाउस निर्माण गर्ने । मुलुकमा पूर्णस्वचालित वायर हाउस अर्थात् गोदाम हाउस सञ्चालनमा छैनन् । कर्पोरेट कम्पनीहरुले आफ्नो लागिमात्र बनाएका छन् ।

सुमन चाहन्छन्, एउटा यस्ता फुलफिलमेन्ट सेन्टर होस्, जसलाई आमसर्वसाधरणले आफ्नो सामाना राख्न र कुनै पनि ठाउँमा पुर्याउन सकून । यो वायर हाउस पूर्णरुपमा स्वचालित हुनेछ ।

यसमा विभिन्न नयाँ प्रविधि, मेसिन जडान हुनेछन् । जुन ठाउँमा समान पठाउनु पर्ने हो, अटोमेटिकरुपमा सामानहरु आफ्नो आफ्नो ठाउँमा स्टकमा रहनेछन् । र, त्यहाँबाट डेलिभरी हुनेछन् ।

यो सबै सपना पूरा गर्न आफूले मात्र नसक्ने भएकाले यातायात व्यवसायी, ट्रक व्यवसायी र अन्य राइडरहरुलाई आफ्नो योजनामा अटाउनेगरी काम गरिरहेका छन् ।

यी तीन सपना पूरा गर्न उपाय सिटी कार्गोले उठाउँदै छन् १ अर्ब रुपैयाँ लगानी । जग्गा, वायर हाउस निर्माण र पूर्णअटोमेसनमा खर्च हुनेछ यो लगानी ।

यो लगानी स्थानीय र विदेशी लगानीकर्ताबाट उठाउने छन् । पहिले पनि लगानी गरिसकेको डोल्मा फण्डले पनि दोस्रो लगानी गर्न सक्ने रायमाझीले बताए ।

विभिन्न चरणमा लगानी उठाउने र एकदेखि डेढ वर्षमा १ अर्ब उठाइसक्ने योजना छ सुमनको टिमको ।

अबका तीनदेखि पाँच वर्षमा नेपालको कुनै पनि ठाउँमा गाडी उपलब्ध गराउने, कुनै पनि ठाउँमा कुनै पनि वस्तु ढुवानी गर्न सक्ने सिस्टम र पूर्वाधार बनाउने यही योजनामा अगाडि बढेका छन् उनी ।

तीनदेखि पाँच वर्षमा लगानीकर्तालाई प्रतिफल दिने योजना उनीहरुको छ ।

तीन सपना पूरा हुँदाको दिन उपया सिटी कार्गो कस्तो होला ?

‘म अहिले नै तपाईंहरुलाई क्लियर भन्दिनसक्छु,’ सुमनको पाँच वर्षपछिको उपाय सिटी कार्गो कस्तो हुने भन्ने बारेमा बताए, ‘हामीसँग विस्तृत र स्पष्ट योजना छन् ।’

उनीहरुको खाकाअनुसार अबको ५ वर्षमा उपाय सिटी कार्गोमा १५ देखि २० हजार चालक र राइडर जोडिने छन् । १ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको हुनेछ । १ हजार कर्मचारी हुनेछन् । दैनिक ३ हजार ट्रिप र १ लाख सामान डेलिभरी गर्ने छन् । १ लाख २० हजार स्वायरफिटको स्टोरेज सिस्टम हुनेछ । स्टोरेज र डेलिभरी दुबै सेवा उपलब्ध हुनेछ ।

यदि सेवाबाट वार्षिक तीनदेखि चार अर्ब पैयाँ बराबरको कारोबार हुनेछ । र, यसमा लगानी गर्नेहरुले कम्तिमा पनि दोहोरो अंकको प्रतिफल पाउनेछन् ।

सेवाग्राही र ड्राइभर दुबैलाई लाभ

उपाय सिटी कार्गोमा आवद्ध हुने ड्राइभरहरुले राम्रो आम्दानी गर्दै आएको सुमन बताउँछन् । यहाँ सूचिकृत ड्राइभरहरुले खाली बस्नु पर्दैन । शुल्क निश्चित हुने, सस्तो हुने र मोवाइल एपबाटै लोकेशन ट्र्याक गरेर सेवाग्राहीले सेवा लिन सक्ने भएकाले उपाय सिटी कार्गोमा सेवाग्राहीको अत्याधिक आकर्षण छ ।

उदाहारणका लागि तपाईंले बानेश्वरदेखि एयरपोर्टसम्म टाटाको भ्यानमा सामान लानु पर्यो भने तपाईं चोकमा ड्राइभर खोज्न जानुपर्छ । र, रेटको बार्गेनिङ गर्नुपर्छ । यसो गर्दा तपाईं सेवाग्राहीको समय पनि बर्बाद हुन्छ । र, तपाईं कर्पोरेट हुनुहुन्छ भने बिल पनि पाउँनुहुन्न । तर, उपाय सिटी कार्गोको एपमा आएर सेवा लिने हो भने आफूले प्रत्यक्ष डिल गरेको भन्दा १०/२० प्रतिशत सस्तोमै तपाईंको घरमै गाडी आइपुग्छ । यसर्थ समय र पैसा दुबैको बचत हुने सुमन बताउँछन् । र, अर्कोतर्फ ड्राइभर वा गाडी साहूहरु पनि काम नपाएर दिनभरी खाली बस्नुपर्ने बाध्यता छ ।

तर, उपायमा जोडिएको खण्डमा काम नपाउने भन्ने समस्या हुँदैन । तपाईं दिनमा २/३ टिप काम गर्नुहुन्थ्यो भने उपायमा जोडिएपछि ६/७ टिपका लागि काम पाइन्छ । र, तय भएको भाडाको ८० देखि ८५ प्रतिशत रकम तपाईंले नै पाउनुहुन्छ । यसका अलावा तपाईंले आफ्नो व्यक्तिगत काम गर्न पनि भ्याउनुहुन्छ ।

जसरी टुटल पठाओलेमा आवद्ध हुने सवारीसाधनले बोक्ने सेवा दिन्छन्, त्यसरी नै उपाय सिटी कार्गोमा आवद्ध हुने सवारीसाधनले सामान बोक्ने सेवा दिने हो ।

आर्मी, सीए हुँदै उपायसम्म

काठमाडौंमा सुमन रायमाझी बुढानीलकण्ठमा स्कुल पढे । पढाइमा तिक्खर सुमनको सानैदेखिको रहर आर्मी बन्ने थियो ।

सन् १९९२ तिर आर्मीमा भर्ना हुन सफल पनि भए । तालिम चल्दै थियो हात फ्याक्चर भयो । एक वर्षमै आर्मीको जागिर छोडिदिए ।

जागिर छाडेपछि अध्ययनलाई निरन्तरता दिए । बीकम गरे र सीए पढ्न भारतको पुने गए ।

‘मेरो पढाई निकै राम्रो थियो,’ रायमाझी भन्छन्, ‘सीएका सबै परीक्षा एकै पटक उत्तिण गरेँ ।’

केही समय भारतमा सीएको प्राक्टिस गरेपछि नेपाल आएर दुई वर्ष अडिट फर्ममा काम गरे ।

कामका अवसरहरु एकपछि अर्को गर्दै आउन थाले । सोल्टी ग्रुपमा एक वर्ष काम गरेका रायमाझी विश्व बैंकको सहयोग भएको राष्ट्रिय वाणिज्य बैंक रिफर्म प्रोजेक्टमा काम गर्ने अवसर पाए । २७ वर्षे रायमाझी पूर्वाञ्चलको क्षेत्रीय प्रबन्धक भएर काम गरे ।

दुई वर्ष उक्त प्रोजेक्टमा काम गरेका रायमाझी अर्को दुई वर्ष उपल्लो भोटेकोशी हाइड्रो पावरमा काम गरे । अवसरहरु आइरहे।

त्यसपछि उनी र सुजिब शाक्य मिलेर कम्पनी चलाए । त्यहीबेला बिजनेस अक्सिजनको पहिलो सीईओ भए । जतिबेला उनले आइएफसीबाट १४ मिलियन डलरको फण्ड ल्याए । उनी आफैं पनि आइएफसीले धेरै लगानी गरेर विभिन्न देशमा भएका परियोजनाहरु अवलोकन गर्न लग्यो ।

आइएफसीसँगको सम्झौता सकिएपछि सुमन स्मार्ट टेलिकममा आए । उनले स्मार्टभित्रका विभिन्न समस्याहरु समाधान गर्ने र कम्पनीलाई अगाडि बढाउने जिम्मा पाएका थिए । जहाँ उनले ७ वर्ष काम गरे ।

पाँच वर्षअघि स्मार्ट टेलिकमले फोरजी सार्वजनिक गर्दा उपभोक्ताले डेटाको प्रयोग भरपुर गरे ।

अनलिमिटेड नाइट प्याकेज रातभरी चल्थ्यो ।

त्यहीबेला उनले थाहा पाए अब नेपाल डिजिटल युगमा जाँदै छ भन्ने । र, उपाय सिटी कार्गो नामको कम्पनी दर्ता गरेर शुरु गरे प्रविधिको प्रयोग गरेर सामान ढुवानीको सेवा दिने व्यवसाय । जसले अहिले साम्राज्य विस्तार गरिरहेको छ, त्यो पनि डिजिटल नेपाल निर्माणको राष्ट्रिय अभियानलाई बलियो साथ दिएर ।


सन्तोष न्यौपाने