१० अर्बको ट्रेजरी बिल्स किन्न सोमबार बैंकहरुले लिए ४० अर्बको एसएलएफ, ब्याजदर घट्यो



काठमाडौं । सरकारको ऋणपत्र किन्न सोमबार वाणिज्य बैंकहरुले राष्ट्र बैंकबाट ४० अर्बको स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।

सोमबार राष्ट्र बैंकले १० अर्बको आन्तरिक ऋण नवीकरणका लागि बोलपत्रबाट बिक्री गरेको थियो । यसको लागि बैंकहरुले आफूसँग भएको ऋणपत्र धितो राखेर ४० अर्ब सुविधा लिएका हुन् ।

आइतबार बैंकहरुले २१ अर्ब ८१ करोड एसएलएफ लिएका थिए । बैंकहरुले राष्ट्र बैंकले सरकारी ऋणपत्र बिक्री गर्नेदिन बढी एसएलएफ लिने गरेका छन् । अघिल्लो साता साउन ९ गते १३ अर्ब ६० अर्बको ट्रेजरी बिल्स किन्न ५० अर्ब ५० करोड रुपैयाँको एसएलएफ लिएका थिए ।

अघिल्लो साताभन्दा सरकारी ऋणपत्रमा बैंकहरुले पाउने ब्याजदर भने यो पटक घटेको छ । अघिल्लो साता वाणिज्य बैंकहरुले १३.९९ प्रतिशतसम्म सरकारी ऋणपत्रमा ब्याजदर पाएका थिए । यो पटक ९१ दिनको ट्रेजरी बिल्समा बैंकहरुले ११.८० प्रतिशतसम्म ब्याजदर पाएका छन् । १८२ दिनको ट्रेजरी बिल्समा १०.९९ प्रतिशत ब्याजदर पाएका छन् ।

राष्ट्र बैंकले बैंकहरुलाई सरकारी ऋणपत्रको धितोमा अहिले ५ दिनसम्मको लागि साढे ८ प्रतिशत ब्याजदरमा एसएलएफ दिने गर्छ । बैंकहरुले आफूसँग भएको ऋणपत्र धितो राखेर एसएलएफ साढे ८ प्रतिशतमा राष्ट्र बैंकसँग लिएर सरकारी ऋणपत्र किन्ने गरेका छन् । औसतमा ३ देखि ४ प्रतिशतसम्मको फाइदा बैंकहरुलाई एसएलएफ लिएर ऋणपत्र किन्दा हुने गरेको छ ।

राष्ट्र बैंकले बजारमा तरलता प्रवाह गर्नको लागि बैंकहरुलाई रिपो, एसएलएफजस्ता उपकरण प्रयोग गर्छ । चालु आर्थिक वर्षमा अहिलेसम्म एकदिने रिपो अन्तर्गत बैंकहरुले ८ अर्ब ५३ करोड रुपैयाँ राष्ट्र बैंकबाट लिएका छन् ।

यस्तै ७ दिने रिपो अन्तर्गत ३० अर्ब लिएका छन् । जसको ब्याजदर बढीमा ८.५५ प्रतिशतसम्म छ । एसएलएफ अन्तर्गत चालु आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म ४ खर्ब २६ अर्बको लिएका छन् ।

अहिले सरकारले अल्पकालिन ऋणपत्र अन्तर्गत ट्रेजरी बिल्सको नवीकरण गरिरहेको छ । चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । सरकारले एकवर्षभन्दा कम समयको लागि ट्रेजरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र, बैदेशिक रोजगार बचतपत्र जारी गरेर ऋण उठाउने गर्छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिदेखि स्वदेशी मुद्राको बैंक तथा वित्तीय संस्थालाई अघिल्लो हप्ताको अन्त्यमा कायम रहेको सम्बन्धित संस्थाको स्वदेशी मुद्रामा रहेको कुल निक्षेपको १ प्रतिशतभन्दा बढी बक्यौता नहुने गरी केन्द्रीय बैंकले तोकेको ऋणपत्रको धितोमा अधिकतम ५ दिनसम्म अवधिको स्थायी तरलता सुविधा बैंक दरमा उपलव्ध गराउने उल्लेख गरेको छ ।

७ दिनसम्म ७ प्रतिशत ब्याजदरमा पाइने एसएलएफलाई ५ दिनसम्म पाइने तथा ब्याजदरसमेत ७ प्रतिशतबाट साढे ८ प्रतिशत पुर्याएको हो । गत आर्थिक वर्षमा बैंकहरुले ९१ खर्ब ७० अर्बको एसएलएफ लिएका थिए । जसको प्रयोग तरलता व्यवस्थापनसँगै सरकारले निकालेको ऋणपत्र किन्न प्रयोग भएको थियो ।


क्लिकमान्डु