यति एयरलायन्सले ९ महिनामा गर्यो सवा २ अर्ब आम्दानी



काठमाडौं । आन्तरिक उडानमा नेपालकै दोस्रो ठूलो एयरलायन्स कम्पनी यति एयरलायन्स प्रालिले सन् २०२२ को ९ महिनाको अवधिमा सवा २ अर्ब आम्दानी गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा २ अर्ब ७४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीअनुसार सन् २०२२ को ९ महिनाको अवधिमा आम्दानी गरेकोमध्ये तीन वटा रुट विराटनगर, भैरहवा र पोखरामा भर परेको छ । जसमा उक्त तीनवटा रुटबाट मात्रै ६२ प्रतिशत आम्दानी गरेको हो ।

सन् २०२१ मा उक्त रुटको हिस्सा ४९ प्रतिशत थियो । कम्पनीले सन् २०२१ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, सन् २०२० मा २ अर्ब ६६ करोड, सन् २०१९ मा ३ अर्ब ४३ करोड र सन् २०१८ मा ३ अर्ब १३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको उल्लेख छ ।

थामसेर्कु ग्रुपद्वारा सञ्चालित सो कम्पनीले विगत २५ वर्षदेखि पर्यटन क्षेत्रमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उड्डयन, एड्भेन्चर ट्राभल, ट्रेकिङ, होटल/लज र ट्राभल एजैन्सीको काम गर्दै आएका छन् । कम्पनीकाअनुसार नेपालकै दोस्रो एयरलाइसन्स कम्पनी भएकाले बजारको हिस्सा २५ प्रतिशत रहेको उल्लेख छ ।

कोरोना महामारीका कारण दुई वर्षदेखि थलिएको एयरलायन्स कम्पनीले सन् २०२२ बाट भने गति लिएको जनाएको छ । त्यसैले, सन् २०२२ को ९ महिनाको अवधिमा मासिक ३० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको भनाइ छ । सन् २०१९ मा कम्पनीले मासिक २८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा २३ प्रतिशतले नाफा कमाएको छ । सन् २०१९ मा १९ प्रतिशतले कम नाफा कमाएको थियो । कम्पनीले ५ वटा एटीआर ७२-५०० को विमान सञ्चालन गर्दै आएको छ ।

लक्पा सोनाम शेर्पा र आङ छिरिङ शेर्पाको शेयर रहेको कम्पनीमा लाक्पा शेर्पा अध्यक्ष छन् भने चन्दा शेर्पा प्रबन्ध निर्देशक छन् ।

इक्रा नेपालले कम्पनीलाई अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि २ अर्ब ४७ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा अल्पकालीन कर्जाका लागि १ अर्ब २१ करोड ९१ लाख रुपैयाँ अर्थात् एफोर र दीर्घकालीन कर्जाका लागि ८० करोड २१ लाख रुपैयाँ अर्थात् एलबी प्लसको रेटिङ दिएको छ ।


क्लिकमान्डु