नयाँ सहरी आयोजना थप्दै जाँदा अपेक्षित प्रतिफल हासिल हुँदैनः महालेखापरीक्षक कार्यालय



city kathmandu clickmandu

काठमाडौं । चालु आयोजनाहरूको कार्य समाप्त नहुँदै नयाँ सहरी आयोजना थप्दै जाने प्रवृत्तिले अपेक्षित प्रतिफल हासिल नहुने महालेखापरीक्षक कार्यालयले निष्कर्ष निकालेको छ ।

महालेखापरीक्षकको ५९औं प्रतिवेदनअनुसार सरकारले चालु आयोजना कार्य समाप्त नहुँदै नयाँ सहरी आयोजना थप्दै जाने प्रवृत्तिले लक्ष्यबमोजिम २०८६/८७ सम्ममा आयोजना पूरा नभई अपेक्षित प्रतिफल हासिल नहुने निष्कर्ष निकालेको हो ।

सहरी विकास तथा भवन निर्माण विभागले मध्य पहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) र यसको आसपासमा पर्ने प्रमुख १० स्थानमा नयाँ सहर स्थापना गर्ने उद्देश्यले २०६६/६७ देखि कार्यक्रम शुरु गरेकोमा २ थान थप भई १२ पुगेको छ ।

हुलाकी राजमार्ग र आसपासका १५ स्थान र अन्य विभिन्न १३ शहरलाई स्मार्ट शहरको रुपमा विकास गर्ने, लुक्लासहित उच्च हिमाली भागमा रहेका १० बस्तीहरूलाई ट्रान्स हिमालयन सिटीमा रुपमा विकास गर्ने कार्यक्रम गरी ४० सहर र बस्तीसमेत थप भई ५० कायम भएको छ ।

आयोजनाअन्तर्गत २०७७/७८ मा ११५.०७ किलोमिटर सडकको ट्रयाक खोल्ने, २२.८९ किलोमिटर सडक कालोपत्रे गर्ने, २९.०२ किलोमिटर रिजिड पेभमेन्ट (ढलान) र ५७.३६ किलोमिटर ढल÷नाला निर्माणलगायतका कार्य सम्पन्न भएका छन् ।

आयोजनाले हालसम्म ५ हिमाली वस्तीको सम्भाव्यता अध्ययन गरी मोर्फोलोजिकल रिटेनमेन्ट एण्ड इन्हेन्समेन्ट प्लानको अन्तिम प्रतिवेदन र १३ स्मार्ट सिटीको गुरुयोजनासहितको अन्तिम प्रतिवेदन स्वीकृत गरेको महालेखापरीक्षक कार्यालयले उल्लेख गरेको छ ।


क्लिकमान्डु