जुस निर्यातमा नयाँ रेकर्ड, भारतमा गर्मी बढ्दा नेपालको व्यापार बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा हालसम्मकै उच्च जुस निर्यात भएको छ । साउनदेखि जेठ महिनाको अवधिमा हालसम्मकै उच्च जुस निर्यात भएको हो ।

नेपालले चालु आवको ११ महिनामा कुल १९ खर्ब ४९ अर्बको वैदेशिक व्यापार गरेको छ । जसमा १७ खर्ब ६३ अर्ब रुपैयाँको आयात र १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको निर्यात गरेको छ ।

नेपालले करिब २ खर्बको वस्तु निर्यात गर्दा नेपालबाट ५ अर्ब ४० करोड १७ लाख ६८ हजार रुपैयाँको ७ करोड ३५ लाख ७ हजार ३०३ लिटर जुस निर्यात गरेको छ । जुन हालसम्मकै उच्च हो ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यो वर्ष जुसको निर्यात ४१.१ प्रतिशतले बढेको छ । नेपालले गत वर्षको सोही अवधिमा ३ अर्ब ८२ करोड ६४ लाख रुपैयाँको मात्रै निर्यात गरेको थियो ।

नेपालले आर्थिक वर्ष २०७७÷७८ मा ४ अर्ब २२ करोड ९९ लाख रुपैयाँको ५ करोड ८० लाख २४ हजार लिटर जुस निर्यात गरेको थियो ।

त्यस्तै, आव २०७६÷७७ मा ३ अर्ब ४३ करोड २२ लाख रुपैयाँको ४ करोड ७८ लाख ६१ हजार लिटर, आव २०७५÷७६ मा ४ अर्ब ५७ करोड ३५ लाख रुपैयाँको ६ करोड ३४ लाख ८९ हजार लिटर र आव २०७४÷७५ मा ४ अर्ब ७६ करोड ९ लाख रुपैयाँको ६ करोड ६६ लाख १७ हजार ६६५ लिटर निर्यात गरेको थियो ।

नेपालबाट निर्यात हुँदै आएको अधिकांश जुस डाबर नेपालको रहेको छ । डाबरले ‘रियल’ ब्रान्डमा ४० वटाभन्दा बढी प्रकारका जुस उत्पादन गर्दै आएको छ ।

डाबर नेपालका लागि बिजनेश हेड रहेका हरकित सिंह वेदी भारतमा यस वर्ष अत्यधिक गर्मी भएकाले जुसको माग बढेको हो ।

साथै, नेपालले सो अवधिमा ३ करोड ९६ लाख रुपैयाँको जुस आयात गरेको छ ।


क्लिकमान्डु