रुपन्देहीका सहकारीद्वारा १५ अर्बभन्दा बढी कृषिमा लगानी



भैहरवा । रुपन्देही जिल्लामा सञ्चालित सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् ।

सहकारीको लगानीबाट हजारौं युवा स्वरोजगार बनेको जिल्ला सहकारी सङ्घ रुपन्देहीको भनाइ छ ।

सहकारीले जिल्लामा सबैभन्दा धैरै लगानी कृषि क्षेत्रमा गरेको छ । यसबाहेक कृषिजन्य उद्योग, कुखुरा फार्म, गाईभैँसी फार्म, माछाफार्म, तरकारी खेती, किराना पसलमा सहकारीले लगानी गरेको सहकारीको वार्षिक लेखा परीक्षणले देखाएको आन्तरिक राजस्व कार्यालय रुपन्देहीको भनाइ छ ।

साथै उनीहरुले साना तथा मझौला उद्योगमा समेत लगानी गरेका छन् ।

विशेषगरी युवावर्गलाई लक्षित गरी गरिएका लगानीले उत्पादनमूलक क्षेत्रमा राम्रो प्रभाव पारेको अर्थतन्त्रका जानकारहरुको भनाइ छ ।

रुपन्देही जिल्लामा करिब १५ अर्ब रुपैयाँभन्दा धेरै लगानी सहकारीले गरेको देखिन्छ । लगानीको धेरै रकम युवावर्ग र कृषि तथा कृषिजन्य वस्तु उत्पादन क्षेत्रमा भएको सहकारीको आँकडाले देखाउँछ ।

सहरभन्दा ग्रामीण क्षेत्रका मानिसको जीवनस्तर माथि उकास्नका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको रोहिणी गाउँपालिका वडा नं ५ का कुखुरा फार्म सञ्चालक जयप्रकाश यादवले जानकारी दिए ।

जनउत्थान बचत तथा ऋृण सहकारी संस्थाका अध्यक्ष ज्ञानु पौडेलले सहकारीले घरघरमा पुगेर सचेतनामुलक कार्यक्रम, अन्तरक्रिया गर्दै युवा स्वरोजगार, कृषिमा गुणस्तरीयता र साना उद्योगहरु लगायतमा सहज रुपमा लगानी गरेको बताए ।

उसनले बस्ती बस्तीमा सहकारीको पहुँच पुगिसकेको जनाउँदै सहकारीमा बचत तथा ऋणको सदुपयोग गर्न सबैलाई आग्रह समेत गरे ।

सहकारी अन्दोलनले धेरै रोजगारी तथा उत्पादन क्षेत्रमा केही हदसम्म सहयोग पुर्याएको आफन्त बचत तथा ऋण सहकारी संस्था धकधई सेवा केन्द्रका व्यवस्थापक प्रदीप भट्टराईले जानकारी दिए ।

नेपालमा सजिलो तरिकाले ऋृण प्रवाह र बचत गरिदिने संस्थासमेत सहकारी रहेकाले मानिसहरूको बढ्दो विश्वास रहेको उनको भनाइ छ ।

सहकारीहरूले बचत तथा ऋण मात्र नभएर व्यवसायीमूलक क्षेत्रमा समेत काम गरिरहेको त्रिदेवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण सिग्देलले बताए ।

‘दुग्ध सहकारी, कृषि सहकारी, सञ्चार सहकारी र उत्पादनमूलक क्षेत्रमा लगानी गरिरहेका सहकारीले अर्थतन्त्रलाई माथि उकास्न टेवा दिइरहेको छन्,’ उनले भने ।

लुम्बिनी प्रदेश सहकारी सङ्घका अध्यक्ष कृष्णप्रसाद नेपालले सहकारी अहिले स्थानीय पालिका मतहतमा रहेकाले हुँदा स्थानीय सरकारको सहकार्यमा काम गरिरहेको उनको भनाइ छ ।–रासस


क्लिकमान्डु