बीमा कम्पनीहरूमा एपीआई मोडल लागू हुँदै, लाइभ डाटा हेर्न सकिने



काठमाडौं । बीमा कम्पनीहरूमा एपीआई मोडल लागू हुने भएको छ ।

समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरूमा एपीआई मोडल लागू गर्ने भएको हो ।

समितिले साउनदेखि नै लागु हुने गरी बीमा कम्पनीहरूमा एपीआई मोडल लागु गर्ने तयारी थालेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

बीमा कम्पनीहरूको व्यवसायको विवरण दैनिक रूपमा संकलन गर्ने व्यवस्थाको लागि समितिले एपीआई मोडल तयार पारिसकेको उनको भनाइ छ ।

बीमा कम्पनीहरूको सफ्टवेयर बीमा समितिको एपीआई मोडेलमा जोडिएपछि लाइभ डाटा हेर्न मिल्ने उनले बताए ।

बीमा कम्पनीहरूले बीमा समितिको एपीआई मोडलमा आफ्नो सफ्टवेयर इन्ट्रिगेट गरेपछि समितिले बीमा कम्पनीहरूको गतिविधिलाई लाइभ मोनिटरिङ गर्न सकिने पौडेलको भनाइ छ ।

‘समितिले साउनदेखि नै लागु हुने गरी बीमा कम्पनीहरुमा एपीआई मोडल लागु गर्दैछ । समितिले बनाएको एपीआई मोडलमा बीमा कम्पनीको आईटी सफ्टवयर इन्ट्रिग्रेट गरेपछि लाइभ डाटा हेर्न सकिनेछ,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘बीमा कम्पनीहरूले जारी गरेका बीमालेख संख्या, बीमाशुल्क संकलन, दाबी भुक्तानी, बीमालेख धितोमा दिएको कर्जा, अभिकर्ता कमिशन, लगानी, पोलिसी सरेण्डरलगायतका डाटा समेत लाइभ हेर्न सकिने छ।’

बीमा कम्पनीहरूको लाइभ डाटा प्राप्त भएपछि समितिबाटै मनिटरिङ्ग गर्न पनि सहज हुने समितिको भनाइ छ ।

उनकाअनुसार समितिले असार २१ गते नै बीमा कम्पनीहरुलाई एक साता भित्र समितिको एपीआई मोडल इन्ट्रिग्रेट गर्न निर्देशन दिएको थियो ।

त्यस बारेमा आवश्यक छलफलको लागि समितिले असार २४ गते बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत र आइटी विभागमा प्रमुखहरूको उपस्थितिमा एपीआई मोडल इन्ट्रिग्रेट सम्बन्धी छलफल समेत गरेको थियो ।


क्लिकमान्डु