लकडाउनमा ६०% उद्योग पूर्णरुपमा सञ्चालन भएनन्, १७% कामदारले बिनातलब जागिर छाडे



काठमाडौं । कोरोना महामारीका सिर्जित लकडाउनकाे अवधिमा ६० प्रतिशत उद्योग तथा प्रतिष्ठान सञ्चालन नभएको पाइएको छ ।

केन्द्रीय तंथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ मा सर्वेक्षणमा १३ हजार १४५ उद्योग तथा प्रतिष्ठान समेटिएको छ ।

विभागका अनुसार कोभिड–१९ को महामारीको समयमा सरकारले गरेको करिब चार महिनाको लकडाउन अवधिमा करिब ६३ प्रतिशत उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा बन्द भएको सर्वेक्षणले देखाएको छ ।

यसैगरी २४ प्रतिशत उद्योग प्रतिष्ठानहरु आंशिकरुपमा संचालनमा रहेको र बाँकी १३ प्रतिशत उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा संचालनमा रहेको सर्वेक्षणले देखाएको छ ।

लकडाउनको समयमा करिब १७ प्रतिशत कामदारहरुले बिनासुविधा स्थायीरुपमा आफूले गरिरहेको काम छोडेको सर्वेक्षणले देखाएको छ । ६० प्रतिशत कामदारहरुले बिना तलब, सुविधा अस्थायीरुपमा कामबाट अलग हुनुपरेको देखिएको छ ।

त्यसैगरी ११ प्रतिशत कामदारहरुको तलब, सुविधा आंशिकरुपमा कटौती भएको र बाँकी १२ प्रतिशत कामदारले तलब, सुविधा निर्धारित समय भन्दा ढिला पाएको सर्वेक्षणले देखाएको छ ।


क्लिकमान्डु