प्रधानमन्त्रीसँग उद्योगीको गुनासोः तरलता अभावले लगानी बिस्तार गर्न सकिएन, मौद्रिक नीतिमार्फत् सम्बोधन होस्



काठमाडौं । नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा छलफल भएको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो ।

परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था सुधारगर्न चालिनुपर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गरायो । यस्तै, लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय संचिती, लगानी प्रबद्र्धन गर्न तत्काल एवं दीर्घकालिन रुपमा लिइनुपर्ने नीतिका विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको बताइएको छ ।

यसैगरी विश्वव्यापी रुपमा देखिएको इन्धन संकट र त्यसले देशको अर्थतन्त्रमा पारेको असरका विषयमा छलफल भएको छ ।
परिसंघका अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्थाको विषयमा जानकारी गराउँदै बैंक तथा वित्तीय क्षेत्रमा भएको तरलता अभाव सुधार गर्न चालिनुपर्ने कदमका विषयमा जानकारी गराए । तरलता अभावका कारण नयाँ उद्योग, लगानी बिस्तार हुन नसकिरहेको अवस्था एवं तरलता समस्या समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गरिनुपर्ने विषयमा परिसंघले सुझाव दिएको छ ।

परिसंघले मुलुकको समग्र आर्थिक विकासका लागि सरकारले लिएका आर्थिक सम्बन्धी नीति, कार्यक्रममा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

परिसंघको युवा उद्यमी मञ्चले हालै सम्पन्न गरेको सीएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्टको विषयमा जानकारी गराउँँदै युवाहरुमा उद्यमी बन्ने चासो निकै बढेको बताए ।

उक्त फेस्टमा ५ हजार युवाहरुको सहभागिता रहेको थियो भने ७ वटा उत्कृष्ट स्टार्टअप्सका लागि २४ करोड ५० रुपैयाँ लगानी प्रतिबद्धता भएको जानकारी गराए । युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न परिसंघले आग्रह गरेको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले परिसंघले उठाएका विषयलाई गम्भिर रुपमा लिदै सकारात्मक सम्बोधन गर्ने आश्वासन दिए ।


क्लिकमान्डु