आन्तरिक उडानमा पहिलोपटक यती एअरलाइन्सले ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा’ शुरु गर्दै



काठमाडौं । आन्तरिक उडानमा यात्रुहरुलाई नेपालमै पहिलो पटक यती एअरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा शुरु गर्ने भएको छ ।

यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यो मनोरञ्जन सेवा शुरु गर्न लागिएको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

‘अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउनेछन्,’ उनले भने, ‘इन्फ्लाइट मनोरञ्जनका लागि वायुयानभित्र रहेको डिभाइसमा कनेक्ट गरी हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गित–संगित, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिनेछ ।’

उनले यो सेवाले यात्रुहरुको यात्रा अझ रमाइलो हुने विश्वास व्यक्त गरे ।

यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्री मात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्ने लगायत अन्य सुविधाहरु पनि हुनेछ ।

उनका अनुसार आजदेखि एउटा विमानमा परीक्षण शुरु गरिएको र परीक्षण सफल भएपछि छिट्टै सबै विमानमा यो सुविधा राखिनेछ ।


क्लिकमान्डु