साउनदेखि उधारोमा पेट्रोलियम पदार्थको कारोबार नगर्न एसोसिएसनको निर्देशन



काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले आगामी आर्थिक वर्षदेखि उधारो कारोबार बन्द गर्ने भएको छ ।

एसोसिएसनले आज सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० देखि उधारो कारोबार बन्द गर्ने जनाएको हो ।

एसोसिएसनले पेट्रोलियम विक्रेताहरूले विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरूसँग उधारोमासमेत कारोबार गर्ने गरेको र सो सम्बन्धित पेट्रोल पम्पलाई चुक्ता नगरी पुनः अर्को पेट्रोल पम्पबाट सोही खरिदकर्ताहरूले पुनः उधारो लिने गरेको पाइएकाले ध्यानाकर्षण गरेको जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि भई कारोबारलाई नियमित गर्ने ठूलो नगद प्रवाहको आवश्यकता परेको छ । बिक्रेताहरूको लगानीको अनुपातमा प्रतिफलसमेत अत्यन्त न्यून रहेको हुँदा सो निर्णय गरेको एसोसिएसनको भनाइ छ ।

‘यस एसोसिएसनको असार १२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पेट्रोलियम पदार्थको खरिद अग्रिम नगद भुक्तानी गरेर मात्र हुने हुँदा बिक्री वितरण पनि नगदमा मात्र गर्नु÷गराउनु हुन निर्णय गरेको छ,’ जारी सूचनामा उल्लेख छ ।

त्यस्तै, यसअघि एउटा पेट्रोल पम्पसँग लिइएको उधारो भुक्तानी नगरी अर्को पेट्रोल पम्पबाट पुनः उधारोमा कारोबार गर्ने वा लामो समयदेखि उधारो रकम भुक्तानीसमेत नगर्ने खरिदकर्ता व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरूको विवरण एक महिनाभित्र यस एसोसिएसनमा उपलब्ध गराउन अनुरोध गरेको छ ।

साथै, खरिदकर्ताहरूलाई पुरानो पेट्रोल पम्पको बाँकी बक्यौता चुक्ता नगरेसम्म कालो सूचीमा राखी नाम सार्वजनिक गर्ने र राज्यभरिका कुनै पनि पेट्रोल पम्पहरूबाट नगदमा समेत पेट्रोलियम पदार्थ उपलब्ध नगर्न/नगराउन हुन अनुरोध गरेको छ ।


क्लिकमान्डु