कृषि उत्पादन बढाउन ब्राजिलको प्रविधि नेपाल भित्र्याइने



काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोगबीच छलफल भएको छ ।

कृषि, ब्राजिलले इन्धनको रुपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति एवं पर्यटन क्षेत्रका विषयमा परिसंघ र राजदूतबीच छलफल भएको छ ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कृषि, सेवा, उत्पादनमुलक उद्योगको प्रबद्र्धनसहित समग्र देशको आर्थिक सम्बृद्धिका लागि काम गर्दै आएको बताए ।

परिसंघले स्वदेशी उत्पादन बढाउन जोड दिदै आएको र कृषि क्षेत्रमा ब्राजिलले प्रयोग गरिरहेको प्रविधि नेपालमा भित्र्याउन सहयोग गर्न राजदूतलाई आग्रह गरे । त्यसका लागि परिसंघ र राजदूतावासले सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको छ ।

राजदूत हार्टोगले लामो समयदेखि ब्राजिलको व्यापार नीतिमा काम गर्दै आएको अनुभवका आधारमा व्यापारमार्फत विश्व बजारमा स्थापित हुन सकिने बताए । ब्राजिल कफी, चिनी, भटमास, सोयाविन तेल उत्पादनमा विश्वको अग्रणी मुलुक हो । प्रविधिको प्रयोगका कारण कृषि क्षेत्रमा ब्राजिलले गरेको प्रगती, र त्यस्तो प्रविधि नेपालमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

राजदूत हार्टोगले नेपालले निर्यातमा जोड दिदै प्रविधिको प्रयोग बढाउनुपर्ने बताए । ‘ब्राजिल कृषि विज्ञानमा निकै अगाडि रहेछ’ उनले भने ‘हाम्रो ज्ञान, र प्रविधि नेपालको कृषि क्षेत्रको विकास लागि हामी प्राविधिक सहकार्य गर्न तयार छौं ।’ उनले ब्राजिलले विकाससिल मुलुकका लागि दिदै आएको छात्रबृत्तिबाट नेपालले पनि लाभ लिन सक्ने बताए ।

नेपालबाट निर्यात हुने हस्तकला सामाग्रीको प्रबद्र्धन, दुई देशबीच पर्यटन प्रबद्र्धनमा पनि सहकार्य गर्ने लगायतका विषयमा छलफल भयो । यसका लागि नेपाली निजी क्षेत्र र ब्राजिलको निजी क्षेत्रसँग समन्वय गराउन समेत आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।


क्लिकमान्डु