अर्थमन्त्रीको दाबीः करका दर परिवर्तन गर्दा राष्ट्रघात भएको छैन



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करका दर परिवर्तन गर्दा कुनै राष्ट्रघात नगरेको दाबी गरेका छन् ।

बिहीबार नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा गरिरहेको विरोधका बीच बजेट निर्माणका विषयमा उठेका प्रश्नमाथि जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट निर्माण गर्दा कुनै राष्ट्रघात नगरेको जिकिर गरे ।

बैठक शुरु भए लगत्तै नेकपा एमालेका सांसद भानुभक्त ढकालले अर्थमन्त्री बजेटमाथि जवाफ दिनुभन्दा पनि संसदीय छानबिन समिति बनाउनु पर्ने माग गरेका थिए ।

यस्तै स्वतन्त्र सांसद हृदेश त्रिपाठीले समेत करका दर परिवर्तन गर्दा सूचना चुहावट भएको विषयमा संसदीय छानबिन हुनुपर्ने माग गरेका थिए ।

तर, सभामुख अग्नीप्रसाद सापकोटाले विपक्षीले उठाएका प्रश्नहरु बेवास्ता गर्दै अर्थमन्त्री शर्मालाई समय दिएका दिएका थिए । अर्थमन्त्री शर्माले बजेट निर्माण गर्दा आन्तरिक उत्पादन कसरी बढाउने र निजी क्षेत्रलाई कसरी सहयोग गर्ने भन्ने विषयमा ख्याल गरिएको दाबी गरे ।

‘करका दर बढाएको विषयमा मैले पूरै जिम्मेवारी लिन्छु,’ अर्थमन्त्री शर्माले भने, ‘बजेट निर्माण हुँदा अर्थमन्त्रालयमा कुन व्यक्ति आए वा आएनन् मलाई थाहा छैन् । म बजेट बनाएको दिन राति १२ बजे मन्त्री निवास पुल्चोकमा पुगिसकेको थिए ।’


क्लिकमान्डु