सुस्तायो घरजग्गा कारोबार, जेठमा ५४ हजार मात्रै किनबेच, राजस्व पनि घट्यो



a’9flgns07df ulo/Psf] hUuf Knl6ª .

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबार सुस्ताएको छ । मासिक ७० हजारको हाराहारीमा कारोबार हुँदै आएको घरजग्गा कारोबार वैशाख र जेठमा निरन्तर ओरालो लागेको छ ।

कोरोना र तरलताको चरम अभावमा समेत घरजग्गा कारोबार घटेको थिएन । तर, अहिले वैशाख र जेठमा उच्च कारोबार घटेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख महिनामा हालसम्मकै कम घरजग्गा कारोबार भएको थियो । त्यस्तै, अहिले जेठ महिनामा केही मात्राले घरजग्गा कारोबार बढेपनि अन्य महिनाको तुलनामा निकै कम रहेको छ ।

गत चैतमा करिब ७१ हजारको हाराहारी किनबेच भएको घरजग्गा वैशाखमा भने ४४ हजारमा सिमित भएको थियो । वैशाख महिनामा देशभरका मालपोत कार्यालयबाट करिब ९९ हजार सेवा प्रवाह हुँदा ४४ हजार ८०३ घरजग्गा किनबेच भएको तथ्याङ्कले उल्लेख गर्दछ ।

त्यस्तै, जेठमा महिनामा देशभरका मालपोत कार्यालयबाट ५४ हजार ५१४ घरजग्गा किनबेच भएको छ । सो अवधिमा १ लाख २३ हजार ६५२ वटा सेवा प्रवाह भएको थियो ।

जेठ महिनामा देशभरका मालपोत कार्यालयबाट ५४ हजार ५१४ लिखत पारित हुँदा ३ हजार ५८४ नामसारी, ३ हजार ७१४ संशोधन, २७ हजार ४८४ रोक्का, १९ हजार ७७० फुकुवा र १४ सय ८३ दाखिला खारेज गरेको छ ।

जेठ महिनामा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । हरेक महिना उच्च रुपमा कारोबार हुँदै आएको इनरुवा मालपोत कार्यालयबाट जेठ महिनामा मात्रै २ हजार ६४५ घरजग्गा किनबेच भएको तथ्याङ्कले उल्लेख गरेको छ ।

त्यस्तै, भद्रपुर झापाबाट २१ सय ५५, बेलबारी मोरङबाट २२ सय ७४, नेपालगञ्ज बाँकेबाट १७ सय ७६, ललितपुर लगनखेलबाट १४ सय ४५ र भक्तपुरबाट १३ सय १५ घरजग्गाको किनबेच भएको छ ।

काठमाडौंमा घरजग्गा किनबेच घट्यो
जेठ महिनामा ५४ हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदा उपत्यकामा घरजग्ग्गा कारोबार घटेको छ । गत वैशाखमा ४४ हजार घरजग्गा किनबेच हुँदा उपत्यकामा ६ हजारको हाराहारीमा घरजग्गा किनबेच भएको थियो । तर, जेठ महिनामा वैशाखको तुलनामा १० हजार बढी घरजग्गाको कारोबार हुँदा समेत ५ हजार मात्रै किनबेच भएको छ ।

जेठ महिनामा उपत्यकामा ५ हजार ७ सय ६३ घरजग्गा किनबेच भएको छ ।

जेठ महिनामा उपत्यकामा सबैभन्दा बढी ललितपुर मालपोत कार्यालयबाट किनबेच भएको छ । उक्त मालपोत कार्यालयबाट १४ सय ४५ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

त्यसैगरी, भक्तपुरबाट १३ सय १५, कलंकीबाट १० सय २४, साँखुबाट ८२९, चावहिलबाट ६१३, डिल्लिबजारबाट २७३, टोखाबाट २३९ र गोटीखेलबाट २५ वटा घरजग्गाको किनबेच भएको छ ।

जेठमा सबैभन्दा कम राजस्व संकलन
विभागको तथ्याङ्कअनुसार जेठ महिनामा हालसम्मकै कम राजस्व संकलन भएको छ । गत वैशाखमा ४४ हजार घरजग्गा किनबेच हुँदा पौने ५ अर्ब रुपैयाँ संकलन भएकोमा जेठ महिनामा सवाँ ४ अर्बमा सिमित भएको छ । जेठ महिनामा करिब ५० करोड रुपैयाँ कम राजस्व संकलन गरेको विभागले जनाएको छ ।

सो महिना सेवा करवापत १७ करोड ८२ लाख ३६ हजार, बागमतीवापत १२ करोड ४७ लाख ५९ हजार, रजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ५९ करोड ६७ लाख ८९ हजार, पूँजीगत लाभ करवापत ९३ करोड २५ लाख १३ हजार अन्य विभिन्न विधा सो राजस्व संकलन भएको हो । साथै, देशभरको मालपोत कार्यालयबाट दिने छुटबापत विभागले ३७ करोड ६१ लाख ८९ हजार रुपैयाँ छुट दिएको छ ।


क्लिकमान्डु