बजेटमा गरेको त्रुटी नसच्चाए सिंहदरबार घेर्ने उद्योगीको चेतावनी



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा स्वदेशी उद्योगहरुलाई निरुत्साहित गर्ने नीति लिएको भन्दै उक्त विभेद नसच्याए तत्काल आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजना भएको पत्रकार सम्मेलनमा उद्योगीहरुले यस्तो चेतावनी दिएका हुन् । स्यानिटरी प्याड उत्पादन संघका अध्यक्ष डोरनाथ अधिकारी र उद्योगी किरण साखःले आफूहरुको माग पूरा नभए कडा भन्दा कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

सरकारले स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार महसुल घटाउँदा कच्चा पदार्थ आयातमा भने उच्च भन्सार महसुल तोकेको भन्दै स्वदेशी उत्पादकहरुले आफूहरु मारमा परेको र उद्योग नै बन्द हुने अवस्था सिर्जना भएको गुनासो गर्दै आएका छन् ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा स्यानिटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरिएको छ ।

नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज अधिकारीले ६ हजारले रोजगार पाएको स्यानिटरी प्याड उद्योग सरकारले बजेटमार्फत लिएको गलत नीतिका कारण धराशयी बनेको आरोप लगाए । नेपालको उद्योगलाई धराशयी बनाउँदै सरकारले विदेशी प्याडलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै उनले आपत्ति जनाए ।

नेपाली उद्योगलाई पुर्ण रुपमा धराशयी बनाउने नीति सरकारले लिएको भन्दै देश सेनेटरी प्याड उत्पादनमा आत्मनिर्भर हुँदाहुंदै विदेशी सामाग्री भित्र्याएर नेपाली उद्योग चल्ने नसक्ने अवस्थामा पुर्याएको उनले आरोप लगाए । आफुहरुले उठाएको जायज माग सरकारले सम्बोधन गर्नुपर्ने अधिकारीको भनाइ छ ।

‘आफैं सेनेटरी प्याडको २५ प्रतिशत शेयर होल्डर भएको नेपाल सरकारले नेपाली उद्योगलाई धराशयी बनाउने र सिध्याउने नीति लिएको छ, उनले भने ।

उपभोक्तालाई सस्तो पर्ने देखाएर सरकारले विदेशी सामानमा १ प्रतिशतमात्र अन्त शुल्क लिएको भन्दै उनले तत्काल निर्णय सच्चाउनुपर्ने सुझाव दिए । सेनेटरी प्याड उत्पादनमा पुर्ण रुपमा नेपाल आत्मनिर्भर भएको उनको दाबी छ ।

आर्थिक वर्ष ०७७/७८ सालमा नेपाल आफैले ३ अर्बको सेनेटरी प्याड उत्पादन गरेको सुनाए । यदि माग सुनुवाई नभए केही दिनभित्रै ६ हजार मजदुर र सबै उद्योगीहरुले संसद् भवन र सिंहदरबार घेर्ने चेतावनी दिए ।

अध्यक्ष अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, शीर्ष नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यो विषयमा कुरा भएको र उनीहरुले धैर्य गर्न आश्वासन दिएकोले आफुहरु रोकिएको बताए । उनले अब माग सम्बोधन नभए ठुलो आन्दोलन गर्ने चेतावनी दिए ।

साखः स्टिलका सञ्चालक किरण साखःले पुरानो समस्या अझैपनि सरकारले सम्बोधन नगरेको भन्दै उनले दुःखेसो पोखे । अहिलेको बजेटको विषयमा साखःले २४-२५ वटा उद्योग बन्द गर्ने खालको बजेट ल्याएको टिप्पणी गरे । उनले प्रश्न गरे,‘स्पोन्ज आइरनमा मात्र किन अन्त शुल्क बढाइयो ?’

उनले ४-५ वटा उद्योगको लागि मात्र सरकारले छुट दिएपछि धेरै उद्योग धराशयी भएको बताए । सरकारले उपभोक्ताहरुलाई सस्तो पर्ने भन्दै बढाएको अन्तशुल्कको विरोध गर्दै सरकारको उक्त नीतिले उपभोक्तालाई कुनै पनि हालतमा फाइदा नहुने उनको दाबी छ ।

‘नेपाली उद्योगबाटै बिलेट दिन्छांै, तपाईहरु खरिद गरेर विक्रि गर्नुस भन्छ सरकारले तर त्यस्तो गर्दा झन महंगो पर्ने र त्यो भार उद्योगीहरुले थेग्न नसक्ने अवस्था छ’ उनले भने ‘कि त भारतको मुल्यमा दिनुप्रयो ।’


अन्तर्राष्ट्रिय अभ्यासअनुसार तयारी मालमा अन्तशुल्क बढाउनुपर्ने आफूहरुको माग भएको उनले सुनाए । ‘तर सरकारले त्यो मान्न तयार भएन’ उनले भने, ‘भारतबाट ल्याइएका अन्य कम्पनीसँग सामान खरिद गर्दा निकै महंगो पर्ने र त्यसको असर उपभोक्तालाई नै बढी पर्ने छ ।’

उनले सरकारले पोस्न खोजेका ६ वटा उद्योगहरुको नामसमेत सार्वजनिक गरे । उनका अनुसार सरकारले अम्बे, जगदम्बा, सर्वोत्तम, लक्ष्मी, नारायण र पशुपतिको लागि सरकारले अन्य उद्योगलाई मारमा पार्ने काम गरेको छ ।

धेरै कमाएका उद्योगलाई थोरै भन्सार र अन्त शुल्क निःशुल्क गरेर देश नचल्ने भन्दै साखःले आक्रोस पोखे । उनले अब पनि माग सम्बोधन नभए पूराना पीडित उद्योगीहरु र अहिलेको नयाँ बजेटबाट पीडित बनेका नयाँ उद्योगीहरु मिलेर संयुक्त रुपमा आन्दोलनमा जाने चेतावनी दिए ।


क्लिकमान्डु