नयाँ उद्योगहरु स्थापना हुन सकेनन्, भएकाले लगानी विस्तार गर्न पाएका छैनन्ः अध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघ र संयुक्त टे«ड यूनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा छलफल भएको छ ।

परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले केन्द्रको पाँचौँ श्रम संसदबाट चयन भएका अध्यक्ष एवं पदाधिकारीहरुलाई बधाई दिँदै कोरोनाको विशेष परिस्थितीमा कर्मचारीहरुले समझदारीपूर्ण सहयोग गरेको बताए ।

केन्द्रको स्थापना भएदेखि राम्रो श्रम सम्बन्ध स्थापित हुँदै आएको भन्दै उनले ट्रेड युनियन, कर्मचारीहरुबाट राम्रो सहयोग पाइरहेको बताए ।

मुलुकको अर्थतन्त्रको अहिलेको मुख्य चुनौती तरलता, शोधनान्तर घाटा, विदेशी मुद्रा संचितीमा परेको चाप रहेको अध्यक्ष अग्रवालले बताए । ‘तरलताको समस्या हुँदा उद्योगीहरुले बैंकबाट ऋण पाइरहेका छैनन्’ उनले भने ‘नयाँ उद्योगहरु स्थापना हुन सकेका छैनन् । भएका उद्योगहरुले पनि लगानी विस्तार गर्न पाइरहेको अवस्था छैन ।’

आन्तरिक उत्पादनको प्रबद्र्धन गरिनुपर्ने आवश्यकता औल्याउँदै उनले परिसंघले औद्योगिकीकरणलाई बढावा दिन जोड दिँदै आएको बताए । औद्योगिकरणले रोजगारी सिर्जना हुने, आन्तरिक उत्पादन बढ्ने र आयात प्रतिस्थापन हुँदै जाने अध्यक्ष अग्रवालले बताए ।

कार्यक्रममा संयुक्त टे«ड यूनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमल कुमार खनालले श्रमिकको समस्या समाधान गर्न केन्द्र साझा थलो बनेको बताए । उनले न्यूनतम पारिश्रमिक लागू गर्ने विषय चुनौतीपूर्ण रहेको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा पनि थोरै मात्र कर्मचारी, श्रमिक आवद्ध भएको बताए । उनले श्रमिकहरुको सीप विकासमा रोजगारदातासहित राज्यले पनि दायित्व निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरुले श्रमिकका कारणले उद्योग व्यवसाय बन्द हुने अवस्था नभएको तर सरकारको राजस्वका नीतिका कारण उद्योगीहरुले नै उद्योग बन्द गर्नुपर्ने अवस्था देखिएको बताए ।


क्लिकमान्डु