२४ सुरुङमार्ग निर्माणका लागि १ अर्ब १९ करोड बजेट , धरान लेउतीका लागि ५ लाख मात्रै



काठमाडौं । सरकारले बजेटमा सुरुङमार्ग बनाएर सडक यातायातको समय घटाउने योजना बनाए पनि बजेट भने अत्यन्त कम बिनियोजन गरेको देखिएको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले २४ स्थानमा सुरुङमार्ग बनाउनको लागि बजेट बिनियोजन गरेको छ ।

सुरुङमार्ग निर्माणका लागि लागि सरकारले आगामी आर्थिक वर्षको लागि १ अर्ब १९ करोड बजेट बिनियोजन गरेको छ ।

चालु आर्थिक वर्षको तुलनामा सुरुङमार्गको लागि बिनियोजन भएको बजेट समेत घटेको छ । चालु आर्थिक वर्षका लागि १ अर्ब ९९ करोड बजेट सुरुङमार्गका लागि बजेट बिनियोजन भएको थियो ।

आगामी वर्ष सुरुङमार्गका लागि सबैभन्दा बढी बजेट बिनियोजन भएको सिद्धबाबा सुरुङमार्गको लागि हो । यो आयोजना निर्माणको लागि ठेक्का समेत लागि सकेको छ ।

सरकारले आगामी आर्थिक वर्ष पूर्वदेखि पश्चिमसम्म नै सुरुङमार्ग बनाउने योजना बनाएको छ । तर, बजेट बिनियोजन भएको हेर्दा केवल घोषणाका लागि मात्र सुरुङमार्गको लागि मात्र गरिएको देखिन्छ ।

अहिले सुरुङमार्गको काम थानकोटमा मात्र भइरहेको छ । अन्य सुरुङमार्गको अध्ययन समेत सकिएको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वर्षको लागि धरान लेउती सुरुङमार्गको लागि ५ लाख बिनियोजन गरेको छ । यो सुरुङमार्ग ४ किलोमिटर लामो बनाउने भनिएको छ ।

यस्तै सरकारले लामाबगर सुरुङमार्गको लागि १ करोड, कोटेश्वरमा सुरुङमार्गको लागि १ करोड, दुम्कीबासको लागि १ करोड, हेम्जा नयाँ पुलको लागि १ करोड ५० लाख बिनियोजन गरेको छ । यस्तै रसुवागढी बेत्रावतीको लागि १ करोड, गौशालाको अन्डरपासका लागि १ करोड बिनियोजन गरेको छ ।


क्लिकमान्डु