काठमाडौंमा फ्लाइओभर र अन्डरपास नबनाऔं, फोहोर व्यवस्थापन गर्न बञ्चरेडाँडामा बजेट खन्याऔंः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं उपत्यकामा फ्लाइओभर र अण्डरपासका लागि छुट्याइएको बजेट सिसडोल र बञ्चरे डाँडामा लैजान प्रस्ताव गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री तथा सांसद थापाले वर्तमान समयमा फोहोर व्यवस्थापन पहिलो प्रथामिकता भएको भन्दै बजेट त्यसतर्फ खर्च गर्नुपर्ने बताए ।

‘फोहोरको समस्या समाधान गर्नका लागि मन्त्रालयको पैसाले मात्रै पुग्दैन । बञ्चरे र सिसडोलमा हामीले गरेका प्रतिज्ञा र बाचाहरु पूरा गर्न अर्बौ रुपैयाँ चाहिन्छ । यो वर्ष काठमाडौंमा फ्लाइओभर नबनाए पनि हुन्छ । अण्डर पास नबनाए पनि हुन्छ,’ उनले भने ।

उनले काठमाडौं उपत्यका तथा बाहिरी जिल्लाको बजेट कटौती गरेर केही अबै रुपैयाँ फोहोर व्यवस्थापनका लागि छुट्याउनु पर्ने बताए ।

‘काठमाडौं यहाँबाट सांसद बस्ने ठाउँ मात्रै होइन बाहिरका सांसद बस्ने ठाउँ पनि हो । र, यो हामीले निकालेको फोहोर हो,’ उनले भने, ‘बाहिरका ५ वर्ष योजना काटे पनि हुन्छ । तर यो वर्षको बजेटबाट केही अर्ब रुपैयाँ बञ्चरे र सिसडोलका लागि छुट्याउने हो भने दीर्घकालीन समाधान निस्कन्छ ।’

थापाले काठमाडौं र वरपरको सडक फोहोरले पुरिन लागेको भन्दै सहरी विकास मन्त्रालय र काठमाडौं महानगरका प्रमुखहरुले अहिले गरिरहेको काम प्रशंसनीय भएको बताए ।

‘फोहोर व्यवस्थापनको मुख्य जिम्मेवार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरको हो । यी दुबै स्थानमा नयाँ नेतृत्व आएको छ,’ उनले भने, ‘तर यो अहिलेको नेतृत्वको दोष होइन । यसभन्दा अगाडिका नेतृत्वको असफलताको कारण हो । अहिलेको नेतृत्वले प्रशंसनीय काम गरिरहनु भएको छ । फलस्वरुप हिजो सहमति भए पनि आज फेरि फोहोर फाल्न पाइएको छैन । स्थानीयसँग झडप समेत भएको छ ।’
उनले सहरी विकास मन्त्रीलाई संसदमा आएर छलफल गर्न समेत आग्रह गरे ।

‘फोहोरको समस्या समाधानका लागि म सहरी विकास मन्त्रीलाई यहाा बोलाउन चाहन्छु, तर यहाँ उहाँ जवाफ दिन आउने होइन, छलफलका लागि आउने हो,’ उनले भने, ‘समस्याको गाँठो फुकाउनका लागि मद्दत गर्न चाहन्छौं । काठमाडौंका सांसद भएकाले यो हाम्रो पनि जिम्मेवारी हो ।’


क्लिकमान्डु