३८ प्रतिशतले आम्दानी घटेको रमन कन्स्ट्रक्सनले १० अर्ब ९४ करोड ऋणको रेटिङ गरायो



काठमाडौं । निर्माण कम्पनीको ‘क’ वर्ग इजाजतपत्र (लाइसेन्स) प्राप्त रमन कन्स्ट्रक्सन प्रालिको आम्दानी ३८ प्रतिशतले घटेको छ । कम्पनीको सन् २०२१ मा ३८ प्रतिशतले आम्दानी घटेको हो ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ११ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब ८० करोड २८ लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसैगरी, कम्पनीले सन् २०१९ मा २ अर्ब ३ करोड २८ लाख रुपैयाँ, सन् २०१८ मा १ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ र सन् २०१७ मा १ अर्ब ४५ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको उल्लेख छ ।

सन् १९९० बाट निरन्तर निर्माण क्षेत्रमा काम गर्दै आएका कम्पनीले देशका ठूला–ठूला आयोजनामा काम गर्दै आएका छन् । नेपालको सबैभन्दा ठूलो निर्माण कम्पनीको रुपमा परिचित रमन कन्स्ट्रनसँग सन् २०२१ सम्ममा ३९ अर्ब रुपैयाँ बराबरको ७३ वटा आयोजना थियो । त्यसमध्ये ११ वटा आयोजना एकल कम्पनीको मात्रै थियो भने बाँकी ६२ वटा जोइन्ट भेन्चरअन्तर्गतको २२ अर्ब ७० करोड रुपैयाँमा आयोजना थियो ।

साथै, ९ अर्ब ३० करोड रुपैयाँको आयोजना कार्यान्वयन हुन बाँकी रहेको कम्पनीको भनाइ छ । कम्पनीसँग सन् २०२१ को अक्टोबरसम्ममा १३ अर्ब ८० करोड रुपैयाँको थप ठेक्का लिन सक्ने क्षमता रहेको उल्लेख छ ।

कम्पनीले सडक, विमानस्थल रनवे, पुल, रिभर प्रोटेक्सन र ट्रेनिङ काम, बिल्डिङ, रेल्वे, ढल व्यवस्थापन र खानेपानी क्षेत्रमा काम गर्दै आएका छन् । कम्पनीले ४ वर्ष अघिदेखि २०२१ सम्ममा ६३ वटा १९ अर्ब २० करोड रुपैयाँको ६३ वटा आयोजना सम्पन्न गरिसकेको छ । सबै आयोजनामध्ये ५० प्रतिशत शेयर कम्पनीको रहेको जनाएको छ ।

कम्पनीले ४ वर्षको अवधिमा २७ वटा सडकको आयोजना र १० वटा खानेपानी आयोजना सम्पन्न गरेको छ । जसमा खानेपानी आयोजनाको हिस्सा २३ प्रतिशत रहेको छ ।

कम्पनीले सन् २०२१ सम्ममा ३० प्रतिशत सडक आयोजना, ३० प्रतिशत खानेपानी आयोजना र १६ प्रतिशत जलविद्युतको आयोजना सम्पन्न गरिसकेको छ । बाल राम महतोको २० प्रतिशत, रमन महतो र पवन महतोको ४०÷४० प्रतिशत शेयर रहेको कम्पनीको रकम महतो कार्यकारी निर्देशक हुन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई दीर्घकालीन र अल्पकालीन कर्जाका लागि १० अर्ब ९४करोड १४ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा इक्रा नेपालले दीर्घकालीन कर्जाका लागि ५५ करोड रुपैयाँ र १० अर्ब ३९ करोड १४ लाख रुपैयाँको रेटिङ गरेको छ । कम्पनीले एल डबल बी माइनस रेटिङ पाएको छ ।


क्लिकमान्डु