५ महिने सरकारले २५ वर्षको बजेट ल्यायो, हवाई कल्पनाका आयोजना समेटिएः गोकुल बास्कोटा



काठमाडौं । नेकपा एमालेका नेता गोकुल प्रसाद बास्कोटाले बजेटमा समेटिएका आयोजनालाई हवाई कल्पनाको संज्ञा दिएका छन् ।

आगामी आर्थिक वर्षको २०७९/८० को बजेटमाथि बोल्दै बास्कोटाले यसपटक ब्रिफकेस नफुटेको र बजेट सुन्न पाइएको भन्दै अर्थमन्त्रीलाई धन्यवाद समेत दिए ।

‘गत वर्षको बजेटमाथि टिप्पणी गर्दै अर्थमन्त्रीज्यूले भन्नु भएको थियो, कोषको अवस्थामा ध्यान नदिइ बजेट निर्माण नगरिएका कारण बजेटको विश्वस्नीयतामा प्रश्न उठ्छ । क्षमतामा मेल नखाले प्रचारात्मक बजेटले आकारमा काफी वृद्धि भएको छ ।
उहाँले हिजो गरेको प्रश्नलाई आजको बजेटलाई प्रतिप्रश्न गरेको छ,’ उनले भने ।

बास्कोटाले बजेट सुन्दा कर्णप्रिय भए पनि बजेट समाजवादी हो वा नवउदारवादी हो ठम्याउन नसकिएको बताए ।

उनले बजेटमा भएका आयोजनाहरु हवाई कल्पनामा आधारमा बनाइएको बताए ।

‘बजेटमा १ लाख उद्योग स्थापना गर्ने कुरा सुन्दा जी७ र जी२० का नेताहरु पनि थरथर काँप्दा हुन्,’ उनले भने, ‘५ महिने सरकारले २५ वर्षको कल्पना गरेर बजेट ल्यायो, बजेटमा भएका हवाई कल्पाना सायद नासा र रस्कोमसले पनि गर्न सक्दैनन् ।’

‘बजेटमा चितवन–पोखरा–रामपुर–बुटवलमा द्रुतमार्ग निर्माण गर्ने भनिएको छ, के अर्थसचिवज्यूको घर हुँदै लैजानका लागि हो ?’ उनले भने ।

उनले रुस र युक्रेनबीचको युद्धका कारण अमेरिकामा रासायनिक मलको मूल्यमा २९० प्रतिशत वृद्धि भएको अवस्थामा नेपालमा त्यसको ठूलो प्रभाव पर्ने बताए । उनले ७ लाख मेट्रिक टम मल आवश्यक भएको अवस्थामा २२ मेट्रिक टन मलले केही पनि नहुने बताए ।

उनले म्यादी प्रहरीलाई कुन कानूनमा टेकेर औद्योगिक बल स्थापना गर्ने हो ? यो चुनावलाई प्रभावित गर्ने नियत मात्रै होइन भन्दै अर्थमन्त्रीलाई प्रश्न समेत गरे ।
बजेटमा कृषि र किसानलाई प्राथमिकता दिने भनिए पनि भूमि सम्बन्धी नीति नै नभएको बताए ।

‘विदेशीलाई फ्ल्याट बिक्री गरेर किसानको विकास कसरी हुन्छ ?’ उनले भने ।


क्लिकमान्डु