घरजग्गा कारोबारमा कडाई, कम्पनीबाट किनबेच गर्ने व्यवस्था लागू गर्ने घोषणा



काठमाडौं । सरकारले घरजग्गा कारोबारमा कडाई गर्ने भएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९/७८ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै घरजग्गा कारोबारलाई व्यवस्थित बनाउने घोषणा गरेकी छिन् ।

सरकारले अनाधिकृत रुपमा भइरहेको घरजग्गा कारोबारलाई विशिष्टीकृत क्षेत्रबाट मात्रै कारोबार गर्ने व्यवस्था मिलाएको हो । अहिले घरजग्गा व्यवसायीहरूले जथाभावी प्लटिङ गरेर बिक्री वितरण गर्दै आएकाले आगामी वर्ष उक्त क्षेत्रलाई व्यवस्थित गर्ने बताएकी हुन् । भण्डारीले घरजग्गा कारोबारका लागि छुट्टै संस्था खडा गर्ने बताएकी छिन् ।

अहिले जुनसुकै व्यक्तिले पनि कर छलि गरेर सहजै तरिकाले घरजग्गा कारोबार गर्न सकिने अवस्था छ । जसले गर्दा सरकारले अर्बौ रुपैयाँ राजस्व गुमाउँदै आएको छ ।

नेपालमा पछिल्लो समयमा उच्च रुपमा कारोबार बढेसँगै घरजग्गाको मूल्य करिब ८० प्रतिशतसम्म बढेको छ । साथै, विभिन्न क्षेत्रमा जथाभावी प्लटिङ हुँदै भएको छ । जसमा सरकारले हालसम्म हस्तक्षेप गर्न सकेको छैन । घरजग्गा कारोबार गर्दा वास्तविक मूल्य अर्कै र किनबेच भएको मूल्य अर्कै हुँदा सरकारले ठूलो रकमको राजस्व गुमाउँदै आएको सरोकारवालाहरूले बताउँदै आएका छन् ।

अधिकांश व्यवसायीहरूले सरकारी मूल्याङ्कनको भन्दा ५ गुणा बढी मूल्यमा घरजग्गा बिक्री गर्दै आएका छन् । त्यसैले, यस क्षेत्रलाई संस्थागत गरी व्यवस्थित गर्ने सरकारले जनाएको छ । त्यसैगी, भण्डारीले भू–उपयोग नीति तथा कानूनअनुसार भूमि वर्गीकरण गरी संघ, प्रदेश र स्थानीय तहको भू–उपयोग योजना तयार गर्ने बताएकी छिन् ।


क्लिकमान्डु