उद्योग स्थापना गर्न सरकारले जमिन दिनुपर्छः पूर्वअर्थमन्त्री पाण्डे



काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्योग स्थापना गर्न सरकारले जग्गा दिनुपर्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघले उद्योगलाई जमिन खोई शीर्षकमा आयोजना गरेको छलफल कार्यक्रममा पूर्वमन्त्री पाण्डेले भने, ‘हामीले भूउपयोग नीति बनाउन नसक्दा जग्गाको मूल्य बढेको छ, कषियोग्य जमिन र व्यवसायीक जमिनमा फरक प्रकृतिको कर लगाउनु पर्छ । उद्योग स्थापनामा सरकारले सहजीकरण गर्नु पर्छ ।’

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अहिले जग्गाको मुल्य उच्चदरमा बढेकाले उद्योग स्थापना गर्न कठिन भएको बताए ।

‘सरकारले औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको छ तर औद्योगिक क्षेत्र निर्माण भएको छैन,’ पूर्वअध्यक्ष शर्माले भने, ‘सरकारले सजिलो कानून बनाएर निजी क्षेत्रलाई औद्योगिक क्षेत्र निर्माण गर्न दियो भने हामी औद्योगिक क्षेत्र पनि बनाउँछौँ । उद्योग पनि ल्याउन सक्छौँ ।’

उद्योग स्थापनाका लागि कलस्टर बन्न नसक्दा औद्योगिक विकास हुन नसकेको शर्माको भनाइ छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया जग्गाको उपलब्धतामा उद्योगलाई सहजीकरण गर्नु तयार रहेको बताउँछन् ।


क्लिकमान्डु