ट्रेडिङ व्यवसायका कारण औद्योगिक विकास हुन नसकेको होः उपाध्यक्ष पौडेल




काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल ट्रेडिङ व्यवसायीका कारण औद्योगिक विकास हुन नसकेको बताएका छन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।

‘नेपालको ट्रेडिङ व्यवसायमा शक्तिशाली मानिस संलग्न छन्,’ पौडेलेले भने, ‘जसले गर्दा हाम्रामा उद्योगको विकास हुन नसकेको हो ।’

ट्रेडिङ व्यवसायीले आफ्नो व्यवसाय घट्छ भनेर उद्योग स्थापनामा अवरोध सिर्जना गरेको उनको भनाइ छ ।

‘आगामी आर्थिक वर्षको बजेटमा उत्पादनमुलक उद्योगलाई केही सहुलियत दिने सरकारको योजना छ,’ पौडेलले भने ।

नेपालमा पूर्वाधार विकासका क्षेत्रमा वैदेशिक लगानी ल्याउनु पर्ने उपाध्यक्ष पौडेलले बताए ।

‘टेलिकम, विमानस्थल, फास्टट्«याक, बुलेट ट्रेन, मोर्डन सपिङ अनुभव दिने क्षेत्र, होटलमा वैदेशिक लगानी बढाउनु पर्छ,’ पौडेलले भने, ‘जलविद्युत आयोजनामा बनाउन विदेशी लगानी ल्याउन सकिन्छ । जलविद्युत जसले निर्माण गरेपनि त्यो राज्यको दीगो सम्पत्ती हो ।’

नयाँ आयोजना शुरु गर्न राज्यसँग पर्याप्त पैसा नभएको भन्दै निजी क्षेत्रसँगको सहकार्य र विदेशी लगानीबाट आर्थिक विकास गर्नु पर्ने उनको भनाइ थियो ।

यस्तै, पारदर्शी रुपमा नेपालीले विदेशमा गर्ने लगानी समेत क्रमशः खुल्ला गर्दै जानु पर्ने उनले बताए ।

पौडेलले नगद लाभांश भन्दा बोनश शेयर दिने प्रणाली बनाउनु पर्ने उल्लेख गरे ।

‘बोनस शेयर जारी गर्नेलाई कर छुट दिनु पर्छ,’ पौडेलले भने, ‘कमाउने वित्तिकै पैसा निकाल्ने भन्दा पनि पुनः लगानी गर्ने प्रणालीको विकास गर्नुपर्छ ।’


क्लिकमान्डु