वामपन्थीको किल्ला तोडेर मेयर जितेका हर्क धरानवासीको हर्ष बन्लान् त ?



धरान । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ)लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी भएका छन् ।

साम्पाङको उपमहानगर प्रमुखमा विजयीपश्चात् स्थानीयले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा यत्रतत्र हुन थालेको छ । धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बनाएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गरेका हुन् । साम्पाङले २० हजार ८२१ मत प्राप्त गरेका छन् भने उनी प्रतिस्पर्धी राईले १६ हजार ६९ मत प्राप्त गरे ।

यस्तै निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार उपमहानगर प्रमुखमा नेकपा (एमाले)का मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरे ।

सामाजिक अभियन्ताका रुपमा दरिएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए । उनी प्रमुखमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गरेका थिए ।

एक्लै भए पनि उनले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयले यसपाली उनलाई लोकप्रिय मत दिएर जिताएका हुन्। उनले २०७६ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा जम्मा ४४२ मत प्राप्त गरेका थिए ।

को हुन हर्क साम्पाङ ?

हर्क साम्पाङ, खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा सङ्घर्षरत व्यक्ति हुन् । विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मेका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् ।

अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । त्यसको केही समयपछि विदेशिएका साम्पाङ अफ्गानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर उन सामाजिक काममा लागे ।

अहिले उपमहानगर प्रमखमा लोकप्रिय मत ल्याएर विजय हासिल गरेका साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लाग्दै आएका थिए । तर चर्चा भने कम नै थियो । उनले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उनले सुरुआत गरे । सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गए ।

सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । साम्पाङले पहिलो पटक हिक्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाले। खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उन एक्लै सडकमा उत्रिए । यस विषयमा बिस्तारै अन्यले पनि साथ दिँदै गए ।

धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उनले आवाज बुलन्द पार्दै गए । उनको अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागि रहे । ‘सतिसाल’ झैं नागरिकका सानातिना समस्यामा उन आवाज उठाइरहँदा आज अरुको साथ नपाए पनि धरानका स्थानीयको पूर्णसाथ पाएका छन् ।

जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि गम्भीर नहुँदा स्थानीयमा असन्तुष्टि चुलिएको उनको बुझाइ छ । त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उनी बताए ।

“यो चुनावमा न मेरो कुनै सङ्गठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर मैले जनताको समस्या सार्वजनिकरूपमा उठाएकाले स्थानीयले मलाई विश्वास गर्नुभयो । उनहरुप्रति धेरै कृतज्ञ छु,” नवनिर्वाचित साम्पाङले भने।

विसं २०७४ को स्थानीय तहको चुनावमा उन केवल मतदाता भएर मैदानमा थिए । ०७६ को उपचुनावमा भने उनी तिनै मुद्दा लिएर एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बनेका थिए। भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन उनको मान्यता रहेको छ ।

उनी धरानको खानेपानीको व्यवस्थापन आफ्नो पहिलो जिम्मेवारी भएको बताउँछन् ।

“धरानका सबैलाई खानेपानी व्यवस्था गरेपछि मात्र मेरो जीत हुन्छ”, उनले भने ।

अभियन्ता साम्पाङ

धरानका स्थानीयका अनुसार ३९ वर्षका हर्क साम्पाङ एक दशकदेखि धरानका सडकमा कहिले एक्लै त कहिले सानो समूह लिएर प्ले कार्ड, व्यानर, पर्चा लिएर सधैँ भेटिइरहने सामाजिक अभियन्ता हुन् । उनको सर्दु जलाधार क्षेत्र संरक्षण अभियान पनि योगदान रहेको बताइन्छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका स्थानीयले केही व्यक्तिसँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेका थिए। साम्पाङ पनि त्यसमा जोडिनु भई सोही मुद्दा बोकेर हिँड्ने क्रममा कृष्णनारायण पालिखेको मृत्यु भएपछि त्यस अभियानको काम साम्पाङले सम्हालेका थिए ।

एकपछि अर्को सामाजिक अभियान सञ्चालनमा ल्याएका साम्पाङलाई स्थानीयले यसपटक जनमत दिने मौका पाए । दलप्रति स्थानीयले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतमार्फत व्यक्त गरेको धेरैको विश्लेषण छ ।

‘धरानका नागरिकले आधारभूत आवश्यकताका लागि सङ्घर्ष गरिरहेका सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्कराज राईलाई विजयी गराएका छन्, यो सुखद विषय हो,’ मेहन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक राजेश विद्राहीले भने । महानगर उपप्रमुखमा भने माओवादीका अइन्द्रविक्रम बेघाले जित हासिल गरेका छन् ।’

धरानमा विसं २०७६ पछि एमाले पछि पर्यो

वामपन्थी गढका रुपमा चिनिएको धरान उपमहानगरमा नेकपा एमालेका लागि ठूलो प्रतिष्ठाको विषय थियो । विसं २०४८ देखि वामपन्थीले जित्दै आएको धरान एमालेको ‘लालकिल्ला’का रुपमा चिनिएको थियो । तर पछिल्लो समय लालकिल्ला तोडिँदै आएको छ ।

स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले एमालेको लालकिल्ला भत्काए । नेकपा माओवादी केन्द्र र एमाले एक भएको बेला १६ हजार मतान्तर हुँदा राईले वामपन्थी उम्मेदवार प्रकाश राईलाई हराएर एमालेलाई पछाडि पारेका हुन् ।

ठूलो सङ्घर्ष गरेर पाएको विरासत जोगाउन कांग्रेसले फेरि गठबन्धनका घटक माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चाका साथमा उम्मेदवारी दिए पनि एउटा समान्य नागरिक जो धरानका लागि सपना बोकेर एक्लै हिँडेका थिए, हर्क साम्पाङले जीत हासिल गरे ।

धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा विसं २०१७ मा नगरपालिका घोषणा भएसँगै वामपन्थीले लगातार प्रमुखमा जीत हासिल गर्दै आएको थियो ।

विसं २०४६ को जनआन्दोलनपछि तत्कालीन संवैधानिक राजतन्त्रको पालामा विसं २०४८ र २०५४ मा भएका निर्वाचनमा समेत एमालेले विजयी हासिल गर्दै आएका थिए । विसं २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले प्रमुखमा जीत हासिल गरेका थिए । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले उपमहानगरको नेतृत्व गरे ।

विसं २०७६ को उपनिर्वाचनमा तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउँदा तिलकले २६ हजार ७०९ मत प्राप्त गर्नुभयो भने प्रकाश राईले २३ हजार ९१४ मत पाएका थिए ।

धरानको कूल मतदाता एक लाख ३२४ रहेकामा यसपटकको निर्वाचनमा ६२ हजारले मतदान गरेका छन् । यसपटक ठूला दलका उम्मेदवारलाई पाखा लगाउँदै हर्क साम्पाङले लोकप्रिय मत पाएका छन् । रासस


क्लिकमान्डु