निजी क्षेत्रलाई रासायनिक मल आयात गर्न दिनुपर्छः ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई रासायनिक मल आयात गर्न दिनुपर्ने माग गरेका छन् ।

विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपायका विषयमा छलफल गर्न नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा ढकालले निश्चित संयन्त्र र प्रणाली बनाएर निजी क्षेत्रलाई रासायनिक मल आयात गर्न दिनुपर्ने बताए ।

‘सरकारले मल आयात गरेर किसानलाई दिन सकेको छैन । जसले गर्दा कृषिको उत्पादन घटिरहेको छ,’ ढकालले भने ,‘ निजी क्षेत्रले मल आयात गरेर किसानलाई दिन्छुभन्दा रोक लगाउनु पर्ने कुनै कारण छैन् ।’

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि रासानिक मल आयात गर्ने जिम्मेवारी निजी क्षेत्रलाई दिन माग गरेका थिए ।

‘निजी क्षेत्रले ल्याउने रासायनिक मल चोरी तस्करी भएर भारत जाने सम्भावना पनि छैन । सस्तो मूल्यमा पाइयो भन्दैमा मल स्टक पनि राखिदैन्,’ मुरारकाले भने, ‘निजी क्षेत्रले बजारको आवश्यकता अनुसार मल आपुर्ति गर्ने हो । सरकारले गर्न नसकेको काम गर्छौ भन्दा निजी क्षेत्रलाई किन रोक्ने ?’

पछिल्लो केही वर्षदेखि किसानले पर्याप्त मल पाउन सकेका छैनन् । जसले गर्दा किसानले समस्या भोग्दै आइरहेका छन् ।

हाल नेपाल सरकारको पूर्ण स्वामित्व भएको कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मल आयात गर्नुको साथैं बिक्री वितरणको काम गर्दै आएको छ ।


क्लिकमान्डु