फेरि बढ्यो पेट्रोलको मूल्य, लिटरकै १८० रुपैयाँ, ग्यासको मूल्य २ सयले बढ्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर १८० रुपैयाँ पर्याएको छ ।

साथै, एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८०० रुपैयाँ पुर्याएको छ ।

यसअघि उद्योगमन्त्री दिलेन्द्र बडूले निगम घाटामा गइरहेको भन्दै एलपी ग्याँसमा अनुदान दिन नसकिने बताएका थिए । एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँले बढाए पनि निगमलाई अझै प्रतिसिलिण्डर ८७९.७५ रुपैयाँ घाटा छ ।

त्यसैगरी डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर १६३ रुपैयाँ बनाइएको छ ।

निगम अझै पनि मूल्य समायोजनपछि पनि मासिकरुपमा एलपी ग्याँसमा ३ अर्ब रुपैयाँ, डिजलमा करिब ३ अर्ब ४० करोड रुपैयाँ, र पेट्रोलमा करिब १ अर्ब रुपैयाँ घाटा छ ।

साथै हवाई इन्धनतर्फ आन्तरिकका लागि प्रतिलिटर १० रुपैयाँले बढाएर १६६ रुपैयाँ बनाइएको छ ।

निगमले महंगो मूल्यमा इन्धनको खरिद गर्दा विदेशी मुद्रा सञ्चिति कम भइरहेको भन्दै सकेसम्म पेट्रोलियम पदार्थको खपत कम गरी विद्युतलगायतका स्वेदशी उर्जाको खपत बढाउन समेत उपभोक्तामाझ अनुरोध गरेको छ ।

निगमले भनेको छ, ‘इन्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिदवापत मे महिनामा ४३ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्नेमा जम्मा २० अर्ब ६० करोड रुपैयाँ बिक्री वापत प्राप्त भइ पठाइएको र बाँकी २२ अर्ब ४० करोड रुपैयाँ भुक्तानी हुन सकेको छैन ।’

बढ्दो घाटा व्यवस्थापन गर्न यसअघि नै सञ्चि मुनाफा, मूल्य स्थिरिकरण कोष र अन्य कोषमा भएको रकम समेत निकालिसकिएको भन्दै निगमले चालु आर्थिक वर्षमा ४७ अर्ब रुपैयाँ घाटा भइरहेको बताएको छ ।


क्लिकमान्डु