ओलीलाई धक्काः जन्मथलो र भोट हालेको दुबै ठाउँमा कांग्रेसले जित्यो, दमकमा पनि एमालेभन्दा राप्रपा अगाडि



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो र उनले भोट हालेको दुबै ठाउँमा कांग्रेसले जितेको छ ।

ओलीको जम्नस्थान तेह्रथुमको आठराई गाउँपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार दिलकुमार पाहिम बिजयी भएका छन् । उनले एमालेका उम्मेदवार रामचन्द्र थपलियाको भन्दा ६ सय ११ मत बढी ल्याए । पाहिमले ४ हजार ६ सय १९ मत ल्याउँदा भने थपलियाले ४ हजार ८ मत ल्याए । पालिका उपाध्यक्षमा पनि गठबन्धनका तर्फबाट माओवादीका बलिराज ईङनाम बिजयी भएका छन् ।

तेह्रथुमको आठराई क्षेत्र कम्युनिष्ट आन्दोलनमा अग्रणी भूमिका खेलेको ठाउँ हो । आठराईले चर्चित कम्युनिष्ट नेताहरु जन्माएको थियो । उक्त क्षेत्रलाई वामपन्थीको गढ मानिन्थ्यो ।

ओली प्रधानमन्त्री भएका बेला जन्मदिन मनाउन आठराईस्थित ह्वाकुमा भएको पूरानो घर पुगेका थिए ।

कांग्रेस गाउँपालिका सभापति रहेका पाहिम यसअघि वडा नं। २ को वडाध्यक्ष थिए । यहाँ २०७४ को स्थानीय निर्वाचनमा समेत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो । तर, त्यसबेला एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिटमै जित निकालेको थियो । यसपटक भने गठबन्धनले बहुमत सिट जितेको छ ।

त्यसैगरी, ओलीले भोट दिएको वडामा पनि कांग्रेसले प्यानलै जितेको छ । ओलीले भक्तपुरस्थित सुर्यविनायक नगरपालिका वडा नं. २ मा भोट दिएका थिए । यसअघिको निर्वाचनमा पनि ओलीले मतदान गरेको वडामा कांग्रेसले नै जितेको थियो । सुर्यबिनायक २ नम्बर वडामा कांग्रेसका वडाध्यक्षका उम्मेदवार प्रदीप कार्की १ हजार ५११ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाएका छन्।

ओलीको निर्वाचन क्षेत्र झापाको दमकमा पनि एमाले पछि परेको छ । पछिल्लो अपडेट अनुसार कांग्रेस गठबन्धनका तर्फबाट मेयरमा राप्रपाका ५ हजार ९१ मत ल्याएका छन् भने एमालेकी उम्मेदवार गीताकुमारी पौडेल अधिकारी ४४ सय ९५ मत ल्याएकी छन् । एमालेका उम्मेदवारलाई राप्रपाका उम्मेदवारले ५ सय ९६ मतले पछि पारेका छन् । झापाको दमक पनि एमालेको गढ नै मानिन्थ्यो ।

ओलीको जन्मथलो, कर्मथलो र मतदान गरेको ठाउँमा नै एमाले कमजोर बनेको छ ।


क्लिकमान्डु