तिमिल्सिना र भूसालको १५ अर्ब लगानीमा खुल्दैछ सूर्यतारा सिमेन्ट, कर्णाली प्रदेशकै ठूलो आयोजना



काठमाडौं । सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर भएको लामो समय भइसकेको छ । ६० भन्दा बढी उद्योगबाट उत्पादन हुने सिमेन्ट नेपालको माग धान्न पर्याप्त भइसकेका छन् ।

अधिकांश उद्योगहरु पूर्णक्षमतामा सञ्चालन नहुँदै माग पूरा भइसकेको अवस्थामा उद्योगीहरु निर्यातको सम्भावनाबारे बहस शुरु गरिसकेका छन् । एक दशकअघिसम्म सीमावर्ती क्षेत्रमा भारतीय कम्पनीको सिमेन्ट प्रयोग हुने भएपनि अहिले त्यो अवस्था छैन ।

अहिले सिमेन्ट उद्योगीहरु सरकारले सहजीकरण गरिदिए भारत सिमेन्ट निर्याय गर्न सक्ने र निर्यातका लागि आवश्यक गुणस्तरसमेत भएको दाबी गर्दै आएका छन् । उद्योगीहरु सीमावर्ती भारतीय क्षेत्रमा सस्तो मूल्यमा सिमेन्ट निर्यात गरी भारतसँगको व्यापारघाटा कम गर्न सक्ने बताउँछन् ।

त्यतिमात्रै होइन, सिमेन्ट उद्योगीहरु उद्योगहरु पूर्णक्षमतामा सञ्चालन गर्ने हो भने सिमेन्टको उत्पादन अत्यधिक हुने बताउँदै आएका छन् । उनीहरु यतिबेला सडकमा बिटुमिनको साटो सिमेन्ट नै प्रयोग गर्नुपर्ने र यो ४० वर्षसम्म टिकाउ पनि हुने भन्दै बहस गर्न थालिसकेका छन् ।

स्वदेशी सिमेन्टको बजार भारतमा पनि बिस्तार गर्नुपर्ने भन्दै उद्योगीहरु लविङमा उत्रिएका बेला १५ अर्ब रुपैयाँ बराबरको लगानीमा सुुर्खेतमा सूर्यतारा सिमेन्ट उद्योग स्थापना हुने भएको छ । जुक कर्णाली प्रदेशकै सबैभन्दा ठूलो आयोजना हो ।

सूर्यतारामा उद्योगीद्धय मुकुन्द तिमिल्सिना र बालकृष्ण भुसालको लगानी छ । सूर्यतारा सिमेन्ट उद्योगले लगानी बोर्डबाट स्वीकृति प्राप्त भइसकेको छ भने उद्योग विभागमा समेत दर्ता भइसकेको छ ।

तिमिल्सिना गत वर्षमात्रै सम्राट सिमेन्ट उद्योग बिक्री गरी बाहिरिएका थिए भने भुसालले गत वर्षमात्रै विशाल सिमेन्ट किनेका थिए । सम्राट सिमेन्टमा प्रवेश गर्नुअघि तिमिल्सिना अम्बे सिमेन्टमा थिए । हाल उनको लगानी शुभ अग्नी श्री प्यूठान सिमेन्ट, मोबाइलमा समेत लगानी छ ।

तिमिल्सिना युनाइटेड मोदी हाइड्रो र ताप्लेजुङमा रहेको ५० मेगावाट क्षमताको युनाइटेड मेवा हाइड्रोपावरका पनि लगानीकर्ता हुन् ।

बुटवलका व्यवसायी भुसाल होल्याण्ड ट्रयाक्टर, वायर, होटललगायतका विभिन्न व्यवसायमा संलग्न छन् । उनी मेगा बैंकका ठूला लगानीकर्तामध्येका एक हुन् ।

भुसाल पछिल्लो समय भैरहवास्थित पाँचतारे स्तरको टाइगर प्यालेस रिसोर्ट खरिद गर्ने भन्दै चर्चामा आएका थिए । भुसालले सन् २०५७ सालमा पनि बुद्ध सिमेन्टमा लगानी गरेका थिए । साथै उनले बुटवलमा चार तारे होटल मेगा तेस्रो एडिसन, भैरहवामा पाँच तारे स्तरको होटल मेगाको निर्माण शुरु गरिसकेका छन् ।

तिमिल्सिनाका अनुसार उद्योगमा २० प्रतिशत आफूहरुको र बाँकी ८० प्रतिशत बैंकको कर्जा रहनेछ ।

‘सुदुरपश्चिम र कर्णाली प्रदेशमै यति ठूलो आयोजना अहिलेसम्म निर्माण भएको छैन,’ तिमिल्सिनाले क्लिकमाण्डूसँग भने, ‘योजना अनुसार निर्माण काम सम्पन्न भए २ वर्षभित्रमा सञ्चालनमा आइसक्छ ।’

उनका अनुसार उद्योगको कुल क्षमता वार्षिक २ हजार ९९५ मेट्रिक टन छ भने उद्योगबाट दैनिक ५० हजार बोरा सिमेन्ट उत्पादन हुनेछ । कम्पनीले सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर ९ सुडाकाँडामा ४२ बिघा जग्गा र अन्य पूर्वाधारमा गरी ५० करोड रुपैयाँ लगानी भइसकेको छ ।

‘जग्गा खरिदको काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘सरकारले बाटो, विजुली र पानीको व्यवस्था गरेको ३ महिनामा काम शुरु भइसक्छ ।’

उनका अनुसार उद्योगका लागि २२ मेगावाट विद्युत् आवश्यक रहेको र लम्कीबाट विद्युत् उपलब्ध गराउने विषयमा सरकारले प्रतिबद्धता जनाइसकेको छ ।

‘अहिलेको समस्या विजुली र त्यसको महशुल पनि हो, सरकारले विद्युतमा सहुलियत दिएको खण्डमा सिमेन्ट सस्तो पर्छ,’ उनले भने ।

उनले सुर्खेतमा रहने उद्योगबाट उत्पादन हुने सिमेन्टको बजार विशेष गरी बाँके, बर्दिया र कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहने बताए ।

उनका अनुसार उद्योगबाट पीपीसी, ओपीसी र पीएससी सिमेन्ट उत्पादन गर्नेछ ।

‘कर्णाली र सुदुरपश्चिम प्रदेशमा विकास निर्माणका कैयन कामहरु अझै बाँकी छन्,’ तिमिल्सिनाले भने, ‘कर्णालीमा २ वटा ठूला पुल बन्दैछन्, त्यसबाहेक अन्य संरचनाहरु पनि निर्माण हुने भएकाले सिमेन्टको बजार ठूलो छ ।’

कर्णाली र सुदुरपश्चिममा आफ्नो उत्पादनसँग अरुलाई प्रतिस्पर्धा गर्न कठिन हुने उनको भनाइ छ ।

उद्योगमा सिमेन्टसँगै क्लिङकर पनि उत्पादन हुनेछ । उद्योगको खानी जुम्ला रोडमा रहेको बारातालमा रहेको छ । जुन उद्योगभन्दा ३० देखि ३५ किलोमिटर टाढा छ ।

उद्योगले ६०० जनालाई रोजगारी उपलब्ध गराउने उद्योग विभागमा प्रतिबद्धता जनाएको छ ।

तिमिल्सिनाका अनुसार योग्यताका आधारमा रोजगारीमा पहिलो प्राथमिकता स्थानीयलाई दिइने बताए ।

‘पहिलो प्राथमिकता स्थानीयलाई नै हुनेछ, यसले स्थानीय र उद्योग दुबैलाई फाइदा पुग्नेछ,’ उनले भने, ‘दोस्रो प्राथमिकतामा बाहिरका जनशक्तिलाई दिइनेछ ।’


कमलकुमार बस्नेत