परिसंघको महानिर्देशकमा जोशी नियुक्त



काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपक राज जोशी नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको बताइएको छ ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।

जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई भविष्यमा थप प्रभावकारी बनाउने बताए । उनले परिसंघमा आवद्ध सम्पूर्ण सदस्यहरूमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ ध्यान दिने बताए ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहेका जोशी विगत २२ वर्षदेखि विभिन्न जिम्मेवारीमा सक्रिय रहेका छन् । उनले प्यासिफिक एसिया ट्राभल एसोसिएसनमा डेस्टिनेसन कमिटीको अध्यक्षको रूपमा काम गरेका छन् ।

अन्तर्राष्ट्रिय रूपमा ‘च्यान्पिएन्स इन च्यालेन्ज’ र ‘पर्यटन हिरो’ जस्ता सम्मानबाट सम्मानित भएका जोशीबाट परिसंघका उद्देश्यअनुरूपका कार्य सम्पादन हुने विश्वास परिसंघले लिएको जनाएको छ ।


क्लिकमान्डु