अर्थतन्त्र संकटको मोडमा, मन्त्रीहरू कमाउ धन्दामा: पूर्वअर्थमन्त्री खतिवडा



काठमाडौ। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रमा संकटको संकेत देखिएको बताए ।

एक वर्षको अवधीमा ११ महिनासम्मको आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिति ६ महिनाको आयात धान्न पुग्ने अवस्थामा पुगेको उनले बताए ।
नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा खतिवडाले भने, ‘ अर्थतन्त्रको अवस्था खराब हुँदा समेत सरकारले सिन्कोसम्म भाँचेको छैन । उल्टो मन्त्रीहरू निर्वाचन लक्षित गर्दै कमाउ धन्दामा लागेका छन् ।’

आफूले केही नगरेको सरकारले अर्थतन्त्र सुधार गर्ने प्रयास गरिरहेका नेपाल राष्ट्र बैंकका गभर्नरलाई प्रतिशोधले हटाएको आरोप लगाए ।

सरकारमा रहेका व्यक्तिको प्राथमिकता कमाउ धन्दामा भएको भन्दै अर्थतन्त्रका समस्या समाधान गर्न सरकार गम्भीर नभएको बताए ।
अर्थमन्त्रीको अज्ञानता र असक्षमताले अर्थतन्त्र झनै खराब अवस्थामा पुगेको खतिवडाको भनाइ छ ।

सरकारले अनावश्य वस्तुको आयात गर्न दिएर अनौपचारिक कारोबार र तस्करीलाई बढवा दिँदा बैकिङ प्रणालीका पैसा अभाव भएको खतिवडाको भनाइ छ ।

गठबन्धन टिकाउन अनावश्यक निकाय स्थापना गरिरहेको बताउँदै खतिवडाले अर्थतन्त्र सुधार गर्न सरकार नलागेको बताए ।

एमसीसीका विषयमा सत्ता गठबन्धन भएको बिरोधलाई खतिवडाले विकासका विषयमा सरकारको समान धारणा नहुँदा विकास साझेदारको विश्वास समेत गुमाएको बताए ।

मित्र राष्ट्र र दातृनिकायमा बिषयमा गरेको अनावश्यक टिप्पणीले समेत सरकारको दातृनिकायको विश्वास गुमाएको छ।

भूमाफियाको चंगुलमा अर्थतन्त्र परेको समेत खतिवडाले आरोप लगाए । हुण्डी कारोबार बढिरहेको भन्दै अर्थतन्त्र थप संकटमा पर्ने चेतावनी दिए ।

सरकारले नोटबन्दी गर्ने भन्दै आतंक फैलाइरहेको भन्दै कर्मचारीतन्त्रमार्फत् चुनाव खर्च उठाउन लागेको समेत खतिवडाको आरोप छ।

प्रतिस्थापन विधेयकमार्फत् भ्रष्टाचार गरेको सरकारले सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धान विभागलाई आफूअनुकुल प्रयोग गरिरहेको खतिवडाले दाबी गरे।

‘स्रोत नखुलेको सम्पत्ति नियन्त्रण गर्नुभन्दा पनि त्यस्तो रकम छुटाउन अर्थमन्त्री आफैं लागेको छ,’ खतिवडाले भने, ‘यस्तो गतिविधिले हामी अन्तर्राष्ट्रिय अनुगमनमा गर्ने र कालो सूचीपर्ने समेत खतरा छ ।


क्लिकमान्डु