अर्थतन्त्रमा हस्तक्षेप नभए देश श्रीलंका बन्छ: पूर्वअर्थमन्त्री पौडेल



काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल अर्थतन्त्रमा हस्तक्षेप नगरी देश श्रीलंका बन्नेबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

एमालेको प्रचार विभागले आइतबार आयोजना गरेको कार्यक्रममा पौडेलले वर्तमान गठबन्धन सरकारले लिएको नीतिले देशको अर्थतन्त्र खराब बन्दै गएको बताए ।

सरकारको नेतृत्व गर्नेको देशको अवस्था श्रीलंका हुँदैन भन्ने भाषण गरेर हुँदैन,’ पौडेलले भने, ‘सरकारले जसरी काम गरिरहेको छ, हाम्रो अर्थतन्त्र श्रीलंकाको बाटोमा जान कसैले रोक्न सक्दैन ।’

वर्तमान सरकार गठन भएपछि विदेशी मुद्राको सञ्चिति घटेको, व्यापारघाटा बढेको, रेमिटेन्स घटेको छ, बैंकिङ प्रणालीमा निक्षेप घटेको र कर्जाको ब्याजदर बढेको छ उनको भनाइ छ ।

उनले एमाले नेतृत्वको सरकारले कोभिड महामारीको सामान गर्दा समेत अर्थतन्त्र राम्रो अवस्थामा रहेको भन्दै यो सरकार आएपछि अर्थतन्त्रका सूचकांकहरु खराब भएको बताए ।

पौडेलले वर्तमान सरकार मुलुकको अर्थतन्त्रप्रति जिम्मेवार नै नभएको आरोप लगाए ।

सरकारले राजनीतिक आग्रहका कारणले ल्याएको प्रतिस्थापन विधेयकले मुलुकको अर्थतन्त्र खराब भएको पौडेलको दाबी छ ।

जनताका लागि आफूहरूले लोकप्रिय बजेट ल्याएकाले सरकारले बजेट संशोधन गरेको दाबी गर्दै पौडेलले भने, ‘हामीहरूले ल्याएको बजेट कार्यान्वयनमा गएको भए अर्थतन्त्र खराब अवस्था हुने थिए ।’

राष्ट्र बैंक जस्तो स्वायत्त निकायलाई वर्तमान सरकारले मन्त्रालयको महाशाखा प्रमुख जसरी हस्तक्षेप गरेको पौडेलको आरोप छ ।

‘मौद्रिक नीति ल्याउन रोक्ने, राष्ट्र बैंकलाई माइक्रोम्याजेनमेन्ट गर्ने यो सरकारको कदम खेद जनक छ,’ पौडेलले भने, ‘राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गरेर संस्था कमजोर पार्ने गरि सरकारले काम गरेको थियो ।’

यो सरकार बनेपछि वैदेशिक लगानीको माहोल बिग्रिएको उनको भनाइ छ ।

‘हामी सरकारमा हुँदा धेरै वैदेशिक सहयोग परिचालन गरेका थियौं ।

यो सरकार बनेपछि न्युनबिजकिकरण सँगै हुण्डी कारोबार बढेको छ,’ पौडेले भने ।


क्लिकमान्डु