यस्ता मान्छेसँग हुन्छ मौका चिन्ने कलाः डा. बुद्धि मल्लको लेख



‘बगेको खोला फर्किदैन, मौका आउँछ पर्खिदैन’ यो पुरानो भनाइले हरेक मौकाको सही सदुपयोग गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।

जीवनमा विभिन्न समयमा विभिन्न मौकाहरु आइरहेको हुन्छ र जसले उपयुक्त समयमा मौकाको सदुपयोग गर्न सक्छ, त्यो मानिस सफल हुन्छ ।

सन् २०१४ मा रिलिज भएको बलिउड सुपरस्टार शाहरुख खान अभिनित फिल्म ‘ह्यापि न्यू ईयर’को एउटा संवाद छ, ‘संसारमा दुई प्रकारका मानिस हुन्छन् । बिजेता र हरुवा । सबै हरुवा मानिसले पनि उनिहरु बिजेता बन्ने एउटा मौका भने पाउँछन् ।’

फिल्मको संवादजस्तै संसारमा मानिसहरुले असफलताबाट पाठ सिक्दै आत्मविश्वास र कडा मेहनतको बलमा अर्काे मौकाको सहि सदुपयोग गर्र्दे सफलता हासिल गरेका छन् ।

‘ह्यापि न्यू ईयर’को यस संवाद जस्तै मृत्युदण्ड पाएको अपराधीलाई पनि मृत्युदण्ड दिनुभन्दा पहिला उसको अन्तिम इच्छा के छ भनेर सोध्ने चलन छ । यो अन्तिम इच्छाले उसको सम्पूर्ण गल्ती, कमीकमजोरीहरु पूरा नगरेता पनि केहि न केही सुधार भने गर्न सक्छ । प्राश्चित गर्न सक्छ, कसैसँग माफी माग्न सक्छ, आफूले गरेको गल्ती तथा कमीकमजोरीहरु अरुबाट नहोस् भनेर अरुलाई बताउन सक्छ ।

एकपटक एक राजाले एकजना व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएर उनको अन्तिम इच्छा सोध्छन् । उसले एकछिन सोचेर भन्छः महाराज, मैले घोडालाई उडाउने कला सिकेको थिएँ । मर्नुभन्दा पहिला महाराजको घोडालाई उडाउन चाहन्छु । यसको लागि घोडालाई सिकाउन ६ महिनाको समय चाहिन्छ ।’
उसको यस्तो कुरा सुनेर राजा खुसी । आफ्नो घोडा उड्न सक्यो भने आफू सर्वशक्तिमान राजा हुने ठानेर त्यो व्यक्तिलाई घोडा उडाउने अनुमति दिन्छ ।

व्यक्तिको यस्तो कुरा हल्ला भएपछि साथिभाइ, इष्टमित्रहरुले जान्दै नजानेको कला राजासामु किन भनेको होला भनेर चिन्ता व्यक्त गर्छन् । उसले आफ्नो अन्तिम इच्छाबाट आफूले ४ वटा सम्भावना देखेको बताउछन् ।

पहिलो, ६ महिनाको अवधिमा घोडा उडाउने कला सिक्ने । दोश्रो, राजा बुढा र रोगी पनि छन् ६ महिनाभित्र मर्न पनि सक्छन् । तेश्रो, आफू पनि काल गतिले नै मर्न पनि सक्ने । चौंथौंः घोडा पनि बुढो भइसकेकाले ६ महिनामा मर्न सक्ने । ‘यदि यी ४ वटै कुराहरु भएन भने पनि मैले ६ महिनाको जिन्दगी बोनसमा त पाउछु नि त’ उसले साथीभाइलाई भन्छ ।

माथिको कथाबाट मानिसले जस्तोसुकै कठिन परिस्थितिमा पनि सम्भावनाको खोजी गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ । मानिसले मृत्युको मुखमा पुगेर पनि कम्तिमा ६ महिना बढी जिन्दगी बिताउने उपायको खोजी गर्यो र बोनसमा पाएको ६ महिनामा अन्य विभिन्न सम्भावनाहरुको खोजी गर्न थाल्छन् । यदि उक्त मानिसले सम्भावनाहरुको खोजी नगरिकन हार मानेको भए उसको जीवनको अन्त्य भइहाल्थ्यो ।

भनिन्छ, जिन्दगी सम्भावनाहरुको खेल हो । त्यसैले जीवनमा धेरै सम्भावनाहरु आइरहन्छन् । यी सम्भावनाहरुको खोजी गरिरहने मानिसहरु जस्तोसुकै अप्ठ्यारा परिस्तिथिहरुलाई समेत परास्त गरेर सफलता प्राप्त गर्छन् । सम्भावनाको खोजी नगरिकन यथास्थितिमा बस्न चाहानेहरुले भने सोचेअनुसारको सफलता प्राप्त गर्न सक्दैनन् । यदि तिनीहरुले सफलता प्राप्त गरिहाले पनि लामो समयसम्म सफलतालाई टिकाउन सक्दैनन् ।

प्रायः मानिसहरुले अलि कम महत्वका, अलि कम काम लाग्ने र सस्तो चिज खेर फाल्छन् तर, यो संसारमा खेर फालिएको मौकाजस्तो महंगो बस्तु कुनै पनि हुंदैन । समय जस्तो बलवान र मौका जस्तो मूल्यवान बस्तुको महत्व नबुुझेर मानिसले ठूलो मूल्य चुकाइरहनु परेको छ । अधिकांश मानिसहरुले यसको महत्व भने मौका गइसकेपछि मात्र थाहा पांँछन् र उनिहरुसँग पछुताउने शब्दमात्र बाँकी रहन्छ ।

भनिन्छ, कुनै पनि कामको थालनी गर्ने सबैभन्दा उत्तम मौका हिजो थियो र दोश्रो उत्तम मौका आज वा अहिले हो ।

सहि मौकाको पहिचान गर्नसक्ने मानिसले कठिन परिस्थितिमा पनि राम्रो परीणाम ल्याउन सक्छ । यसलाई सरल भाषामा मौकामा चौका हान्न सक्ने भनेर पनि बुझिन्छ ।

बोलिचालिको भाषामा मानिसहरुले मौकामा चौका हान्न सक्ने मानिसलाई भाग्यमानी मानिस भन्छन् र उसले हातले फलाम नै छोए पनि सुन बन्छ भन्छन् । उसले हात हालेको ब्यापारले राम्रो गर्छ भन्छन् ।
वास्तवमा उक्त मानिस भाग्यमानी नभईक उसले लगन र उसले मौकाको सहि सदुपयोग गर्न जानेको भएर सफलता प्राप्त गर्न सफल भएको हुन्छ ।

नेपाली चलचित्र जगतका एक्शन किङ, ठुल्दाइ शिव श्रेष्ठलाई आफू नायक बन्छु भन्ने लागेको थिएन । त्यसैले, उनले चलचित्र विश्वासमा खलनायकको लागि अडिसन दिएका थिए । तर, निर्देशक प्रकाश थापाले उनलाई नायकको लागि योग्य देखे र नायकको भूमिकाको लागि प्रस्ताव गरे ।

शिव श्रेष्ठले यो आएको मौकालाई एकदमै राम्रोसँग सदुपयोग गरे र त्यसको लागि राम्रो तयारी पनि गरे । अभिनयको साथसाथमा नाच, एक्सन सबै सिके र उनि नेपाली चलचित्र उद्योगको एउटा ठूलो सुपरस्टार भएका छन् ।

शिव श्रेष्ठ जस्तै निखिल उप्रेतिले पनि चलचित्र पिंजडामा ७ तल्लाबाट हाम्फालेर साहसी नायकको परिचय देखाउन सक्ने पाएको अवसरलाई सही सदुपयोग गरेर उनि पनि एक्सन सुपरस्टार भएका थिए ।

जसरी क्रिकेटमा प्रत्येक बलले ब्याट्सम्यानको लागि चुनौतिको साथसाथै नयाँ अवसर लिएर आउँछ, फुटबलमा प्रत्येक पटक बल गुडिरहँदा चुनौतीको साथसाथै नयाँ अवसर सृजना गरिरहेको हुन्छ । मानिसको जीवनमा पनि प्रत्येक पलमा चुनौतिको साथसाथै अवसरहरु सृजना गरिरहेको हुन्छ । जुन मानिसले चुनौतिहरुलाई पन्छाएर अवसरहरुको सहि सदुपयोग गर्न सक्छ, उ जीवनमा सफल हुन्छ ।

कठिन परिस्थितिमा पनि सम्भावनाको खोजी गर्ने मानिस सफल हुन्छ । मानिस भाग्ले होइन, लगनशिलता र अवसरको सदुपयोग गर्नाले सफल बन्छ ।


डा. बुद्धि मल्ल