कृषिमा आत्मनिर्भर हुने गरी काम गर्न सरकारसँग चेम्बरको प्रस्तावः सहकार्य गरौं



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले तीन खम्बे कृषि नीति अन्र्तगत सरकारसँग सहकार्य गर्ने भएको छ ।

बाँझो जमिन उपयोगमार्फत् कृषि उत्पादन अभियान शुरु गरेको चेम्बरले सरकार, निजी क्षेत्र र सहकारीमार्फत् उत्पादनदेखि बजारीकरणसम्म सहकार्य गर्न सरकारसंग प्रस्ताव गरेको हो ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवसँग चेम्बरले आत्मनिर्भर कृषिका लागि सहकार्य गर्न प्रस्ताव गरेको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कृषि उत्पादनदेखि बजारीकरणलाई सहकारीको अवधारणामा लैजानुपर्ने बताए ।

कृषि प्रधान मुलुकमा वार्षिक ५० अर्व ५३ करोड रुपैयाँ बराबरको खाद्यन्ह आयत हुनु मुलुककै लागि दुर्भाग्य भएको मल्लले बताए ।

आफ्नै जमिन बाँझो राखेर चामल, मकै, तरकारी, फलफूल, घिउ तेल, चिनी समेत आयत गर्दा मुलुकले थेग्नै नसक्ने गरी व्यापार घाटा बढेको अध्यक्ष मल्ले बताए ।

‘सरकारले उपयुक्त लगानीको वातावरण बनाईदिने हो भने निजी क्षेत्र कृषिमा लगानी गर्न तयार छ । किसानको उत्पादन देखि बजारीकरण राज्यले साथ दिन आवश्यक छ । खेती किसानीमा लाग्ने कृषकलाई राज्यले सहुलियत ऋणसंगै अनुदानको व्यवस्था गर्न आवश्यक छ,’ उनले भने ।

कृषि क्षेत्रमा लगानी गर्नेलाई राज्यले अनुदान दिएपनि प्रभावकारी हुन नसकेको र सरकारसँग कृषि अनुदान लिएर जग्गाको कारोबार भइरहेको गुनासो बढेको उनको भनाइ छ ।

३० प्रतिशत बाँझो जमिनलाई उत्पादनमुलक क्षेत्रमा लगाउन सरकार, निजी क्षेत्र र सहकारीले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।

चेम्बरले ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायसँग सहकार्यमार्फत् कृषि उत्पादन अभियान शुरु गरेको उनको भनाइ छ ।

कार्यक्रममा कृषि मन्त्री यादवले कृषिमा उत्पादकत्व वृद्धि तथा कृषकमैत्री वातावरण बनाउन सरकार लागि परेको दाबी गरे ।
कृषिमा पर्याप्त बजेट नहुँदा पनि अपेक्षा अनुसारको काम हुन नसकेको मन्त्री यादवको भनाइ छ ।

कृषिमा तीन खम्वे अर्थनीतिका लागि आफुले पहल गरिरहेको र कृषि उत्पादनको बजार सुनिश्चितताका लागि मन्त्रालयमा काम भइरहेको मन्त्री यादवको भनाइ छ ।

कृषिकले उत्पादन गरेका वस्तुहरुको उत्पादन भण्डारणदेखि बजारीकरणसम्मको व्यवस्था सरकारले गर्नेगरी तयारी भईरहेको जानकारी दिए ।

मन्त्री यादवले पहिलो चरणमा चार प्रदेशमा कृषि उत्पादन बढाउन हरितगृह सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत बताए ।

इजरायलबाट फर्किएका युवाहरुले मन्त्री यादवसँग नेपालमा कृषि उत्पादनमा भोग्नु परेका समस्या सुनाएका थिए ।

उनीहरुले विदेशी प्रविधी तथा उन्नत जातको विऊ भित्र्याएर नेपालमा कृषि प्रवर्द्धन गर्न खोजे पनि नीतिगत झण्झटका कारण समस्या भएको गुनासो गरे ।


क्लिकमान्डु