८० वर्षअघिको गौचरन इटहरी यसरी बन्यो पूर्वकै व्यापारिक केन्द्र



तस्बिरः रमेश श्रेष्ठ

इटहरी । फागुनको मध्यतिर सूर्यका किरणको न्यानोसँगै चिया पिउँदै थिए, नन्दलाल सुवेदी । बार्दलीको खाटमा बसेर चिया पिउँदै वरपर आँखा डुलाउनु ७१ वर्षे सुवेदीको दिनचर्या हो ।

पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म जोडेको महेन्द्र राजमार्गमै सटेको छ उनको घर । घरबाट पश्चिमतिर झन्डै ६ किलोमिटरमा पर छ इटहरी सहर ।

पूर्वपश्चिम हाइवेको परसम्मको गतिविधि बार्दलीबाटै स्पष्ट देखिन्छ । रातभरी अलि शान्त रहेको हाइवेमा बिहानको झिसमिसेसँगै व्यस्तता बढिसकेको थियो ।

उत्तर फर्किएको यही बार्दलीबाट हाइवे नियाल्न थालेको झन्डै ५० वर्ष भइसकेछ । दाह्रीजुंगा फुले । छाला चाउरिँदै गयो । कोशी ब्यारेजबाट बिस्तारै अस्ताउँदै गएको घामजस्तै जवानी बुढेसकालमा परिणत भइरहेको छ ।

उमेरसँगै इटहरी सहरको तीव्ररुपमा परिवर्तित स्वरुप आफ्नै आँखाले देखेका छन्, सुवेदीले । इटहरीको तीव्र विकासको बारेमा धेरैथोरै ज्ञान राख्छन् उनी । धरान बसेर एसएलसी दिएका सुवेदी कुनै बेला हिँड्दै इटहरी आउनुपर्थ्यो ।

नन्दलाल सुवेदी

आँखै अगाडि पूर्वपश्चिम राजमार्ग बन्यो । जोगबनीबाट इटहरी, धरान, धनकुटा हुँदै किमाथान्का पुग्थ्यो अर्को बाटो सञ्चालनमा आयो ।

सुन्दरहरैंचाको फराकिलो फाँटको टुप्लुक्क बनेको एक्लो घर अब सहरमा परिणत भएको छ । जंगलले भरिएको इटहरी खाल्डो हेर्दाहेर्दै पूर्वको मुख्य व्यापारिक केन्द्र बनेको छ ।

इटहरी तीव्ररुपमा विकास भएको सहर हो । प्रदेश १ को सुनसरी जिल्लामा पर्ने इटहरी उपमहानगरपालिका दुई दशकको अवधिमा पूर्वको प्रमुख व्यापारिक केन्द्र बन्न सफल भएको छ ।

२ दशकमै इटहरी कसरी पूर्वको व्यापारिक केन्द्र बन्यो त ?

यसरी शुरु भयो बस्ती
तेह्रथुम घर भएका सुवेदीका बुबाले वि. सं. २०२० सालमा इटहरीबाट झन्डै १४ किलोमिटर दक्षिणमा पर्ने मृगौलियामा ५ विगाहा जमिन किनेका थिए ।

त्योबेला इटहरीभन्दा मृगौलिया धेरै अगाडि थियो । जग्गा पनि महंगो ।

‘मृगौलियामा एक हजारमा एक कठ्ठा जमिन आउथ्यो,’ सुवेदी भन्छन्, ‘यतातिर (इटहरी)मा त्यस्तै, ५–७ सय भारु थियो होला ।’
धरानबाट एसएलसी दिएका सुवेदी २०२३ सालमा बुबाले किनेका जग्गा हेर्न आए । बाटो बनेको थिएन । धरान–बिराटनगरको बाटोको नक्सा बन्दै थियो । उनीहरु हिँडेरै इटहरी आउँथे ।

२०२३ सालतिर इटहरी आउँदा फाट्टफुट्ट केही घर थिए । फुसको छाना भएका घरमा मधेशी समूदायहरु थिए । केही मिठाई पसलहरु पनि थिए । गाउँघरमा जस्तो सानोतिनो सामान किन्न इटहरीमा जानुपर्थ्यो ।

२०२७ सालमा सुवेदीका बुबाले घर बनाउँदा बस्ती नै थिएन त्यहाँ । मधेशी समूदायको बाहुल्यता थियो । खेतीपातीमा हात्ति लाग्थ्यो ।

इटहरी चोकमा रहेको रामकुमार सुब्बाको चारतले कोठाको घर । यो घरपछि महेन्द्र राजमार्ग बन्ने क्रममा भत्काइयो थियो । तस्बिरः रमेश बिस्ट

मान्छेहरु इटहरीमा जग्गा किन्न खासै खोज्दैनथे । बार्दलीमा बसेका सुवेदीले त्योबेलाका धेरै चोटिला प्रशंगहरु सुनाए ।
२०२५/२६ सालतिर उनका चिनजानका बसन्त सुवेदी भन्ने छिमेकी थिए ।

‘इटहरीमा एक कठ्ठा जग्गा लेउ दाई, पछि मालामाल हुन्छ,’ वसन्तले भने, ‘कठ्ठाको ६० हजार पर्छ, ल हिँड हेर्न ।’

सुवेदीले त्यो कुरा आफ्ना बुबालाई सुनाए । बाबुछोरा हिँड्दै इटहरी गए । सनपाट लगाएको इटहरीको खेत जंगलजस्तो थियो ।
इटहरी चोक पूरै खाली थियो । सुनसान । जग्गा अहिलेको इटहरी चोकमै थियो ।

‘यस्तो खाडीमा पनि कसैले जग्गा लिन्छ,’ बुबाले भने ‘बरु उतै एक डेढ विगाहा जोडौंला । धान खाने खेतले सँधै दिन्छ ।’
‘अहिले त्यही ठाउँको जग्गा प्रतिकठ्ठा ४० देखि ५० करोड पुगेको,’ उनले हाँस्दै भने ।

२०५४/५५ तिरसम्म पनि इटहरी मान्छेको रोजाइमा थिएन । इटहरी चोकदेखि धरानजाने बाटोमा साततले बिल्डिङमा गोर्खा डिपार्टमेन्ट स्टोर सञ्चालन गरेका बलराम आचार्यलाई नजिककाले त्यो ठाउँ नजानु भन्थे ।

इटहरी चोक

आचार्य त्योबेला डिपार्टमेन्ट स्टोर खोल्ने तयारीमा कुदिरहेका थिए ।

उनले चिनेका नरबहादुर श्रेष्ठ भन्ने दाई थिए ।

‘कान्छा, अन्त जहाँ गए पनि इटहरी चाही नजानु है,’ नरबहादुरले भनेको अहिले पनि सम्झन्छन् उनी ।

‘किन दाई’, बलरामले साधे ।

‘इटहरी मान्छे बस्ने ठाउँ होइन,’ नरबहादुरले भनेका थिए ।

त्योबेला बलरामले इटहरीमा जग्गा लिइसकेका थिए । डिपार्टमेन्ट स्टोर खोल्ने तयारी गर्दा इटहरीमा मुस्किलले सयवटा पनि पसल थिएनन् ।

बलराम आचार्य, सञ्चालक गोर्खा डिपार्टमेन्ट स्टोर

धेरैले उनलाई सोधेका पनि थिए, ‘बिराटनगर, धरान नगएर किन इटहरी रोजिस् ?’

‘इटहरी भोलि कुनै पनि कारण पछाडि पर्दैन,’ उनले भन्थे, ‘जक्सन हो, जक्सन कहिल्यै पनि पछाडि पर्दैन ।’

धनकुटा बाटो पुगेपछि धरानको चार्मिङ गुमेजस्तो यो हुँदैन भन्ने उनलाई लागेको थियो ।

‘मैले ठाउँ खोज्ने बेलामा इटहरी कुनै सहर नै थिएन,’ आचार्य भन्छन्, ‘चोकभन्दा माथि कुनै दोकान नै थिएनन् । यही एउटा जय नेपाल थियो र अरु एकदुईवटा पसल थिए ।’

वि.सं. २००० सालअघिसम्म इटहरीमा अधिकांश क्षेत्रमा जंगल थियो । अहिलेको वडा नम्बर ७ को गैसारमा केही घरहरु बनेका थिए । गाई धेरै पालिने भएकाले यो ठाउँलाई गैसार भनिन्थ्यो भन्ने प्रशंग ‘इतिहासमा इटहरी’ भन्ने पुस्तकमा उल्लेख छ ।

गैसार एउटा मौजा थियो । इटहरीमा यस्ता मौजा धेरै थिए ।

‘पाँच हजारभन्दा बढी गाई पालिने गैसारमा ठूलो चरनक्षेत्र र जंगल थियो,’ उक्त पुस्तकमा उल्लेख छ, ‘वन्यजन्तु प्रशस्तै हुन्थे । २०२० सालसम्म पनि चितुवाहरु गाउँघरमै आइपुग्थे ।’

असारमा धान रोपेपछि चरन क्षेत्रको अभाव हुन्थ्यो । त्यसैले गाईभैंसी चराउन महेन्द्रनगरदेखि कोसी टप्पुसम्म लगिन्थ्यो र धान नकाटुञ्जेल ल्याइँदैनथ्यो । पानी पर्ने मौसममा यहाँ पानी जम्थ्यो । त्यसैले पनि ६ महिना गाइवस्तुका लागि कोसीटप्पु सबैभन्दा राम्रो वैकल्पिक चरनक्षेत्र थियो ।

गैसारमा मानव बस्तीको शुरुवात रुपन माझीबाट भएको किताबमा उल्लेख छ । भलुवाबाट बसाइँसरी आएका उनी मोरङ्गीया थारु थिए । उनका छोरा सतनले राणाहरुबाट गच्छदारको पदवी पाएका थिए ।

२०११ सालतिर सनतको मृत्यु भयो । पछि उनका छोरा शङ्करलालले एक तह माथिल्लो जिम्मावाल पदवी पाए ।

गैसारपछि अहिलेको इटहरी ४ मा सप्तरीया थारुहरुको बस्ती थियो, जुन नरसिंह धौधरीले बसाएका थिए ।

एक समय सप्तरीको खडकपुरबाट मागी लेखी, लेखीका सन्तानहर मानपुर चौधरी, रामजी चौधरीलगायत इटहरी हँदै पूर्व जान हिँडेको प्रशंग किताबमा उल्लेख छ ।

उनीहरुलाई नरसिं चौधरीले बूढी खोला तरेर जानबाट रोके र हालको इटहरी ४ स्थित भेटघाट चोक, मनकामना मन्दिर तथा आर्मी ब्यारेकको आसपास जंगल फाँडेर बसोवास गराए ।

तीमध्ये कोही हाटखोला, कोही भुर्की, कोही डुमरटक्का, कोही अहिलेको भेटघाट चोकमा बसे । ती बस्तीको रुपमा विकास भएर पछि थर र विशेषताका आधारमा चौधरी टोल, ढेंडु टोल, दरोगा टोल आदि नामले चिनिए ।

त्यही चौधरी टोलको दक्षिणतर्फ कहीँबाट रामगोविन्द र बालगोविन्द नाम गरेका दुई तेली परिवारसमेत बस्न थाले र कोल पेल्ने पेसा शुरु गरे । वाणिज्यको क्षेत्रमा इटहरीलाई पाइला टेकाउने पहिलो व्यक्ति नै उनीहरु दुईजना भएको खोजकर्ता रमेश विष्टले इटहरी स्मारिकामा लेखेका छन् ।

२०१३ सालमा इटहरीमा पहिलो पटक आफूले साइकल ल्याएको स्थानीय गोपिनारायण चौधरीले किताबमा लेखेका छन् ।

‘पटनामा ९० रुपैयाँमा किनेको त्यो साइकल कुदाउँदा मानिसहरु छक्क पर्थे,’ चौधरीले उल्लखे गरेका छन्, ‘गच्छदारको छोरो पाउगाडी चढ्छ रे भनेर कुरा गर्थे ।’

यसकारण फैलियो इटहरी
इटहरी सहरको विकासक्रमलाई विभिन्न दृष्टिकोणबाट हेरिएको छ । आर्थिक, राजनीतिक र सामाजिक कारणहरु यसमा जोडिएका छन् ।

पहिलो प्रमुख कारण पूर्वपश्चिम हाइवे हो भने । दोस्रो कारण बिराटनगर र धरानको घट्दो आकर्षण मानिएको छ । र, तेस्रो कारण माओवादी द्वन्द्व ।

पूर्वपश्चिम हाइवेमा जोडिएका सहरहरुको विकास तीव्र भएको छ । जस्तो कि विर्तामोड, दमक, हेटौंडा, नारायणघाट, बुटबल यही रेञ्जमा सहरमा बिस्तार भइरहेको छ । पूर्वपश्चिम राजमार्गले जब इटहरीलाई जोड्यो त्यसपछि यसको विकास पनि तीव्र भयो ।

‘महेन्द्र राजमार्ग नभएको भए यहाँ तराई अहिले भारतीयको हुन्थ्यो,’ सुवेदीको बुझाइ छ, ‘राजमार्ग नभएको भए कुनै पनि ठाउँका मान्छे यहाँ आउने हिम्मत गर्दैनथे ।’

उदयपुर गाइघाट घर भएका पत्रकार गजेन्द्र बुढाथोकी पूर्वपश्चिम राजमार्ग र जोगबनीबाट धनकुटा हुँदै संखुवासभाको किमाथांका जाने जानेबाटो इटहरी आर्थिक विकासको मुख्य कारण मान्छन् । कोसी करिडोर पनि यसैमा जोडिएको छ ।

‘यी दुई बाटोले इटहरीलाई आर्थिक हबको रुपमा विकास गर्यो,’ बुढाथोकी भन्छन्, ‘पछिल्लो दुई दशकमा इटहरी पूर्वको व्यापारिक हब बनेको छ ।’

यसैवर्ष प्रकाशन गरिएको ‘इतिहासमा इटहरी’ पुस्तकले पनि इटहरीलाई सडकले बनाएको सहर भनेर उल्लेख गरेको छ ।

‘उत्तर-दक्षिण र पूर्व-पश्चिम राजमार्गको केन्द्र हुनु नै इटहरी विकासको गतिलो आधार बन्यो,’ किताबमा उल्लेख गरिएको छ ।

जब हाइवे इटहरी हुँदै गयो पहिलाका क्षेत्रीय सहरहरु बिराटनगर र धरानको आकर्षण घट्दै गयो । बिराटनगरको औद्योगिकरण खुम्चिँदै गयो भने धरानमा बस्ने लाहुरेहरु बेलायतमै बस्न थाले । धरानले आफ्नो आकर्षण जोगाइराख्न सकेन ।

‘बिराटनगर र धरानको डाउनफलसँगै मान्छेको रोजाइमा इटहरी पर्न थाल्यो,’ बुढाथोकी भन्छन्, ‘हाम्रो गाउँ गाईघाटदेखि पनि इटहरीमा जग्गा किन्ने लहर चलेको थियो ।’

इटहरीमा जनसंख्या थपिनुमा राजनीतिक कारण पनि जोडिएका छन् । मुलुकमा चलेको सशस्त्र द्वन्द्व र मधेश आन्दोलन प्रमुख कारण हुन् ।

तत्कालीन माओवादीले २०५२ सालमा सशस्त्र द्वन्द्वको शुरुवात गर्यो । त्यसले मान्छेहरु सुरक्षित ठाउँ खोज्दै सहर पस्न थाले ।

अहिल हुनेखानेहरु सशस्त्र द्वन्द्वले गाउँघरमा बस्न नसकेपछि त्यसवरिपरीका मान्छेहरु इटहरी झरे । तेह्रथुम, धनकुटा, भोजपुर, ओखलढुंगा, संखुवासभालगायतका जिल्लाबाट झर्ने पहिलो ठाउँ नै इटहरी भइदियो ।

राजनीतिसँग जोडिएको अर्को कारण २०६४ सालको मधेश आन्दोलन हो । त्यो आन्दोलनले मोरङ, सुनसरीका तराईमा अशान्ति मच्चियो । पहाडे मूलका बासिन्दाहरु असुरक्षित महशुस गरे । केही सक्नेहरु काठमाडौं गए भने धेरै इटहरी हानिए ।

इटहरी आफैंमा मिश्रित समूदाय भएको सहर थियो । पहाड र तराईबीचको सहर ।

‘द्वन्द्वका बेलामा माथिबाट (पहाड)बाट मान्छेहरु लखेटिए, सुरक्षित ठाउँ खोज्दै इटहरी झरे,’ आचार्य भन्छन्, ‘तल (मधेस)बाट पहाडिया खेदिए, बाहिर जानसक्ने काठमाडौं गए नसक्ने इटहरी आए ।’

गाउँको दुःखका कारण पनि पहाडी भेगका बासिन्दाहरु तराई झर्न शुरु भएको सुवेदी बताउँछन् । उनी सानै छँदा पहाड अनकन्टार ठाउँ थियो । धरानबाट नुनका बोरा बोकेर तेह्रथुम पुर्याउनुपथ्र्यो । जीवन कस्टकर थियो । केही धन सम्पत्ति भएकाहरुले तराईमा थोरै भए पनि जाग्गा किने र त्यत्तै झरे ।

जतिबेला इटहरीको खासै मूल्य थिएन । उनीहरुलाई इटहरी रोजाइमा परेको थियो । किनभने, त्यसबेला धरान र बिराटनगरमा जग्गा छोइनसक्नु थियो ।

पहाडका मान्छेहरु तराईलाई खेती उब्जनी हुने ठाउँको रुपमा हेर्थे । गाउँघरबाट तराई घुम्न आएका गाउँलेहरु तराईमा धानका लहलह बालादेखेर मोहित हुन्थे । पहाडमा जति गर्दा पनि नफल्ने अन्न तराईमा रहरलाग्दो देखिन्थ्यो ।

यसले पनि पहाडका व्यक्तिहरुलाई तराई झर्न प्रेरित गरेको उनको बुझाइ छ । पहाडका जमिन बेचेर तराइमा खेतिपाती गर्न झरेका छन् ।

अर्को कारण शिक्षा पनि हो । पहाडमा केही धनसम्पत्ती भएकाहरु आफ्ना छोराछोरी पढाउन नजिकको सहर झर्ने चलने पहिलेदेखिको हो । सुवेदी आफै पनि तेह्रथुमबाट पढ्नका लागि कक्षा ७ देखि धरान आए । त्यहीँ एसएलसी दिए । उनी जस्ता धेरै परिवार पहाडबाट तराई झरे । जसले गर्दा इटहरीजस्ता सहरको विकास गरायो ।

पूर्वपश्चिम हाइवेसँग जोडिएका सहरमा मिश्रित समुदाय हुँदा पनि विकासमा सहज भएको कतिपयको बुझाइ छ ।

इटहरीजस्ता राजमार्गमा जोडिएका शहरमा पहाडी, मधेसी, विभिन्न जातधर्मका मान्छे मिश्रित बसाइँ छ । इटहरीमा तेह्रधुम, धनकुटा, भोजपुर, ओखलढुंगा, संखुवासभा लगायतका जिल्लाबाट बसाइँ सरेर आएका छन् ।

इटहरीको जनसंख्या २०५५ देखि २०६५ को बीचमा तीव्ररुपमा बढेको स्थानीयहरु बताउँछन् । विभिन्न जातजाती र धर्म संस्कृति भएका व्यक्तिहरुको बसोबास भएकाले इटहरी एकप्रकारको मानव बगैंचा हो भन्दा पनि फरक पर्दैन ।

आधुनिक इटहरी
२०५४ मा नगरपालिका बनेको इटहरी उपमहानगरपालिका बनिसकेको मुलुकको आधुनिक सहर हो ।

१ लाख ५७ हजार जनसंख्या भएको सहरमा अहिले १२ सय होलसेल पसलमात्र रहेको आचार्य बताउँछन् । यो ट्रेडिङ हब बनिसकेको छ । दक्षिणमा खनारदेखि उद्योगहरु जोडिन्छन् ।

इटहरीका लागि राम्रो पक्ष भनेको यसको विकास र विस्तारको लागि अझ धेरै ठाउँ छ । इटहरीदेखि पश्चिममा कोशीसम्म, पूर्व बेलबारीसम्म र दक्षिणमा बिराटनगरसम्म फैलिएको छ । यसले गर्दा भविष्यमा अझ ठूलो बन्ने सम्भावना देखिन्छ ।

कोशी ब्यारेजको भविष्य र रेलमार्ग इटहरीको भविष्यसँग जोडिएका विषय भएको आचार्य बताउँछन् ।

इटहरीलाई ठूलो फरक पार्ने भनेको कोसी ब्यारेजले हो । जुन पुलको समय सकिँदैछ । समय सकिएपछि, त्यस्तै ब्यारेज वरपर बन्नेछ । नयाँ बनेमा चतराभन्दा माथि त जाँदैन । चतरा भन्नु पनि इटहरी नै हो ।

पूर्वपश्चिम रेल मार्गको एलाइनेमन्टको काम पनि भइरहेको छ । त्यसले इटहरीलाई छोला कि नछोला भन्नेमा यसको भविष्य छोडिएको छ । रेलमार्ग जाने भनेको तरहरा वा खनारबाट हो । यी ठाउँ पनि इटहरी नै हुन् । अहिले खनारबाट सर्भे भएको छ ।
सुविधाको हिसाबले इटहरी सम्पन्न छ । तर, यहाँको सबैभन्दा ठूलो समस्या भनेको राम्रो अस्पतालको अभाव हो भन्छन् आचार्य ।

अझै पनि इटहरीका बासिन्दाहरु राम्रो स्वास्थ सेवा लिनका लागि धरान वा बिराटनगर पुग्नुपर्ने बाध्यता छ ।

‘यहाँ स्वास्थ्य सेवा राम्रो बनाउनुपर्ने अहिलेको आवश्यकता हो,’ आचार्य भन्छन्, ‘त्यसका लागि हामीले केही प्रयास गरिरहेका छौं । इटहरीमा मेडिकल व्यसायको ठूलो अवसर छ ।’

अमेरिकामा बस्ने एक साथीसँग इटहरीमा मेडिकल अस्पताल खोल्ने विषयमा विषयमा छलफल भइरहेको आचार्य बताउँछन् । अरु धेरै मिलेर यसमा केही गरौं भनेर कुरा अगाडि बढाएको उनले बताए ।

अन्य क्षेत्रहरुमा भने इटहरीको विकास राम्रो छ । खानेपानी, शिक्षा, सुरक्षाका सहिसबले राम्रो छ । पहिला गण थियो । २०५८ सालमा पृतना आयो । तीन चार महिनाअघि भने बाहिनी आएको छ ।

सबै पक्षबाट सम्पन्न इटहरीलाई भविष्यको पूर्वको मुख्य व्यापारिक केन्द्रमा स्थापित हुने इटहरीबासीको विश्वास छ । जसलाई बलपुर्याइरहेको छ पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्गले ।


सन्तोष न्यौपाने