जर्जिया लगानी र पर्यटन प्रबर्धनमा सहकार्य गर्न इच्छुक



काठमाडौं । जर्जियाले नेपालमा पर्यटन र लगानी प्रवद्र्धनमा सहकार्य गर्ने भएका छन् । नेपाल भ्रमणमा रहेका भारतका लागि जर्जियाका राजदूत अर्चिल जुलियाशभिलीले दुई देशबीचको आर्थिक सहकार्य विस्तारमा जोड दिए ।

नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा राजदूत जुलियाशभिलीले नेपाल भ्रमणमा आउन धेरै जर्जियाली नागरिक इच्छुक रहेको बताए । ‘नेपालमा पर्वतारोहणका लागि धेरै जर्जियाली नागरिक ईच्छुक छन्,’ उनले भने, ‘हामीले पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न सक्छौँ ।’

उनले नेपाल उद्योग परिसंघ र जर्जियाको निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी नेपालमा लगानी प्रवद्र्धनमा सहकार्य गर्न सकिनेमा पनि जोड दिए । जर्जियालाई नेपालमा उत्पादन हुने वस्तुहरुको निर्यात गन्तव्यको रुपमा विकास गर्न सकिने उनले बताए ।

छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युत र पर्यटन क्षेत्रमा अपार लगानी संभावना रहेकाले जर्जिया र अन्य युरोपेली देशका लगानीकर्ताले यहाँ लगानी गर्न सक्ने बताए । उनले नेपाली हस्तकला, गलैँचा र कपडान्य उत्पादनको राम्रो निर्यात गन्तव्य बनाउन आपसी सहकार्यमा राजदूत जुलियाशभिलीलाई आग्रह गरे ।

अध्यक्ष अग्रवालले कोभिड-१९ को प्रभाव कम हुँदै गएको नेपाली अर्थतन्त्रको शीघ्र पुनरोत्थानका लागि आन्तरिकसँगै बाह्य लगानी आवश्यक रहेको उल्लेख गरे । उनले नेपालमा लगानीका लागि जर्जियाली लगानीकर्तालाई उत्प्रेरित गर्न पनि राजदूत जुलियाशभिलीलाई आग्रह गरे ।

भेटका क्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपाल र भारतबीच भएको व्यापार सन्धीअनुसार नेपालमा उत्पादन हुने वस्तुहरु भन्सार छुटको सुविधामा भारत प्रवेश गर्न सक्ने भन्दै नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले बजारको चिन्ता लिनु नपर्ने बताए ।


क्लिकमान्डु