काठमाडौंमा बसेर भारतीयलाई अनलाइनमार्फत् ऋण दिने चिनियाँ गिरोह, यस्तो छ नालिबेली



काठमाडौं । महानगरीय प्रहरी परिसर टेकुका एसएसपी सुदीप गिरीलाई डिसेम्बरको अन्तिममा एउटा टिप्स मिल्यो । टिप्स अर्थात् सूचना ।

‘उपत्यकामा अनलाइनबाट ठग्ने अर्को गिरोह पनि निकै सक्रिय छ ।’

त्यसअघि प्रहरीले कीर्तिपुरबाट क्रिप्टोकरेन्सीको कारोबार गर्ने एउटा गिरोहलाई पक्राउ गरिसकेको थियो ।

गिरीलाई लाग्यो, यो पनि त्यस्तै प्रकृतिको होला । उनले अभियान नै चलाए ।

परिसरका एसएसपी गिरी, एसपी दिनेशराज मैनालीसहितको टीम नयाँ समूहको खोजीमा लाग्यो । यसका लागि प्रहरीले हर सम्भवका उपाय अपनायो ।

अन्ततः प्रहरीले गत फागनु ९ गते नयाँ बानेश्वरको एउटा घरबाट चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गर्यो । त्यसको २ दिन अर्थात् फागुन ११ गते सोही प्रकृतिको विद्युतीय कारोबारमा संलग्न भएकाे सूचनाका आधारमा भक्तपुरबाट चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित ७० जनालाई प्रहरी पक्राउ गरेको थियो ।

यसरी २ दिनमै १ सयभन्दा बढी अवैध अनलाइन कारोबारमा संलग्नलाई प्रहरीले पक्राउ गर्यो ।

पक्राउपछि अनुसन्धान गर्दै जाँदा उनीहरु क्रिप्टोकरेन्सी तथा अनलाइन गेमिङ जस्ता कारोबारमा नभइ अनलाइनबाट ऋण दिने जमात रहेको प्रहरीले पत्ता लगायो ।

‘यो हाम्रा लागि नौलो थियो,’ एसएसपी सुदीप गिरीले क्लिकमाण्डूसँग भने, ‘हामीले पछिल्लो समयमा उपत्यकालगायत नेपालका विभिन्न स्थानमा सक्रिय गिरोह जस्तो लागेको थियो तर त्यो अलिक भिन्न रहेछ ।’

पक्राउ परेका चिनियाँ र नेपाली नागरिकहरुले नेपालमा कम्पनी खडा गरी अवैध कल सेन्टरमार्फत् भारतीय नागरिकसँग कारोबार गर्दथे ।

‘प्रारम्भिक अनुसन्धानमा उनीहरुले नेपालीहरुसँग कारोबार गरेको देखिन्न, तर यहाँबाट भारतीय नागरिकहरुसँग कारोबार गरेको देखियो,’ उनले भने ।

उनीहरु शुरुमा ऋणको जालोमा फसाउने र चर्को ब्याजबाट आम्दानी गर्ने रणनीति अनुसार काम गरेका थिए ।

‘एपबाट बिना धितो चर्को ब्याजमा त्यो पनि केही हजार भारु ऋण लिने व्यक्तिको आर्थिक अवस्था सामान्य नै हुने भइहाल्यो,’ गिरीले भने, ‘यदि उनीहरुले ऋण तिरेनन् भने सामाजिक बेइज्जत गर्ने भन्दै थर्काउँदा भारतमा ७ जनाले आत्महत्या गरिसकेका रहेछन् ।’

शुरुमा ऋण दिने, पछि टर्चर दिने
प्रहरीको अनुसन्धानमा चिनियाँ र भारतीय नागरिकहरु मिलेर मोबाइल एपमार्फत् भारतीय नागरिकहरुलाई निश्चित समयका लागि ऋण दिने र ऋण नउठे टर्चर समेत दिने गरेको पाइएको छ ।

उनीहरुले कल सेन्टरमा काम गर्ने भन्दै नेपाली कामदार भर्ना गर्ने र यहाँबाट मोबाइल एपमार्फत् ऋण दिने र ऋण उठाउने काम गर्दै आएका थिए ।

‘नेपालीहरु यो कारोबारबाट पीडित भएको देखिएको छैन, उनीहरुले नेपालबाट काम गर्न सजिलो हुने भएकाले नेपाललाई कार्यस्थल बनाएको देखिएको हो,’ महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले भने ।

कसरी गर्थे काम ?
प्रहरीका अनुसार नेपालमा अवैध अनलाइन कारोबारमा कम्तीमा १० हजार व्यक्ति संलग्न छन् । कल सेन्टरको आडमा उनीहरुले अनलाइनबाट ठगी गर्ने वा अवैध काम गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनीहरुले ऋण दिनका लागि मोबाइल एप ‘रुपिज स्टार’को प्रयोग गर्दथे । जुन एप भारतमा कानूनी मान्यता प्राप्त गरेको छ ।

ग्राहकले एपमा लगइन गरेपछि केवाईसी भर्नुपर्थ्यो । त्यसका लागि आधार तथा रासन कार्ड अपलोड गरेपछि फेसबुक, भाइबर तथा ह्वाट्सएप पनि लिंक गर्नुपर्थ्यो । त्यसपछि एपमार्फत् उनीहरुसँग ग्राहकका सम्पूर्ण विवरण, फोन नम्बरदेखि सबै खाले विवरणमा एक्सेस हुन्थ्यो ।

उनीहरुले यसका लागि काठमाडौंको ज्ञानेश्वरमा स्काई वर्ल्ड नामक कम्पनी स्थापना गरी कारोबार शुरु गर्न लागेका थिए । कम्पनीले विभिन्न ७ वटा शाखा कार्यालय स्थापना गरी २५ सयसम्म कर्मचारी जोडिएको प्रहरीको भनाइ छ । त्यो एपबाट लाइभ क्यास, फ्रि क्यास भनेर निकै कम अवधिका लागि ऋण दिने र १५ देखि ३५ प्रतिशतसम्म ब्याज असुल्थे ।

‘उनीहरु शुरुमा एप प्रयोगकर्तालाई ऋण चाहियो भनेर म्यासेज पठाउँथे । यसरी ग्राहक ऋण लिनका लागि तयार भएमा १ सातादेखि २ सातासम्मको अवधिमा ३ हजारदेखि २० हजार भारुसम्म अनलाइनबाटै ऋण उपलब्ध गराउँथे,’ एसपी मैनालीले भने ।

उनीहरुले ऋणीलाई प्रत्यक्ष भेटेका छैनन् । तै पनि सानो सानो रकमले दैनिक गर्जो टार्न समस्या पर्नेहरुलाई खोजी खोजी कर्जा दिन्थे । त्यसका लागि सुरक्षित स्थान भनेर काठमाडौंलाई रोजेका थिए ।

चिनियाँले किन रोजे नेपाल ?
लगानी गर्ने चिनियाँ, ऋण लिने भारतीय नागरिक । तर कम्पनी खोलिएको छ नेपालमा । त्यो पनि नेपाली व्यक्तिको नाममा । कामदार पनि नेपाली नै छन् । यो कारोबारमार्फत नेपालीको पैसा बाहिर जाने पनि होइन । तै पनि भारतीयलाई ऋण दिन किन चिनियाँले नेपाली रोज्यो त ?

अनुसन्धानको क्रममा प्रहरीलाई पनि यो विषय निकै खड्कियो । भारतीय बैंक खातामा पैसा जाने तर नेपालमा कम्पनी किन ?
उनीहरुले तुलनात्मक रुपमा कम मूल्यमै नेपाली जनशक्ति प्रयोग गर्न पाएपछि नेपाल रोजेका रहेछन् ।

कारोबार यतिसम्म गोप्य हुन्थ्यो कि कर्मचारी स्वयम्लाई म के काम गर्दैछु भन्ने समेत थाहा नभएको पाइयो । उनीहरुलाई जे अह्याइन्थ्यो । उनीहरु त्यही गर्दथे ।

प्रहरीका अनुसार उनीहरुले नेपालको एक वाणिज्य बैंकमा खाता पनि खोलेका थिए भने बैंकिङ प्रणालीबाटै कर्मचारीलाई तबल खुवाउथे ।

ऋण असुल्ने तरिका
ऋण दिएको अवधि एक साता छ भने एक साता पुग्नुभन्दा एक दिनअघि अलर्ट म्यासेज पठाइन्थ्यो । नेपाली कर्मचारीहरुले यही काम गर्दथे । अर्थात् ऋण असुलीका लागि म्यासेज पठाउने र आवश्यक परे हिन्दी भाषामा उनीहरुलाई चेतावनी दिए । यो पनि सिलसिलेवार रुपमा । अर्थात् शुरुमा नरम हुँदै चर्को भाषा प्रयोग गर्ने ।।

पैसा उठाउन कोड भाषाको प्रयोग
मानौंं ७ दिनका लागि पैसा ऋण वा सापटीको रुपमा दिने गरिन्छ ।

७ दिनका लागि कुनै भारतीय नागरिकले कर्जा लिएको छ भने नेपालको कल सेन्टरमा काम गर्ने कर्मचारीले समय समयमा फोन तथा सन्देशमार्फत् ऋण तिर्नको लागि सम्झाउने, निर्देशन दिने र थर्काउनेसम्म गर्छन् । प्रक्रिया यस्तो थियो ।

टी-वान
यो पहिलो अलर्टका लागि प्रयोग गरिने कोड हो । ७ दिनका लागि ऋण दिएको छ भने छैटौं दिनमा ऋणीलाई कल सेन्टरबाट रिमाइन्डरबाट फोन गर्ने । जसलाई उनीहरु टी वान भन्थे । पहिलो पटक कर्जा लिएको तिर्ने अवधि भोलि सकिँदैछ, समयमै तिर्नु होला भन्थे । म्यासेजमा उनीहरु ‘लोन चुक्ता करनेके लिए आपका एक दिन बाँकी हे, कल वापास करो’ लेख्थे । सबैलाई पठाउने म्यासेज नै यही हुन्थ्यो ।

टी-जिरो
टी–जिरो अर्थात् अवधि सकिएको भोलिपल्ट पठाउने म्यासेज । जसले पैसा तिर्नुपर्ने हो, त्यो दिन अर्थात् सातौ दिनका पैसा नतिरेको खण्डमा ८औं दिनमा सम्पर्क गर्ने समयमै पैसा तिर्नुहोस् भन्दै नरम भाषा प्रयोग गर्ने ।

एस-वान
एस–वान भन्नाले ऋण तिर्ने समय सकिएपछिको ७औं दिन । ७औं दिनमा पनि किन ऋण नतिरेको भनेर फोन गर्ने थर्काउने, धम्क्याउने, तेरो सबै विवरण हामीसँग छ, पैसा तत्काल तिर्ने भए तिर होइन भने हामी तिम्रो व्यक्तिगत विवरण सार्वजनिक गर्छौ भन्ने ।

एस-टू
एस–टू अर्थात् ऋण तिर्ने समय सकिएपछिको १७औं दिनमा प्रयोग गर्ने कोड । त्यति गर्दा पनि पैसा नआए एनएक्स कल सिस्टम भन्ने सफ्टवयर र ह्वाट्सएपबाट फोन गर्ने र थर्काएको, धम्क्याएको भरमा पैसा तिर्न बाध्य पार्ने उनीहरुको रणनीति थियो ।

यो भनेको वित्तीय अपराधको नयाँ तरिका पनि हो । सुरुमा छोटो समयको लागि कर्जा चाहिएको छ भने यो एपको प्रयोग गर्नुहोस भन्ने । एप इन्स्टल गरेर सबै विवरण भरेपछि अवैध रुपमा कर्जा लिने दिने गरिएको छ । र पछि कर्जा लिनेलाई विभिन्न माध्यमबाट सम्पर्क गरेर हैरानी दिने गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

यस्तो कार्यमा संलग्नहरुले डेस्कटप कम्प्युटर, थान ल्याप्टप र आइप्याड विभिन्न नम्बरको फोन प्रयोग गर्ने गरेका छन् । नेपालका कल सेन्टरमा काम गर्नेहरुले तलब भने मेगा बैंकको खातामा पाउने गरेका थिए । यो एप नेपालमा भने चल्दैन ।

प्रहरीले गरेको अध्ययनले भारतमा यस्तै कर्जाको कारण २० जनाले आत्महत्या समेत गरेको पाइएको छ ।

समयमै पक्राउ पर्दा धेरै समय चलेन

नेपालमा बसेर भारतीयलाई धेरै ठग्ने योजना भए पनि उनीहरु नेपालमा शुरुवाती चरणमा थिए । डिसेम्बर तेस्रो साता कम्पनी खुल्यो । कम्पनी खोलेपछि कल सेन्टरका लागि भन्दै कर्मचारी मागियो । कर्मचारी भर्ना गरेर काम पनि शुरु भएको केही दिनमै उनीहरु पक्राउ परिहाले ।

जब प्रहरीले कल सेन्टरमा छापा मार्यो । त्यो बेला केही कर्मचारी भर्खरै भर्ना भएका थिए भने केहीको तलब आउने बेला भएका कर्मचारी थिए ।

परिसरका एसपी मैनालीका अनुसार पक्राउ परेका केही कर्मचारीहरुले त आफूलाई कम्पनी कस्तो हो ? के काम गर्छ भनेर थाहा पनि नपाउँदै पक्राउ परेको वयान दिएका छन् । केही कर्मचारीहरु प्लस टु पढ्दै गरेका र पकेट खर्चका लागि जागिर खान आएको बताएका थिए ।


सोभित थपलिया