२५ करोड लगानीमा च्याउ उत्पादन गर्दै न्यौपाने, ६० जनालाई रोजगारी, दैनिक २५ सय केजी उत्पादन



काठमाडौ । पारिवारिक पृष्ठभूमि राजनीतिक भए पनि पाल्पाका दीपक न्यौपानेलाई त्यसप्रति भने रुचि थिएन । मोह थिएन ।

उनी बुबाको राजनीतिभन्दा बढी आमाले गर्ने कृषिबाट प्रेरित थिए । र, नेपालमै गर्न सकिन्छ र कृषिमै गर्न सकिन्छ भन्ने दृढ विश्वास थियो ।

कृषिमा केही गर्नुपर्छ भन्ने सोचको प्रतिफल न्यौपानेले नवलपरासीको गैँडाकोटमा च्याउ खेती शुरु गरेका छन् ।

व्यवसायिक कामका सिलसिलामा २०७३ साल तिर उनी पहिलो पटक चीन पुगेका थिए । त्यहाँ बस्दा न्यौपानेले उच्च प्रविधिबाट कृषिजन्य वस्तु उत्पादन गरेको देखे । त्यसमध्ये धेरैको स्वाद लिए । धेरैमध्येको एक च्याउको स्वाद उनको जिब्रोमै झुण्डियो ।

‘यही स्वाद नेपालीलाई पनि चखाउन पाए गज्जब हुने थियो,’ उनले सोचे, ‘यसैको प्रयासमा च्याउ खेतीमा लागियो ।’

चीनमा उनीसँगै अन्य २ जना साथी पनि थिए । उनीहरूले पहिलो पटक च्याउको स्वाद लिएर फर्के । दोस्रो पटकको भ्रमणमा स्वादसँगै च्याउ खेती सम्बन्धी खेती अवलोकन गर्ने मौका समेत पाए ।

बिना कुनै झन्झट एउटै स्थान, एउटै मौसममा विभिन्न कृषिजन्य वस्तु उत्पादन गरेको देखे । उक्त भ्रमणबाटै नेपालमा कसरी प्रविधिको च्याउ उत्पादन गर्न सकिन्छ भनेर त्यसपछि उनलेल अध्ययन शुरु गरे ।

त्यसपछि उनले चीनमा च्याउ उत्पादनमा प्रयोग हुने प्रविधिबारे २ वर्ष अध्ययन गरे । उनले २०७४ र २०७५ सम्म च्याउबारे अध्ययन मात्रै गरेपछि ०७६ सालमा व्यावसायिक खेती गर्ने निधो समेत गरे । तर यसका लागि प्राविधिक जनशक्ति चाहिन्थ्यो । चीनबाट प्राविधिक जनशक्ति ल्याउन सम्झौता समेत गरे ।

अहिले उनले नवलपरासीको गैडाकोटमा नेपालकै ठूलो च्याउ उत्पादन कम्पनी ‘एनसी एग्रो टेक इन्डिस्ट्रिज प्रालि’ शुरु गरेका छन् । यसका उनलाई अन्य ८ जना साथीहरुले साथ दिएका छन् ।

च्याउ खेती गर्न आवश्यक प्रविधिको आयात तथा व्यवस्थापन गरे । उनी र उनको टीमले यसका लागि शुरुवाती चरणमै २५ करोड रुपैयाँ खर्चिए ।

२०७४ सालदेखि अध्ययन तथा व्यवस्थापन गर्न शुरु गरेको कम्पनीले उत्पादन भने हालै शुरु गरेको हो । कोभिडका कारण मेसिन तथा आवश्यक प्रविधि समयमै आइ नपुग्दा उत्पादन गर्न ढिला भएको उनी बताउँछन् ।

‘कोभिड नआएको भए एक वर्षअघिदेखि नै सञ्चालन हुन्थ्यो । कोभिडका कारण पछि धकेलियो,’ उनले भने ।

नेपालमा धेरैले च्याउ उत्पादन गरेका छन् । तर, उच्च प्रविधियुक्त प्रयोग भएर च्याउ उत्पादन गर्ने पहिलो कम्पनी बनेको उनको दाबी छ । नेपालमा खपत हुने अधिकांश च्याउ आयात गर्नुपर्ने अवस्था छ । त्यसैले, आफ्नै देशमा उत्पादन गर्दा आयात कम हुने उनको भनाइ छ ।

‘अहिले बजारमा पाउने अधिकांश च्याउ आयातित छ,’ उनले भने, ‘त्यसैले, हामीले नयाँ ढङ्गबाट च्याउ खेती उत्पादन गरिरहेका छौं ।’

उनले च्याउ उत्पादन गर्नकै लागि दक्ष कामदार चीनबाटै ल्याएका छन् । शुरुवातीमा च्याउबारे कुनै पनि आइडिया नभएकाले चिनियाँ नागरिकबाटै नेपालमा उद्योग सञ्चालन गर्न सम्पूर्ण तयारी गरेको उनको भनाइ छ ।

‘नेपालमा च्याउबारे अध्ययन गरे । उत्पादन गर्ने निर्णय गरेपछि चिनियाँ कामदारको सहयोगमा सबै व्यवस्थापन गरे,’ उनले भने ।

मेसिनदेखि उत्पादनका लागि खटिएको चिनियाँ नागरिकले नै अहिलेसम्म पनि उत्पादनका लागि सहयोग गरिरहेका छन् ।

शिक्षकदेखि च्याउ खेतीसम्मको यात्रा
उनलाई कृषि उत्पादन क्षेत्रमा निकै रुचि थियो । तर, समय परिस्थितिले भने साथ नदिएको उनी सुनाउँछन् । एसएलसी पास हुने वित्तिकै ट्युसन पढाउन शुरु गरेका उनले नवलपरासीबाट एसएलसी र पाल्पाबाट प्लटुको अध्ययन पूरा गरे । प्लस टुको अध्ययन सकिएपछि उनी अध्यापनमा व्यस्त भए ।

‘परीक्षा दिएर नतिजाको पखाईमा हुँदा मैले विद्यार्थीहरूलाई डेढ वर्ष पढाए,’ उनले विगत सम्झिए । स्नातकमा बीबीएस पढ्न उनी भैरहवा पुगे ।

कामसँगै पढाइ गर्दै आएका उनले आफ्नो जीवनको उर्जाशिल समय निजी कम्पनीमा बिताए । तर उनले शिक्षणसँगै ४ वर्ष अडिटरका रुपमा काम समेत गरे । त्यसपछिका १० वर्ष निजी क्षेत्रमा १० वर्षसम्म व्यवस्थापकका रुपमा बिताए ।

तर निजी कम्पनीमा व्यवस्थापकको जिम्मेवारीले उनलाई चित्त बुझेन । आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । १० वर्षे व्यवस्थापनको अनुभवलाई व्यवसायमा जोडेर आफ्नै व्यवसाय गर्ने सोच लिएर उनी २०७० सालमा काठमाडौं हानिए ।

‘उद्योग व्यवसाय गर्ने भनेर काठमाडौं त आइयो तर के गर्ने ? केही आइडिया थिएन,’ उनले भने । काठमाडौं आइसकेपछि के गर्दा उचित होला भनेर कैयनसँग आइडिया पनि लिए ।

‘मैले अध्ययन गरेर कुनै व्यवसाय गरेको थिएन,’ उनले भने, ‘साथीहरूको सहयोगमा गार्मेन्ट खोल्ने निधो गरियो,’ उनले भने ।

उनले ५० लाख लगानीमा ‘रिस्ता एण्ड अप्रिना इम्पोरियम’ नामक गार्मेन्ट कम्पनी शुरु गरे । विशेषगरी स्कुल तथा कलेजलाई केन्द्रित गरेर स्थापना गरिएको गार्मेन्ट उद्योगमा अपेक्षाकृत सफलता हात परेन । गार्मेन्ट उद्योगबाट तीतो अनुभव बटुले ।

‘मलाई गार्मेन्ट उद्योगबारे धेरै ज्ञान थिएन । तर, लगानी गरेपछि मात्रै धेरै समस्याबारे थाहा भयो,’ उनी भन्छन् ।

गार्मेन्ट शुरु भएपछिको व्यवसायमा भूकम्पले धक्का दियो । भूकम्पले दिएको घाउ नमेटिँदै नाकाबन्दीले अर्को चोट थप्यो ।

‘नाकाबन्दीका कारण डिजेल, पेट्रोल पाइएन । लोडसेडिङ हुने बेलामा जेनेरेटरबाट उद्योग चलाउन नसक्दा मन्दीतिर भासिँदै गयो,’ उनले भने ।

त्यो समयमा कामदारलाई खाना पकाउन आवश्यक ग्याँस नै भएन । महंगी बढ्दै जाँदा काठमाडौंमा टिकिराख्ने अवस्था भएन । आर्थिक मन्दीको भार थेग्न नसक्ने अवस्था आयो ।

गार्मेन्ट उत्पादनका लागि अधिकांश कच्चा पदार्थ विदेशबाट आयात गर्नुपथ्र्यो । त्यसै सिलसिलामा उनी कैयन पटक चीन पुगे । गार्मेन्ट उद्योग चलाउन चीन जाने क्रममै उनले च्याउ खेतीबारे ज्ञान लिने मौका पाएका थिए । त्यस्तै, अहिले पनि गार्मेन्ट उद्योग पनि सञ्चालनको अवस्थामै छ । तर, विगतको तुलनामा निकै कम उत्पादन भइरहेको छ ।

‘कोरोनाले गर्दा ब्यागको माग आएन । अहिले कम्पनीले ब्यागसँगै क्याप उत्पादनमा जोड दिएको छ,’ उनले भने ।

दैनिक २५ सय केजी उत्पादन
करिब ४ वर्षअघि च्याउ खेती उत्पादन गर्ने तयारी गरे पनि कम्पनीले ट्रायलको रुपमा उत्पादन शुरु गरेको ७ महिना मात्रै भएको छ । उत्पादित च्याउ बिक्री वितरण गर्न थालेको जम्मा ४ महिना मात्रै भयो ।

अहिले कम्पनीले दैनिक २५ सय केजीको हाराहारीमा एनसी ब्रान्डमा ‘किङ्ग ओइस्टर’ च्याउ उत्पादन गरिरहेका छन् । यो नेपाली बजारका लागि नौलो जातको च्याउ हो ।

कम्पनीले शुरुवाती चरण भएकाले दैनिक २५ सय केजी उत्पादन गरिरहेको छ । आगामी दिनमा बजार बिस्तार गर्दै दैनिक ४ हजार केजी उत्पादन गर्ने कम्पनीको लक्ष्य राखेको छ । कम्पनीमा हाल २ जना चिनियाँ कामदारसहित अन्य ६०/७० जनाले रोजगारी पाएका छन् ।

हाल कम्पनीले दैनिक रुपमा उत्पादन गरिरहेको च्याउ नेपालको ठूला–ठूला सहरमा बिक्री वितरण गरिरहेको छ । उत्पादित च्याउको ५० प्रतिशत काठमाडौंमा आउने गरेको उनले बताए ।

पूर्णरुपमा अर्ग्यानिक
न्यौपानेले च्याउ उत्पादनमा कुनै रासायनिक मलको प्रयोग नगरिएको र यो पूर्णरुपमा अर्ग्यानिक भएको न्यौपानेको भनाइ छ ।
उनले काठको धुलो, चिनी मिलबाट निस्कने बकास, मकैको खोया, पिना, छोकर, मकैको पिठो र गहुँको पिठो बढी प्रयोग हुन्छ । कम्पनीले कोल्ड रुममार्फत् प्रविधि प्रयोग गरेर ३६५ दिनमै उत्पादन गर्न सक्ने उनले बताए ।

कम्पनीद्वारा उत्पादित च्याउको मूल्य ब्रोइलर कुखुराको मूल्य सरह छ ।

‘हाम्रो मुख्य उद्देश्य भनेको सबैले खान सक्ने क्षमताअनुसारको च्याउ उत्पादन गर्नु हो,’ उनले भने ।

५० करोडको कम्पनी बनाउने लक्ष्य
न्यौपानेसहित अन्य ८ जनाले च्याउ उत्पादनमा जोड दिएका लगानीकर्ताको एउटै उद्देश्य छ, ५० करोडको कम्पनी खडा गर्ने ।
कम्पनीले शुरुमै २५ करोड लगानी गरिसकेकाले आगामी दिनमा बजार बिस्तार गर्दै कम्पनीलाई ५० करोडको मूल्याङ्कनमा लैजाने तयारी गरेको छ ।

‘हामीले कम्पनीलाई ५० करोड रुपैयाँ बनाउने तयारीका साथ अगाडि बढेका छौं,’ उनले भने, ‘सोही अनुरुप विभिन्न प्रविधिको प्रयोग गरेर विभिन्न प्रकारका च्याउ उत्पादन गर्ने लक्ष्य छ ।’

कम्पनीले अहिले एउटा मात्रै प्रकारको च्याउ उत्पादन गरिरहेको छ । आगामी दिनमा उत्पादन गर्न सक्ने सबै खालको च्याउ उत्पादन गर्ने लक्ष्य समेत लिएको छ ।

‘अबको केही समयमा नेपालमै पहिलो पटक इनोकी च्याउ उत्पादन हुनेछ,’ उनले भने ।

त्यसैगरी, आगामी दिनमा उत्पादन भइसके पछि आउने फोहोरलाई कम्पोस्ट मल बनाउने कम्पनीपको योजना छ ।

‘च्याउ टिपिसकेपछि वेस्टेज निस्कन्छ, त्यसलाई कम्पोस्ट मल बनाएर बिक्री गर्ने गरी तयारी शुरु गरेका छौं,’ उनले भने ।

कम्पोस्ट मल बनाउन सरकारले सहयोग गरे ५० करोडको कम्पनी सजिलै खडा हुने उनको भनाइ छ ।


अरिष्मा मोक्तान