एनसेलको कुल आम्दानी ४१ अर्ब ४५ करोड



काठमाडौं । निजी क्षेत्रको अग्रहणी मोबाइल सेवा प्रदायक एनसेलको आम्दानीमा सामान्य घटेको छ । गत वर्ष सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा १.१ प्रतिशतले घटेको हो ।

एनसेलको मुख्य लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले प्रकाशन गरेको सन् २०२१ को वित्तीय विवरणअनुसार उसले गत वर्ष कुल ४१ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ ।
एनसेलको त्यसअघिको वर्ष सन् २०२० मा भने उसको आम्दानी ४१ अर्ब ९२ करोड ८० लाख रुपैयाँ थियो ।

दुई वर्षदेखिको कोरोना संक्रमण तथा लकडाउन र टेलिकम क्षेत्रमा रहेको चर्को प्रतिस्पर्धाका कारण आम्दानीमा गिरावट आएको आजियाटाले जनाएको छ ।
‘लकडाउन र चर्को प्रतिस्पर्धाको कारण एनेसलको रेभिन्युमा प्रेसर आएको छ,’ आजियाटाले भनेको छ ।

एनसेलले डाटाबाट हुने आम्दानी बढाएको छ । यस वर्ष कुल आम्दानीको २७ प्रतिशत डाटाबाट भएको छ । गत वर्ष भने उसको कुल आम्दानीको २४ प्रतिशतमात्र डाटाबाट आम्दानी थियो ।

एनसेलले कर, व्याज र अन्य खर्चअघिको (इबीआइटीडीए) भने २४ अर्ब ११ करोड १० लाख रुपैयाँ रहेको छ । यस्तो मार्जिन ५८.२ प्रतिशत रहेको छ ।
एनसेलको कुल आम्दानीको सञ्चालन खर्च ४१.८ प्रतिशत रहेको जनाएको छ ।

आजियाटाको विवरणअनुसार एनसेलका गत वर्षका ग्राहक १ करोड ६८ लाख ४२ हजार पुगेका थिए । जसमध्ये ५३.९ प्रतिशतले डाटा प्रयोग गरिरहेका छन् । यी ग्राहकले प्रति महिना प्रति ग्राहक ३ हजार ३ सय ११ एमबी डाटा प्रयोग गरिरहेको आजियाटाको रिपोर्टमा उल्लेख छ ।


क्लिकमान्डु