एमसीसी संसदमा टेबलः सिएनआइले गर्यो स्वागत, अर्थतन्त्र गुणात्मक वृद्धिको अपेक्षा



काठमाडौं । सरकारले प्रतिनिधिसभाको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिस) टेबल गरेपछि उद्योग परिसंघले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

संसदमा टेबल भएसँगै संसदबाट अनुमोदन भएर कार्यान्वयनमा गएमा देशले आर्थिक लाभ हासिल गर्नेमा परिसंघको ठहर छ ।

नेपालको आर्थिक विकासमा रणनीतिक महत्व दिने विद्युत र सडक क्षेत्रको विकासका लागि सम्झौता महत्वपूर्ण हुने परिसंघको ठहर छ । ‘लामो छलफल र तयारीपछि नेपालले प्रस्ताव गरेका आयोजनाको कार्यान्वयन दीगो आर्थिक विकासका आधार हुन सक्छन्’ जारी विज्ञप्तिमा भनिएको छ ‘दीगो विकासका लक्ष्य हासिल गर्न र कोभिड पश्चातको आर्थिक पुनरोत्थानका लागि ठूलो लगानी चाहिन्छ । यसका लागि पनि एमसीसी जस्ता पूर्वाधार सहयोग परियोजना नेपालका लागि आवश्यक छ ।’

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र सहायताको इतिहासमा अमेरिकासँगको सम्बन्ध ऐतिहासिक रहेको भन्दै नेपालले ७५ वर्ष लामो सम्बन्धमा अमेरिकाबाट प्राप्त भएका सहयोगबाट आर्थिक-सामाजिक विकासमा गुणात्मक फड्को मारेको परिसघको ठहर छ । नेपालले दातृ निकायहरूबाट प्राप्त गरिरहेको विश्वास अभिवृद्धिमा एमसीसी सम्झौता कार्यान्वयनले थप टेवा दिनेछ भन्ने परिसंघको विश्वास छ । अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य भएको भन्दै सन् २०२६ बाट नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपालमा उत्पादित वस्तुहरूको सहज निर्यातका लागि सौविध्यपूर्ण व्यवहारका लागि पनि नेपालले असल सम्बन्ध कायम गरिराख्नुपर्ने परिसंघको ठहर छ ।

नेपालमा विदेशी मुद्रा सञ्चिति न्यून हुन गइ देश गम्भीर आर्थिक संकटोन्मुख भइरहेका बेला ठूलो राशीको सहायता कार्यान्वयन गर्न सक्दा त्यसले विदेशी विनिमय प्राप्तिमा पनि योगदान गर्ने परिसंघको ठहर छ । ५० करोड अमेरिकी डलरको सहायता परियोजना नेपालका आर्थिक वृद्धिका अवरोध हटाउन केन्द्रित हुने र सन् २०१४ मा गरिएको अध्ययनबाट प्राप्त भएका निश्कर्ष बमोजिम नै क्षेत्रगतरूपमा छनौट भएका आयोजनामा यो रकम खर्च हुने उल्लेख छ । अमेरिकाको साथसाथै यसमा सरकारले समेत १३ करोड अमेरिकी डलर खर्च गर्नेछ । आयोजना कार्यान्वयन प्रारम्भ भएको मितिले ५ वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने प्रावधानका कारण नेपालमा विकास व्यवस्थापनको नमूना समेत यस परियोजनाले प्रस्तुत गर्ने देखिएको छ ।

युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकले एमसिसी सहायतामा रूपान्तरणकारी आयोजना कार्यान्वयन गरी आफ्नो अर्थतन्त्रको गुणात्मक वृद्धि गरेको उल्लेख छ । नेपालल यस परियोजना समयमै कार्यान्वयन गरी प्रविधि हस्तान्तरण, आयोजना कार्यान्वयन र विकास व्यवस्थापनमा नमूना प्रस्तुत गर्ने परिसंघको ठहर छ । आम नेपाली जनतालाई विश्वासमा लिई समयमै आयोजना कार्यान्वयन गर्दै विकासको लाभ प्राप्तिको बाटोमा सरकार अग्रसर हुने परिसंघको गहर छ ।


क्लिकमान्डु