‘स्टार्टअपको परिभाषा तय गर्न परिसंघ जुट्यो छलफलमा, नियन्त्रणमुखी सोच राख्न नहुने’



काठमाडौं । नेपालको सन्दर्भमा स्टार्टअप व्यवसायको परिभाषा तय गरी नीति निर्माणमा सहजीकरण गर्न नेपाल उद्योग परिसंघ अन्तर्गतको स्टार्टअप अभियान समितिले छलफल सुरु गरेको छ ।

सरकारले स्टार्टअप व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चलान गर्न लागे पनि यसको अहिलेसम्म स्पष्ट परिभाषासहित कार्यविधि तयार भएको छैन । नीति तर्जुमामा सहयोग पु¥याउने उद्देश्यले परिसंघले छलफल सुरु गरेको छ ।

सरकारले गत वर्षदेखि नै बजेटमा स्टार्टअपको प्रवद्र्धनका लागि बीऊ पुँजी उपलब्ध गराउने घोषणा गरेको छ । तर कार्यविधि नबन्दा अहिलेसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । सरकारले घोषणा गरेको कार्यक्रम कार्यान्वयन गरी नवीन सोच भएका युवा उद्यमीको प्रवद्र्धन गर्नुपर्नेमा परिसंघको जोड रहेको छ ।

छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले नवीन सोचको प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको बताए । उनले नवीन सोच र प्रविधिको प्रयोग गरी अघि बढ्ने यस्ता व्यवसायका लागि आवश्यक सहुलियत र सुविधा दिने विषयमा उदार भएर सोच्नुपर्नेमा जोड दिए ।

‘कतिपय अवस्थामा हाम्रो बुझाइमा समस्या हुन सक्छ, स्टार्टअपलाई कसरी परिभाषित गर्ने भन्ने सम्बन्धमा पनि फरक सोच हुन सक्छ,’ उनले भने, ‘तपाईंहरू, जो व्यवसायमा नै संलग्न हुनुहुन्छ, अझै फराकिलो हिसाबले सोच्नुस् । सबै व्यवसाय समेट्ने गरी परिभाषित गर्नेतर्फ सोच राख्नुस् ।’

यसैगरी नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरिले स्टार्टअप व्यवसायको प्रवद्र्धनको विषयमा सरकारले खुला सोच राख्नुपर्ने बताए । ‘नियन्त्रणमुखी सोचले स्टार्टअप व्यवसायको प्रवद्र्धन हुन सक्दैन, खुला सोच राखेर उनीहरूको प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने । यसैगरी अर्थ मन्त्रालयका उपसचिव गगनबहादुर बिकले निजी क्षेत्रबाट प्राप्त हुने सुझावले नीति तर्जुमामा सहयोग गर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले औद्योगिक वातावरण निर्माण गर्नुका साथै उद्यमशीलता प्रवद्र्धनको उद्देश्य राखेर काम गरिरहेको जानकारी गराए । उनले स्टार्टअपको प्रवद्र्धनका लागि नीति निर्मातासँग निरन्तर संवाद गरी उद्यमशीलता विकास गर्न पहल गर्ने पनि उल्लेख गरे । अध्यक्ष अग्रवालले व्यवसाय सुरु गर्नुभन्दा व्यवसायको निरन्तरता चुनौतिपूर्ण हुने भन्दै स्टार्टअप व्यवसाय सुरु गर्ने उद्यमीलाई आफ्नो व्यवसायमा निरन्तर सक्रिय रहने गरी नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए ।

‘उद्यमशीलता प्रवद्र्धनका लागि अनुकूल वातावरण सिर्जना हुनुपर्छ,’ उनले भने, ‘अहिले धेरै नेपाली युवाले विदेशमा अध्ययन गरिरहेका छन् । उनीहरूलाई आकर्षित गर्ने वातावरण तयार हुनुपर्छ । उनीहरूको सोचलाई परिपक्व बनाउन सहज तरिकाबाट बीऊ पुँजी उपलब्ध गराइनुपर्छ ।’

अध्यक्ष अग्रवालले कार्यविधि तर्जुमा गर्दा देशभरका युवालाई समेट्न पनि आग्रह गरे । ‘हामीले विकेन्द्रिकृत सोचबाट अघि बढ्नुपर्छ, अब धनगढीको युवाले धनगढीमै बसेर बीऊ पुँजी पाउने वातावण बनाउनुपर्छ,’ उनले भने । उनले अर्थतन्त्रको दीगो विकासका लागि स्टार्टअपको प्रवद्र्धनमा ध्यान दिन पनि सरोकारवालाहरूलाई आग्रह गरे ।

‘नवीन सोच सहित व्यवसाय अघि बढाइरहेका उद्यमीहरूलाई नीतिगत सहजता र सहुलियत आवश्यक पर्छ, त्यस्तो अवस्थामा सरकारले उनीहरूलाई प्रवद्र्धन गर्ने सोच राख्नुपर्छ,’ अग्रवालले भने, ‘उद्यमशीलता विकास गर्न सके मात्रै हामीले अर्थतन्त्रको दीगो विकास गर्न सक्छौँ, नवीन सोच भएका उद्यमीलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी सरकारबाट सहयोग हुनुपर्छ ।’


क्लिकमान्डु