३ अर्ब लगानीमा गोदावरीमा हाउजिङ बन्दै, शुरुवाती मूल्य ३ करोड ८० लाख



काठमाडौं । भूमि डेभरपर प्रालिले पहिलोपटक गोदवारीमा अल्ट्रा मोडर्न हाउस ‘गोदवारी भ्याली’ निर्माण गर्ने भएको छ ।

तीन व्यवसायिक घराना विशाल ग्रुप, देवेनारा ग्रुप र बाबा ग्रुपको संयुक्त लगानीमा ‘गोदावरी भ्याली’ निर्माण गर्ने भएको हो ।

कम्पनीले सातदोबाटोबाट २० मिनटभित्र पर्ने स्थानमा ४० रोपनी क्षेत्रफलमा ७१ वटा अल्ट्रा मोडर्न हाउस निर्माण गर्ने जनाएको छ । कम्पनीले हालसम्म कुनै पनि निर्माण कार्य शुरु गरेको छैन । तर, उक्त हाउजिङ निर्माण लागि बाटोलगायतका अन्य कार्य भने शुरु भइसकेको कम्पनीका मार्केटिङ प्रमुख मानसराज जोशीले बताए ।

उनकाअनुसार कम्पनीले आगामी मार्च १ गतेबाट हाउजिङ निर्माण कार्य शुरू गर्नेछ । साथै, निर्माण कार्य शुरु भइसकेपछि साढे दुई वर्षमा सम्पन्न गरी घरधनीलाई हस्तान्तरण गर्ने योजना कम्पनीको छ । कम्पनीले ७१ वटा घर एकै पटक निर्माण गर्ने भएको छ ।

कम्पनीले पहिलोपटक गोदावरीमा हाउजिङ निर्माण गर्ने भएकाले हालै मात्रै बुकिङ खुल्ला गरेको हो । कम्पनीले गत माघ २३ गतेबाट ग्राहकहरूका लागि बुकिङ खुल्ला गरेको उनले जानकारी दिए । जसमा हालसम्ममा २५ वटा हाउजिङ बिक्री भइसकेको उनले बताए ।

‘कम्पनीले गत माघ २३ गतमात्रै बुकिङ खुल्ला गरेको थियो । हालसम्ममा २५ वटा बिक्री भइसकेको छ,’ उनले क्लिकमाण्डूसँग भने ।
कम्पनीले ४० रोपनी क्षेत्रफलमा निर्माण गर्ने भनिएको हाउजिङमा ३ अर्ब बढी लगानी हुने अनुमान गरेको छ ।

‘कम्पनीले गोदावरीमा लक्जरियस हाउजिङ निर्माण गर्ने भएको छ । उक्त हाउजिङ निर्माण गर्न ३ अर्ब बढी खर्च हुने अनुमान गरेको छ,’ उनले भने ।

३ प्रकारका घर बन्ने
कम्पनीले गोदावरी भ्याली हाउजिङ ३ प्रकारको निर्माण गर्ने भएको छ । कम्पनीले उक्त स्थानमा टाइप ‘ए’, टाइप ‘बी’र टाइप ‘सीएम’ गरी ३ प्रकारका घर निर्माण गर्नेछ ।

जसमा कम्पनीले २६३५.७१ स्क्याफिट भएको टाइप ‘ए’ र टाइप ‘सीएम’ घर ५८ वटा निर्माण गर्नेछ भने बाँकी ६ वटा ३३६० स्क्वायरफिट भएको टाइप ‘बी’ घर निर्माण गर्नेछ ।

कम्पनीले तीन प्रकारका घर निर्माण गर्ने भनिए पनि टाइप ‘ए’ र टाइप ‘सीएम’ घर एउटै स्क्यारफिटमा निर्माण हुनेछ । कम्पनीले साढे ४ आनादेखि १२ आनाको क्षेत्रफलमा साढे दुई तल्लाको घर निर्माण गर्ने भएको उनले बताए । ‘घर निर्माणका लागि ग्राहकले चाहेको क्षेत्रफलको आधारमा घर निर्माण हुनेछ,’ उनले भने, ‘उक्त क्षेत्रमा साढे ४ आनादेखि ७, ८, ९ देखि १२ आनासम्म घर निर्माण गर्न सक्नेछ ।’

कम्पनीले टाइए ‘ए’ घरमा लिभिङ रुम, डाइनिङ, किचन, पुजा कोठा र फ्यामेली रुम एक÷एक वटा हुनेछ । साथै, उक्त घरमा ५ वटा बेडरुम निर्माण गर्नेछ ।

त्यसैगरी, टाइप ‘बी’ घरमा लिभिङ रुम, डाइनिङ रुम, किचन, फ्यामेली रुम, पुजा कोठा एक÷एक वटा र ६ वटा बेडरुमको व्यवस्था हुनेछ । साथै, सो घरमा मल्टी पर्पोज हलको पनि निर्माण गर्नेछ ।

अधिकतम मूल्य ९ करोड
कम्पनीले निर्माण गर्न लागिएको हाउजिङको न्यूनतम मूल्य ३ करोड ८० लाख रुपैयाँ तोकेको छ । जसमा साढे ४ आनामा बन्ने दुई तल्ला घरको मूल्य ३ करोड ८० लाख रुपैयाँ तोकेको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले ग्राहकको आवश्यकताअनुसार १२ आनासम्ममा घर निर्माण गर्न सक्ने व्यवस्था मिलाएको हुनाले साहीअनुसार मूल्य तोकेको छ । कम्पनीका मार्केटिङ प्रमुखले सो घरको मूल्य न्यूनतम करिब ४ करोडदेखि ९ करोडसम्म रहेको बताए । उनका अनुसार जति धेरै आनामा ग्राहकले घर बनाउन चाहन्छन सोहीअनुरुम मूल्य बढ्दै जानेछ ।

यस्तो हुनेछ सुविधा
कम्पनीले निर्माण गर्न लागिएको अल्ट्रा मोर्डन हाउसमा विभिन्न सेवा सुुविधाको व्यवस्था गर्ने भएको छ । कम्पनीले सो क्षेत्रभित्र ४ लेनको सडकसहित खुल्ला क्षेत्रको व्यवस्था गरेको छ ।

कम्पनीका अनुसार उक्त हाउजिङमा बस्नेका चाहनेहरूका लागि २४सै घण्टा सिसी क्यमेरा, फिटनेस सेन्टर, इन्डोर गेम, रेसिडेन्सिय क्लब, सौनाका साथै विद्युतीय सवारी साधनको चार्जिङ पोर्टको व्यवस्था गर्नेछ ।

त्यसैगरी, कम्पनीले रुफ टफ क्याफे पनि सञ्चालन गर्नेछ । उक्त रुफटफ क्याफेबाट सहरको भ्यू हेर्न पाइने कम्पनीको दाबी छ । कम्पनीले चिसो मौसमलाई मध्यनजर गर्दै तातो पानीसहितको स्वीमिङ पुलको व्यवस्था गर्ने भएको छ ।


क्लिकमान्डु