सेयर बजारले पत्याएन निर्वाचनलाई, लगानीकर्ता पर्ख र हेरको अवस्थामा



काठमाडौं । सेयर बजारमा भारी अंकको गिरावट आउँदा कारोबार रकम पनि घटेको छ ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै सेयर बजार बढ्छ भनेर केही लगानीकर्ताहरुले हल्ला गरेपनि अहिले बजार हल्लाको विपरीत भएको छ ।

सरकारले निर्वाचनको मिति तय गरेपछि बजारमा धमाधम गिरावट सुरु भएको छ । निर्वाचनको समय सिमा निर्धारण गरेपछि पनि बजारमा गिरावट आउनुलाई लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको जानकारहरुको भनाइ छ । बुधबार बजारमा २२.११ अंकको गिरावट आएको छ । बजारमा २२.११ अंकको गिरावट आउँदा परिसूचक २८१३.४७ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक ३.५१ अंकले घटेर ५२८.९९ बिन्दुमा रोकिएको छ । २२३ कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता सेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा भारी गिरावट आएको छ । यो दिन कारोबार रकमको आधारमा अरुणभ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १८ करोड ६१ लाख ६९ हजार ७६५ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु